कोहलपुर (बाँके) ।
बाँकेको खजुरा गाउँपालिकाले कृषक समूहलाई अनुदानमा कृषियन्त्र वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक २०८१–०८२ को पकेट बाली कार्यक्रमअन्तर्गत कृषि समूहलाई कृषियन्त्र वितरण गरेको हो । खजुरा गाउँपालिकाले उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र प्रविधिमैत्री कृषिको अभ्यास गरिरहेको छ । सो उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको खजुरा गाउँपालिका कृषि शाखाले जनाएको छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख भगवती खड्काका अनुसार गाउँपालिकाले आठ वटै वडामा विशिष्ट बाली उत्पादनका लागि ‘पकेट क्षेत्र’ घोषणा गरिएको छ । पकेट क्षेत्रअन्तर्गत छनौट भएका समूह र फर्मलाई यन्त्र वितरण गरिएको हो । गाउँपालिकाले वडा नम्बर १ लाई बेसार, वडा नम्बर २ लाई टमाटर र आलु र वडा नम्बर ३ तरकारी र काँक्रा पकेट क्षेत्र घोषणा गरेको छ ।

यस्तै वडा नम्बर ४ लाई धान र च्याउ, वडा नम्बर ५ र ६ तरकारी, धनिया र खुुर्सानी तथा वडा नम्बर ७ लाई लसुन र प्याजका साथै वडा नम्बर ८ लाई आलु उत्पादनमा विशेष प्राथमिकता दिइएको प्रमुख खड्काले जानकारी दिइन् । कृषि पेशालाई व्यवस्थित बनाउने लक्ष्यका साथ गाउँपालिकाले कृषक समूह तथा दर्ता भएका फर्महरूलाई अनुदानमा कृषियन्त्र सामग्री वितरण गरिएको उनले बताइन् ।
हालै सम्पन्न एक भेलामार्फत ५० जना कृषकमध्ये २५ जना ‘कृषक पाठशाला’का लागि छनोट गरिएको थियो । चालू आवमा विशेष अनुदानतर्फ कृषक पाठशाला कार्यक्रम सञ्चालनका लागि १२ लाख रूपैयाँ विनियोजन गरिएको थियो । उक्त कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएको उनले बताइन् । पाँच वटा फर्मले प्रस्ताव पेश गरेका थिए । तीमध्ये अष्टम साना किसान कृषि र बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था छनोट भएको कृषि शाखा प्रमुख खड्काको भनाइ छ ।

छनोटपछि बागेश्वरीले वडा नम्बर ३, ४, ७ र ८ र अष्टमले वडा नम्बर १, २, ५ र ६ मा कार्यक्रम सञ्चालन गरेका थिए । सोअन्तर्गत पाँच वटा कृषक भेला आयोजना गरिएको थियो । भेलामार्फत २५ जना कृषक समूहलाई छनोट गरिएको हो । सोही आधारमा गाउँपालिकाभित्रका ८ वटा कृषक समूह र करिब १५ वटा फर्मले मिनी टिलर, कालो पाइप र सिँचाइ उपकरणजस्ता कृषियन्त्र वितरण गरिएको प्रमुख खड्काको भनाइ छ। कृषक समूहलाई ३ लाख २५ हजार र फर्मलाई १ लाख ५ हजार बराबरको सामग्री वितरण गरिएको हो ।
‘पकेट प्रणालीमार्फत विशेष बालीको निरन्तरता, उत्पादन वृद्धिको स्थायित्व र कृषि रोजगारीमा विस्तार हाम्रो प्रमुख लक्ष्य हो,’ खड्काले भनिन्। स्थानीय तहको नेतृत्वमा प्रविधिको पहुँच गाउँस्तरसम्म पु¥याउनको लागि कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ । उत्पादनसँगै बजारीकरण, भण्डारण र मूल्य स्थायित्व जस्ता पक्षमा पनि एकसाथ ध्यान दिइएको शाखा प्रमुख खड्काले बताइन् । शाखाले आठ लाख लागतमा वैकल्पिक मल व्यवस्थापन तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्