घोराही, (दाङ) ।
घोराही उपमहानगरपालिका–१२ नारेबाङ निवासी ६६ वर्षीय शेरबहादुर घर्तीले सात वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएका छन् । उनले माछापालनबाट मासिन रु ५० हजार आम्दानी गर्नुका साथै रु २५ हजार बचत गर्दै आएका छन् । घर्तीले भने, ‘सात वर्षदेखि माछापालन व्यवसाय गर्दैै आएको छु ।
यो व्यवसायमा लगानी पनि बढ्दै गएको छ, उत्पादित माछा घरबाटै स्थानीयस्तरका व्यापारीले खरिद गरेर लैजानुहुन्छ ।’ माछापालन व्यवसायबाट सोचे जस्तै आम्दानी हुन थालेपछि आफ्नै जग्गामा पोखरी बनाएर व्यवसाय विस्तार गरेको उनले बताए । घर्तीले बहुउदेश्यीय माछापालन र्फाममार्फत व्यावसायिक रूपमा यो पेसामा लागेको बताए ।
‘बुढेसकालमा अन्य कामकाज गर्न नसकिरहेको समयमा माछाको हेरचाहा र बिक्री वितरणमा समय बितेको छ,’ उनले भने । उनका अनुसार पाँच वटा पोखरीबाट सञ्चालित व्यवसायमा हाल दुई हजार माछा छन् । ग्रास, कार्प, कमन जातका माछा पालन गर्दै आएको जनाउँदै घर्तीले यसमा बिक्रीको कुनै समस्या नभएको अनुभव सुनाए । उत्पादित माछा फामबाटै प्रतिकिलोको रु चार सयका दरले बिक्री हुने जनाउँदै उनले मासिक रूपमा रु ५० हजार आम्दानी हुने बताए ।
उनका अनुसार मासिक रु २५ हजार बचत हुँदै आएको छ । लगानी थपेर व्यवसाय विस्तार गर्ने योजना रहेको सुनाउँदै घर्तीले लगानी लगाउन भने नसकिएको बताए । माछालाई दाना पनि घरमा आफैँ उत्पादन गर्दै आएको उनले सुनाए । दाङमा वार्षिक सात सय ७९ मेट्रिक टन माछा उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केही वर्ष अघिसम्म माछाका लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो । अहिले भने आन्तरिक उत्पादनले बजार मागलाई धान्न थालेको केन्द्रका मत्स्य विकास अधिकृत प्रेम चौधरीले बताए । सरकारी तथ्याङक अनुसार जिल्लाबाट ९० मेट्रिक टन माछा बाहिर गएको छ । माछाका लागि हाल अन्य जिल्लाको भर पर्नुपर्ने अवस्था नरहेको चौधरीले बताए ।
पछिल्लो समय जिल्ला माछामा आत्मनिर्भर हुँदै गएको बताउँदै अहिले एक सय ९५ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको जानकारी दिए । उनका अनुसार जिल्लामा दुई सय ८५ जना माछापालन किसान छन् । कुनै समयमा कार्प प्रजातिका माछा मात्रै पालन हुने गरेको जिल्लामा अहिले पङ्गास प्रजातिका माछा पनि पालन हुन थालेसँगै उत्पादन बढेको मत्स्य विकास अधिकृत चौधरीले बताए ।
‘पहिले कार्प, कमन, सिल्भर, रोहु, नैनीलगायत प्रजातिका माछापालन हुन्थ्यो । हाल एक सय ९५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदा वार्षिक सात सय ७९ मेट्रिक टन उत्पादन हुने गरेको छ । अघिल्लो वर्ष छ सय छ मेट्रिक टन माछा उत्पादन भएको थियो,’ उनले भने । यहाँ उत्पादित माछा धनगढी, सुर्खेत, नेपालगन्जलगायत सहरमा पुग्ने गरेका छन् । घोराही–५ धर्ना क्षेत्र, तुलसीपुर उपमहानगरपालिका–१० र ११ तथा लमही नगरपालिका–२, ३ र ४ वडामा बढी माछापालन हुने गरेको मत्स्य विकास अधिकृत चौधरीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्