शेरबहादुर ऐर । कैलाली ।
गत चैतमा धनगढीले विशेषज्ञ स्वास्थ्य सेवाका लागि गाइनोकोलोजिष्ट चिकित्सकका लागि आवेदन माग ग¥यो । २०८१ चैत १३ गते प्रथम पटक सूचना जारी गर्दा लाहान ३, सिराहाकी डाक्टर कविता शाह स्वर्णकार (सोनार)ले आवेदन पेश गरिन् । तर, धनगढीले एक जनाको मात्र आवेदन परेको भन्दै अन्र्तवार्ता परीक्षा लिएन । धनगढीले २०८२ वैशाख ३ गते दोस्रो पटक पुनः आवेदन माग गरेको थियो । सो समयमा पनि उनले नै आवेदन पेश गरिन् भने २०८१ वैशाख २३ गते तेस्रो पटक धनगढीले आवेदन माग गरेको थियो ।
पटक पटक डाक्टर कबिताले आवेदन पेश गरेको भएपनि धनगढीले उनलाई सो पदमा राख्न मानेन र असार १८ गते प्रथम पटक सूचना जारी गर्दै सेवा करारमा पदपूर्ति गर्ने भन्दै गाइनोकोलोजिस्ट नवौँ तहका लागि आवेदन माग गरेको छ । धनगढीले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रत्येक वडाहरुमा मासिक रुपमा सञ्चालनमा भइरहेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’का लागि विशेषज्ञ चिकित्सक सेवा करारमा भर्ना गर्नुपर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त पेश गर्न हुन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ ।’
धनगढीका नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेपछि भाटभटेनीसँगको सहकार्यमा विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालन गरेका थिए । तर, अहिले धनगढी नगर प्रमुख र केही कर्मचारीको आन्तरिक स्वार्थका कारण सो सेवामा विशेषज्ञ चिकित्सक करारमा भर्ना गर्न सकेका छैनन्। धनगढी नगर प्रमुख हमालले – ‘कुखुरा बेचेर उपचार गराउनुपर्ने बाध्यताको अन्त्य गर्न सो सेवा सुचारु गरेको’ बताए । तर, अहिले सोही सेवामा चेकजाँच गराउन पुगेका धनगढीवासीहरु निजी अस्पतालमा महँगोमा उपचार गराउन बाध्य रहेको बताउँछन् । धनगढी नगर प्रमुख हमालले सञ्चालन गरेको विशेषज्ञ क्लिनिकमा रिफर गराइएका बिरामीहरु नगर प्रमुख हमाल निकट अस्पताल सञ्चालकहरुका अस्पतालमा पठाउने गरेको पाइन्छ ।
सोही कारण धनगढीले डाक्टर कबितालाई करारमा छनौट नगरेको स्रोत बताउँछ । धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले – ‘एक जनाको मात्र आवेदन परेकाले हामीले उनीभन्दा पनि योग्य चिकित्सक राख्न पटक पटक सूचना जारी गरेको’ प्रतिक्रिया दिए । तर, धनगढीले तेस्रो पटक जारी सूचनापछि डाक्टर कबिताको मात्र आवेदन परेपछि अन्र्तवार्ताका लागि मिति तय गरेको थियो । २०८२ साल जेठ २६ गते संक्षिप्त सूचिमा पर्न सफल उम्मेदवार डाक्टर कबितालाई २८ गते कार्यालय समयभित्र अन्र्तवार्ताका लागि सहभागी हुन सूचित गरेको थियो । तर, २९ गते अर्को सूचना जारी नभएसम्मका लागि अन्र्तवार्ता स्थगित गरेको थियो ।
धनगढीले सो स्थगित भएको अन्र्तवार्ताको परीक्षा असार १३ गतेका लागि राखेको थियो । तर, अन्र्तवार्ता परीक्षानै नगरी असार १८ गते पुनः आवेदन माग गरेको पाइएको छ । धनगढीले अहिले विशेषज्ञ चिकित्सक नपाउँदा चैतदेखि अहिलेसम्म जनरल फिजिसियनको भरमा सञ्चालन भइरहेको छ । धनगढीले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ४१ हजार ६२२ जनालाई स्वास्थ्यसेवा प्रदान गरेको छ भने सुरुदेखि हालसम्म एक लाख ३३ हजार ८७५ सेवाग्राहीले सेवा प्राप्त गरेकोमा वडा विशेषज्ञ सेवाअन्र्तगत सञ्चालित ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमबाट ६ हजार ७२० जना गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिएकोमा ८२ जनामा जटिलता पहिचानपश्चात् रेफर गरिएको उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्