ठेक्कामा ‘जलजला मन्दिर’



रोल्पाको थवाङ गाउँपालिकाले वार्षिक १५ लाख रूपैयाँमा जलजला मन्दिरको पूजा व्यवस्थापन निजी क्षेत्रलाई दिनेगरी अहिले ठेक्का आह्वान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर मन्दिरबाट वार्षिक १५ देखि २० लाख रूपैयाँ आम्दानी हुने आंकलनसहित १५ लाख रूपैयाँको ठेक्का आह्वान गरिएको बताउँछन् । स्थानीयवासीहरू भने परम्परागत रूपमा स्थानीयहरूकै सहभागितामा हुँदै आएको पूजा व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्नेमा गाउँपालिकाले ठेक्कापट्टा सुरु गरेको भन्दै रुष्ट छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।

रोल्पाको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र जलजलामा रहेको जलजला मन्दिरको पूजा व्यवस्थापन निजी क्षेत्रलाई दिने प्रक्रिया थालिएपछि स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।

थवाङ गाउँपालिका वडा नम्बर २ मा पर्ने जलजला क्षेत्रमा रहेका बराह लगायत देवीदेउताका थानहरूको पूजा व्यवस्थापनका लागि भनेर गाउँपालिकाले टेण्डर आह्वान गरेको छ । तर, परम्परागत रूपमा स्थानीयवासीहरू सम्मिलित समितिले नै पूजाआजा व्यवस्थापन गर्दै आएकोमा स्थानीय सरकार आएसँगै निजी क्षेत्रलाई जिम्मा दिनेगरी ठेक्कामा पनि दिन सकिने व्यवस्था ल्याएको थियो । स्थानीयवासीहरू भने परम्परागत रूपमा स्थानीयहरूकै सहभागितामा हुँदै आएको पूजा व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्नेमा गाउँपालिकाले ठेक्कापट्टा सुरु गरेको भन्दै रुष्ट रहेका छन् ।

स्थानीय सरकार गठन भएका केही वर्षमै मन्दिरलाई ठेकापट्टामा सञ्चालन गर्न दिइएकोमा चालू आर्थिक वर्षमा भने कसैको पनि ठेक्का नपरेपछि स्थानीयवासीहरूकै एउटा समिति बनाएर सञ्चालन गरिएको थियो । समितिका अध्यक्ष अमित घर्तीका अनुसार एक वर्षमा मन्दिरबाट १६ लाखभन्दा बढी आम्दानी भएको छ । मन्दिरमा पूजा गर्न आउने, भेडा तथा कुखुराको बली दिनेहरूलाई निश्चित शुल्क तोकिएको र सो वापत उक्त रकम संकलन भएको उनको भनाइ छ ।
अहिले गाउँपालिकाले वार्षिक १५ लाख रूपैयाँमा मन्दिर सञ्चालनका लागि ठेक्का आह्वान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर मन्दिरबाट वार्षिक १५ देखि २० लाख रूपैयाँ आम्दानी हुने आंकलनसहित १५ लाख रूपैयाँको ठेक्का आह्वान गरिएको बताउँछन् ।

तर, मन्दिर सञ्चालन समितिका अध्यक्ष घर्तीमगर मन्दिरलाई ठेक्कामा सञ्चालन गर्न दिँदा ठेकेदारले बढीभन्दा बढी मुनाफा लिन चाहने भएकोले त्यसको मार तीर्थालुहरूलाई पर्ने र अन्ततः मन्दिरको गरिमामाथि नै आँच आउने बताउँछन् । उनले केही वर्षअघि ठेक्का सञ्चालन गर्दाको बेला आएको समस्या बताउँदै भने, ‘एक सय रूपैयाँ शुल्क रहेको ठाउँमा ठेकेदारले तीन सय रूपैयाँसम्म असुल गरेको गुनासा आएका थिए । अर्काेतिर ठेकेदारलाई त्यहाँको पर्यावरण, धार्मिक महत्व कसैसँग पनि किन सरोकार हुन्छ ? उसले त नाफा कमाउन खोज्छ नि ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर जलजला क्षेत्र राम्रो आम्दानी हुने धार्मिक पर्यटकीय क्षेत्र रहेको र त्यसको व्यवस्थापनका लागि गाउँपालिकाले समिति वा ठेक्कापट्टा दुवै विकल्पसहितको कार्यविधि बनाइएको बताउँछन् । ती विकल्पमध्ये ठेकापट्टालाई पहिलो प्राथमिकता दिनुको कारण राजस्व बढी उठ्ने र व्यवस्थापनका काम सहज बनाउने उद्देश्य रहेको उनको भनाइ छ । ‘समितिबाट सञ्चालन गर्दा समितिलाई यति प्रतिशत, गाउँपालिकालाई यति प्रतिशत भन्ने हुन्छ । त्योभन्दा ठेक्कामा जाँदा एकमुष्ट वार्षिकरूपमा राजस्व प्राप्त हुन्छ । मनिटरिङ पनि सजिलो हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृतले भने ।

तर समितिका अध्यक्ष अमितका अनुसार परम्परागत रूपमा मन्दिरको आम्दानी शिक्षा क्षेत्रको विकासमा लगानी हुँदै आएको थियो । समितिले वार्षिकरूपमा हिसाबकिताब गरेर सभा बोलाई विद्यालयका लागि आम्दानीबाट खर्च गर्ने गरेको थियो । पछिल्लो समय स्थानीय एउटा विद्यालय मात्रै नभै गाउँपालिकाका सबै विद्यालयको विकासका लागि आम्दानी बाँडफाँट गर्ने गरिएको उनको भनाइ छ ।

अर्काेतिर, व्यवस्थापन सहज हुन्छ भनेर ठेक्कामा दिनु गाउँपालिकाले स्थानीयवासीहरूको सहभागितालाई बेवास्ता गर्नु र आफ्नो जिम्मेवारीबाट पन्छिनु भएको अमितको भनाइ छ । ‘हामी पूजा हुँदा एक हप्ताभन्दा बढी स्वयंसेवा गर्छाैँ । त्यसबापत मन्दिरको खर्चसमेत लिँदैनौँ । हिसाबकिताब पारदर्शीरूपले जनप्रतिनिधिकै सहभागितामा सार्वजनिक गर्छौँ । तर यसभन्दा ठेक्का राम्रो भन्नु जिम्मेवारीबाट पन्छिनु हो,’ उनले भने ।

गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगर मन्दिर व्यवस्थापनबाट आएको आम्दानी परम्परागत रूपमा रहेको प्रचलन अनुरुप शिक्षा क्षेत्रकै खर्च गर्न नसकिने बताउँछन् । ‘गाउँपालिकाको सम्पत्तिको आम्दानी एक ठाउँमा मात्रै खर्च गर्नुपर्छ भन्न सुहाउन्न । जलजला हाम्रो पालिकाको आम्दानीको एक बलियो स्रोत हो । यसको उपयोग सबैका लागि हुनुपर्छ भन्ने हाम्रो उदेश्य हो,’ उनले भने । चालू आर्थिक वर्षमा पनि टेण्डर आह्वान गर्दा कसैको पनि आवेदन नपरेपछि अन्तमा समितिबाटै सञ्चालन गरिएकोमा यसवर्ष पनि आवेदन नपरेमा समितिबाटै सञ्चालन हुने उनको भनाइ छ ।

जलजला पर्ने वडा नम्बर २ का अध्यक्ष अभिलाषा रोकामगर आफ्नो मनसाय गाउँपालिकालाई बढीभन्दा बढी राजस्व उठोस् भन्ने रहेको तर ठेक्का वा सञ्चालक समितिबाट सञ्चालन गर्दा पनि हुने बताउँछन् । उनले स्थानीयहरूले मन्दिर सञ्चालन ठेक्कामा जान लागेकोमा आफूलाई प्रत्यक्षरूपमा गुनासो नगरेपनि असन्तुष्टि रहेको सुन्नमा आएको बताए । ‘स्थानीयको अपनत्वका लागि त समिति नै ठिक हो । तर राजस्व बढी उठोस् भन्ने उद्देश्य हो,’ उनले भने ।

जलजला क्षेत्र बराहलगायत विभिन्न देवताका थान भएको रोल्पाको प्रसिद्ध पर्यटकीय क्षेत्र हो । माओवादी विद्रोहका बेला जलजला एक सेल्टर स्थलको रूपमा रहेकोले यसको ऐतिहासिक महत्व पनि उत्तिकै छ । समुद्री सतहबाट ३२९५ मिटर उचाइमा रहेको जलजला करिव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदान क्षेत्र हो । यहाँको जमिनमा दलदले भएकोले जलजला नामाकरण भएको मानिन्छ ।

त्यहाँको भामा गुफाबाट १२ भाइ बराह र २२ बहिनी बज्यू उत्पत्ति भई नेपालका विभिन्न स्थानमा फैलिएको मान्यता छ । भामा गुफालाई बराहको उत्पत्तीस्थल समेत मानिन्छ । यही धार्मिक मान्यताका कारण वैशाख पूर्णिमा, जेठ पूर्णिमा र श्रावण पूर्णिमा गरी वर्षको तीन पटक रोल्पामात्र नभई रूकुम, सल्यान, दाङ, प्यूठान र सुर्खेत लगायतका जिल्लावासीहरूसमेत जलजला पुग्ने गरेका छन् । जहाँ सयौँ भेडा र कुखुराको बली दिने गरिन्छ । जलजलामा रहेका थानहरूको दर्शन गरेपछि मनोकांक्षा पूरा हुने र सन्तान लाभ हुने जनविश्वास रहिआएको छ ।

साथै करिब १४ प्रजातिका गुराँस फुल्ने र सतुवा, पदमचाल, पाँचऔँले, चिराइतो, सुनगाभा, सुगन्धवाल, सुनाखरी, समायो, चुत्रो, गरेली फूल, दालचिनी, तेजपात, बोजो, कचुर, पुदिना, टिमुर, सिल्टिमुर, धम्पे, सिङग्ली मिङग्ली, रुकन, ढुंगेफूल लगायतका जडीबुटी पाइने ठाउँ पनि हो जलजला । राप्ती नदीको उदगम स्थलसमेत मानिने जलजलाबाट सिस्ने, पुथा, धवलागिरी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिम चुचुराको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकोले यो क्षेत्र उच्च पर्यटकीय सम्भावना भएको क्षेत्रमा पर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार