यसबाट मासुको व्यापारमा उपभोक्ताको स्वास्थ्यमाथि व्यापक लापरबाही गर्ने गरिएको पुष्टि भएको उपभोक्ता अधिकारकर्मी अधिवक्ता वसन्त गौतमले बताए । रामलिला मैदानस्थित चारवटा मासु पसलका सञ्चालकरु अनुगमन टोली आएको थाहा पाएपछि भागेका थिए । ती कुनै पनि पसलहरु दर्ता नरहेको पाइएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जमा मासु व्यापारीहरुले खसीको मासु भनेर बाख्रीको मासु बेच्दै आएको खुलेको छ । शुक्रबार संयुक्त बजार अनुगमनका क्रममा नेपालगन्जको रामलिला मैदान नजिकैको मासु मण्डीमा रहेका व्यापारीहरुले काट्नका लागि लुकाएर राखेका ६ वटा बाख्रा फेला परेका हुन् ।
बजार अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयको परिसरको कुनामा र नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचायको पछाडिपट्टि बाख्राहरु लुकाएर राखेको पाइएको हो ।
अनुगमन टोलीले ६ वटा बाख्रासहित एउटा खसी र एउटा भेडा जिल्ला प्रशासन कार्यालयको परिसरमा कसैले थाहा नपाउन् भन्ने उद्देश्यले बाख्राहरु बाँधेर राखेको फेला परेको छ । त्यहाँ रहेका स्थानीय र पसलेहरु कसैले पनि ती बाख्राहरुको दाबी गर्न सकेनन् । अनुगमन टोलीले जिल्ला प्रशासनमा खबर गरेपछि प्रशासनका सुरक्षाकर्मीले ती खसी र बाख्राहरु नियन्त्रणमा लिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले ती बाख्राका सम्बन्धमा कानुनअनुसार कारबाही अघि बढाइने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयको परिसरमा झारले ढाकेर राखेको छ । झारका कारण त्यहाँ व्यापारीहरुले बाख्रा लुकाउन सजिलो भएको पाइएको छ । अनुगमनका क्रममा स्थानीय चाँद खसी मासु फ्रेस हाउसका सञ्चालकले मासु मापदण्डको उल्लंघन गर्दै काठमाडौं पठाउन लागेको पाइएको छ । खसीको खुर र फल मासु एउटै प्याकेजमा आइससमेत नहालेर पठाउन लागेको फेला परेको हो । ती पसल सञ्चालकलाई अनुगमन टोलीले मापदण्ड पालना गरेर मात्रै मासु पठाउन निर्देशन दिएको छ । ती मासु पसलेले भेटेरीनरी प्रमाणपत्रसमेत नबनाएर मासु काठामाडौं पठाउन लागेको फेला परेको थियो ।
यसबाट मासुको व्यापारमा उपभोक्ताको स्वास्थ्यमाथि व्यापक लापरबाही गर्ने गरिएको पुष्टि भएको उपभोक्ता अधिकारकर्मी अधिवक्ता वसन्त गौतमले बताए । रामलिला मैदानस्थित चारवटा मासु पसलका सञ्चालकरु अनुगमन टोली आएको थाहा पाएपछि भागेका थिए । ती कुनै पनि पसलहरु दर्ता नरहेको पाइएको छ । वडा नम्बर दुईमा एकजनाले खला ठाउँमा खसीको मासु बेचिरहेको फेला परेको थियो ।
यसैगरी अनुगमन टोलीले नेपालगन्ज वडा नम्बर २ स्थित मासु पसलहरुको पनि अनुगमन गरेको छ । त्यसक्रममा त्यहाँ रहेका कुनै पनि मासु पसलले मापदण्ड पालना नगरेको, फोहोर वातावरणमा मासु बेचिरहेको पाइएको छ । फिल्महलको पछाडिको ढोकाकै छेउमा रहेको एक मासु पसल पनि तीन वर्षदेखि दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि प्रक्रिया पूरा नहुन्जेलसम्म सञ्चालनमा रोक लगाइएको छ ।
सबै मासु पसलहरुलाई सबै मापदण्ड पालना गर्न निर्देशन दिँदै अर्काेपटक सुधार नगरिएको पाइए कारबाही गरिने अनुगमन टोलीले निर्देशन दिएको हो । अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी कार्यालय, नेपालगन्ज उपमहानगरपालिका एवम् उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्