विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी



जाजरकोट ।

विषालु च्याउ खाँदा जिल्लाको नलगाड नगरपालिका–४ पिपलचौरस्थित एकै घरका तीन जना बालबालिका बिरामी भएका छन् । स्थानीयवासी मगबहादुर सिंहका १२ वर्षीया छोरी कौशिला सिंह, ३ वर्षीया दिपा सिंह र ६ वर्षीय छोरा झलक सिंह बिरामी परेका हुन् । स्थानीय सालघारी जंगलबाट टिपेर ल्याइएको च्याउ खाँदा उनीहरू बिरामी परेको मगबहादुरले बताए ।

उनीहरूको विषालु च्याउ खाएका कारण एकाएक स्वास्थ्य अवस्था बिग्रिएको थियो । वडाध्यक्ष बद्री पन्तका अनुसार ३ जना बालबालिकाको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ । अस्पतालले बर्खाको समयमा जंगली च्याउ नखान सुझाव दिएको छ ।

पहिचान नभएका जंगली च्याउ विषालु हुने भएकाले त्यसबाट ज्यानसमेत जोखिममा पर्न सक्ने जनाइएको छ । बर्खाको समयमा च्याउ टिप्दा अत्यन्त सावधानी अपनाउन र अनुभवीको सल्लाहबिना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार