बर्सातको मौसम सुरु भएको छ । गर्मी र बर्सातको मौसमसँगै तराईका जिल्लाहरुमा सर्पको बिगबिगी सुरु हुने गर्छ । गर्मीको मौसममा जमिनमुनिको भाग तात्ने तथा पानी परेर भरिँदा जमिनमुनि बसेका सर्पहरु बाहिर निस्किने गर्दछन् । तराईका जिल्लामा अत्यन्तै विषालु प्रजातिका सर्पहरु पाइने गर्छन् । हरेक वर्ष दर्जनौँ नागरिकहरु सर्पको टोकाइबाट ज्यान गुमाइरहेका छन् । अझैपनि अधिकांश नागरिकहरु रुढीवादी र अन्धविश्वासमा लागेर सर्पले टोकेका व्यक्तिहरुलाई गाउँघरमै धामी झाँक्री र झारफुक गराउने गरेको पाइन्छ ।
जसका कारण सर्पले टोकेका व्यक्तिहरुको मृत्यु हुने गरको छ । साथै पहिला धामी झाँक्री तथा झारफुकतिर लागेर बल्ल मात्रै अस्पताल पुराउने गर्दा पनि उपचारमा ढिला हुन गई कैयौँको मृत्यु हुने गरेका पनि छन् । सर्पदंशको कारण ज्यान गुमाएकाहरु ढिलोगरी उपचारमा आइपुग्नु नै मृत्युको कारण देखिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । ढिलोगरी अस्पतालमा पुगेकै कारण उपचार सफल हुन सक्दैन र उनीहरुको मृत्यु हुन्छ । कतिपय अवस्थामा मानिसलाई सर्पले टोकेको पनि थाहै हुँदैन् । सर्पदंशका बिरामीहरु पनि समस्या के भएको हो भन्ने थाहा नपाएर भौतारिँदै अरु उपचारले काम नगरेपछि अन्तिम अवस्थामा अस्पतालमा पुग्ने गरेका पनि छन् ।
अन्तिममा स्पतालमा आउँदा औषधिले काम नगर्ने अवस्था आउँछ र उनीहरुको मृत्यु हुन्छ । सर्पदंश व्यवस्थापनका लागि राष्ट्रिय निर्देशिकाका अनुसार करेत सर्पले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मको समयमा डस्छ । करेतले विशेषगरी घरभित्र नै डस्ने गरेको पाइएको छ भने ९० प्रतिशतभन्दा बढी केशहरुमा मानिसहरु सुतेको समयमा ओभानो खोज्दै ओछ्यानमै गएर यस सर्पले डस्ने गर्छ । तर, यसले डसेको ठाउँमा न दुख्छ न डसेको ठाउँमा संकेत देखिन्छ । सन् २०२६ मा नेपालको पश्चिमी क्षेत्रमा वयस्कहरूमा सर्पको डसाइबाट हुने विषाक्तताबारे अस्पतालमा आधारित अध्ययनको नतिजामा पनि विषालु सर्पले डसेका र सर्प चिनिएका केशहरुमध्ये ४२ प्रतिशत केशमा करेत सर्पले डसेको थियो भने १३ प्रतिशत केशमा कोब्रा सर्पले डसेको थियो ।
नेपालमा सन् २०१८ देखि २०१९ मा गरिएको एक अध्ययनले हरेक वर्ष २६ हजारदेखि ३७ हजार सर्पदंशका घटनाहरु हुने गरेका करिब तीन हजार मानिसहरुको ज्यान जाने गरेको खुलासा गरेको थियो । उक्त अध्ययनको शीर्षक नै ‘नेपालको तराई क्षेत्रभरी मानिस र घरपालुवा जनावरहरूमा सर्पदंशको महामारी विज्ञानः एक बहु–क्लस्टर अनियमित सर्वेक्षण’ थियो । अर्थात् सर्पदंशलाई पनि स्वास्थ्यको एक महामारी समस्याको रुपमा उक्त सर्वेक्षणले लिएको थियो । सर्पको टोकाइबाट जोगिनका लागि व्यक्ति आफैँ पनि सचेत बन्न जरुरी छ । घर तथा कार्यालय वरिपरि झाडी नराख्ने, फोहोरहरु नराख्ने, सरसफाइ गर्ने तथा रातिमा सुत्ने बेलामा भुइँमा नसुत्ने, खाटमा झुल लगाएर सुत्ने, अँध्योरामा हिँड्दा हातमा उज्यालो बस्तु तथा लठ्ठी लिएर हिँड्दा पनि सम्भावित सर्पदंशबाट जोगिन सकिन्छ ।
त्यसैगरी सरकारले पनि सर्पदंशसम्बन्धी विभिन्न सचेतना तथा जनचेतनाका कार्यक्रमहरु समुदायस्तरमा पु¥याउन जरुरी छ । सकेसम्म हरेक स्थानीय तहमा एक एकवटा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न सके सर्पदंशका बिरामीले छिटो उपचार पाउन सक्ने र मृत्युलाई न्यूनीकरण गर्न सकिन्छ । नागरिकहरुलाई सर्पदंशबारे बुझाउन हरेक वडामा स्वास्थ्य संस्थाका कर्मचारीलाई तालिम आवश्यक छ । सहर बजारमा रहेका सबै अस्पतालहरुमा सर्पले टोकेका बिरामीहरुको उपचार हुँदैन् । सर्पदंश उपचार केन्द्र कहाँ कहाँ छन् र कहाँ कहाँ उपचार हुन्छ भन्ने कुरा पनि आमनागरिकमा जानकारी गराउनु आवश्यक छ । हरेक स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्य सेवा प्रदायकलाई सर्पदंशको व्यवस्थापनमा उचित रूपमा तालिम दिन सकियो भने धेरै जीवन बचाउन सकिने देखिन्छ । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्