गणेश रावत । कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले नगरपालिकाभित्र रहेका आर्थिकरूपमा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । बिहीबार नगर प्रमुख पूर्णप्रसाद आचार्यले आर्थिकरूपमा विपन्न विद्यार्थीहरूलाई एक कार्यक्रमकाबीच छात्रवृत्ति प्रदान गरेका हुन् । आर्थिक अभावका कारण पढ्नबाट कुनैपनि विद्यार्थी वञ्चित नहुन् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको उनले बताए । छात्रवृत्तिले आर्थिकरूपमा विपन्न र पछाडी परेका विद्यार्थीहरूका लागि थोरै भएपनि राहत प्रदान गर्ने उनको भनाइ छ ।
आर्थिकरूपमा विपन्न विद्यार्थीहरूका शैक्षिक यात्रामा ब्रेक लाग्न नदिन नगरपालिकाले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए । यस वर्ष पनि नगरपालिकाले २१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको मिसन टुडेलाई जानकारी दिए । चालू आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत कार्यक्रमअन्र्तगत नगरपालिकाभित्र रहेका जम्मा २१ जना उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएकोे शिक्षा शाखा प्रमुख रामबहादुर हमालले जानकारी दिए ।
पढ्न चाहने तर आर्थिक अभावले कठिनाइ भएका विद्यार्थीहरूको प्रोत्साहनस्वरुप नगरपालिकाले छात्रवृत्ति वितरण गरेकोे उनले बताए ।
प्रत्येक व्यक्ति जनही १० हजारदेखि ५० हजारसम्म गरेर जम्मा ५ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरिएको उनको भनाइ छ । नगरपालिकाको सानो सहयोग भएतापनि विद्यार्थीहरूको पठनपाठनमा सहजता प्रदान गर्ने विश्वास गरिएको उनले बताए । यस वर्ष नगरपालिकामा १९ लाखभन्दा माथि बजेट बराबरको छात्रवृत्तिका विद्यार्थीहरूले माग गरेको उनले बताए । जसमा नगरपालिकाभित्र र बाहिरका विद्यार्थीहरूले समेत छात्रवृत्तिको माग गरेको हमालले जानकारी दिए ।
तर नगरपालिकामा बजेट कम रहेकाले नगरपालिकाभित्र रहेका विद्यार्थीहरूलाई मात्र छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको उनले बताए । उनले शिक्षा समितिको असार १ गते बसेको बैठकले निर्णय गरेअनुसार छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । नगरपालिकाले साधारण धारतर्फको शिक्षा तथा मानविकीमा स्नातक तहमा अधिकतम १० हजार र स्नातकोत्तरतर्फ अधिकतम १५ हजारसम्म छात्रवृत्ति प्रदान गर्ने शिक्षा समितिले निर्णय गरेको थियो । यस्तै व्यवस्थापनतर्फ स्नातक तहमा अधिकतम १२ हजार र स्नातकोत्तरतर्फ अधितम १७ हजार रहेको छ ।
विज्ञानतर्फ स्नातक तहमा अधिकतम २० हजार र स्नातकोत्तरतर्फ अधितम २५ हजारसम्म छात्रवृत्ति प्रदान गरिएको हो । प्राविधिक धारतर्फ स्नातक तहमा अधिकतम ५० हजार र स्नातकोत्तरतर्फ अधिकतम ५५ हजारसम्म छात्रवृत्ति प्रदान गरिएको छ । नगरपालिकाले ५ जनालाई ५० हजार र दुई जनालाई ३८ हजार ४ सय ६० अन्य दुई जनालाई २० हजारको छात्रवृत्ति प्रदान गरेको हो । यस्तै दुई जनाले १२ हजार, एक जनाले ११ हजार ४ सय ८०, पाँच जनाले १० हजार, अन्य एक जनाले ८ हजार ९ सय ९० र अर्का एक जनाले ८ हजार ७ सय रूपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्