काठमाडौँ ।
चालू आर्थिक वर्ष २०८१–८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै रु १४ खर्ब बराबर पुगेको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, कूल बस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ । कूल बस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई रु १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएको थियो ।
बस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव ६ प्रतिशत, १५ दशमलव तीन प्रतिशत र २९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । बस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका बस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका बस्तुको आयात घटेको छ ।
निर्याततर्पm भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तरराष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । जलेश्वर र त्रिभुवन अन्तरराष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु एक खर्ब ६७ अर्ब ३० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक खर्ब ३७ अर्ब १३ करोड बराबरको भएको थियो ।
आर्थिक वर्ष २०८१–८२ को एघार महिनामा कूल बस्तु निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा तीन प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२ प्रतिशत, तीन प्रतिशत र चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । बस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका बस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, तयारी पोसाक, अलँैचीलगायतका बस्तुको निर्यात घटेको छ ।
विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब
चालू आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्तसम्ममा चालू खाता रु तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रु ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु आठ अर्ब २४ करोड रहेको थियो ।
त्यस्तै गत जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति रु चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । कूल विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य सुधार देखिएको छ । चालू आर्थिक वर्ष सुरु हुँदै गर्दा अर्थात् २०८१ असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो ११ महिनामा २५ दशमलव ९ प्रतिशतले वृद्धि भई रु २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २२ खर्ब ७४ अर्ब ४७ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिती रु दुई खर्ब ९४ अर्ब ९२ करोड रहेको छ । गत जेठ मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दमलव पाँच प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव छ महिनाको बस्तु आयात र १४ दशमलव ७ महिनाको बस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्