वीरेन्द्रनगरमा ट्राफिक लाइट सञ्चालन



वीरेन्द्रनगर ।

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । प्रदेश राजधानी बनेसँगै बढ्दो जनसङ्ख्या र शहरीकरणलाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो । सवारी चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले बुधबारदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो ।

पहिलो पटक वीरेन्द्रनगर नगरपालिकाले सडक सुरक्षा र सवारी सञ्चालनमा नयाँ अभ्यासको सुरुवात गरेको हो । नगरपालिकाले ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई हस्तान्तरण गरेको छ । नगर प्रमुख मोहनमाया ढकालले ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी ट्राफिक कार्यालयलाई हस्तान्तरण गर्दै मुख्य सडकहरू व्यवस्थित हुने र पैदलयात्रीहरूको यात्रा सुरक्षित र सहज बनाउन सहयोग पुग्ने बताइन् ।

यसले ट्राफिक प्रहरीको कामलाई पनि प्रभावकारी बनाउने उनको अपेक्षा छ । ‘ट्राफिक नियमको पालना गर्न पनि सबैलाई आग्रह छ । शहरीकरणसँगै सवारी साधनहरूको तीव्र गति पनि बढेको छ,’ उनले भनिन्, ‘वीरेन्द्रनगरलाई व्यवस्थित सहर बनाउन हामीले केही थालनी गरेका छौँ । सडक सुरक्षालाई पनि प्राथमिकतामा राखेर ट्राफिक लाइट सञ्चालनमा ल्याएका हौँ ।’

उनका अनुसार नगरपालिकाले आगामी दिनमा अन्य व्यस्त सडक तथा मुख्य चोकहरूमा पनि ट्राफिक लाइट विस्तार गर्ने तयारी गरेको छ भने बजार क्षेत्रको मङ्गलगढी चोक, दैलेख रोड चोक, एयरपोर्ट र यरिचौकमा पनि ट्राफिक लाइट जडान गर्ने तयारी छ । साथै नगरपालिकाले आगामी आर्थिक वर्षभित्रै मंगलगढी चोकमा आकाशे पुल निर्माणका लागि प्रक्रिया सुरु गरेको छ । हाल नगरपालिकामा फुटपाथ व्यवस्थापन, मङ्गलगढी, एरिचोकलायतका ठाउँहरूमा ठुला क्षमताका सिसिटिभी क्यामेराहरू जडान लगायतका काम भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार