बाघको आफ्नो जन्मजात गुण र स्वभावविपरीत पिँजडामा कसरी जीवनयापन गर्छ होला ? जंगलको राजाले फलामे बारभित्र आफूहरूलाई कस्तो महसुस गर्दो हो ? बाघसम्बन्धी जानकारहरू भन्छन्, ‘विभिन्न कारणले निकुञ्जका उद्धार केन्द्रमा बाघलाई राखिन्छ । त्यो त बाघको जेल हो । त्यहाँभित्र भएको बाघ कैदी जस्तै हो । त्यहाँ उसले न त रजाइँ गर्न पाउँछ । न त खोजी छानी आहारा पाउँछ ।’
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाघको जिल्ला भनेर बर्दिया चिनिन्छ । बर्दिया र बाघ पर्यायवाची जस्तै हुन् । बर्दियामा बाघ पर्यटनसमेत लोभलाग्दो छ । बर्दिया राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्यांकले यसको अर्को उपमा नै थपिदिएको छ । त्यसैले भन्न थालिएको छ, बर्दिया भनेपछि ‘बाघ’ र ‘बाघ’ भनेपछि बर्दिया ।
त्यसो त बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या १२५ छ । जुन नेपालमै सबैभन्दा धेरै बाघ पाइनेमध्ये एक हो । सन २०२२ मा गरिएको गणना अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । यस्तै पर्सामा ४१, शुक्लाफाँटामा ३६ बाघ छन् । विसं २०६७ सालमा बाघको वासस्थान बढाउने र जैविक मार्ग बढाउने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ छन् ।
तीमध्ये अहिले बाँके र बर्दियामा गरी कूल ६ वटा बाघ उद्धार केन्द्रमा छन् । बाघ जंगलमा एक्लै बस्न रुचाउने एक मांसाहारी जनावर हो । बाघका वासस्थान घना जंगलदेखि ओसिलो र तराईका अग्ला घाँसेमैदान एवम् सिमसार क्षेत्रसमेत हुन् । त्यसो त आहारा उपलब्ध हुने भए जस्तोसुकै वातावरणमा बस्ने क्षमता बाघमा हुन्छ । त्यसैले बाघ रुसको साइबेरिया जस्तो ठन्डी क्षेत्रदेखि असाध्यै गर्मी हुने तराईका खुला घाँसेमैदान अनि उष्ण सदाबहार जंगलहरूमा पाइन्छ । बाघको रजाइँ क्षेत्रसमेत जंगल नै हो । बाघ एक्लै आफ्नो बल रजाइँ क्षेत्र खडा गरेर जंगलको राजाको रूपमा बस्छ ।
तर, बाघको आफ्नो जन्मजात गुण र स्वभावविपरीत पिँजडामा कसरी जीवनयापन गर्छ होला ? जंगलको राजाले फलामे बारभित्र आफूहरूलाई कस्तो महसुस गर्दो हो ? बाघसम्बन्धी जानकारहरू भन्छन्, ‘विभिन्न कारणले निकुञ्जका उद्धार केन्द्रमा बाघलाई राखिन्छ । त्यो त बाघको जेल हो । त्यहाँभित्र भएको बाघ कैदी जस्तै हो । त्यहाँ उसले न त रजाइँ गर्न पाउँछ । न त खोजी छानी आहारा पाउँछ ।’
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जस्थित वन्यजन्तु उद्धार केन्द्रमा राखिएका बाघ अवलोकन गर्न जानेहरू अनुभव सुनाउन्छन्, ‘बाघ त कस्तो रिसाहा हुँदो रहेछ ?’ केही दिन पहिले बाँके राष्ट्रिय निकुञ्ज सफारीमा जाँदा खोरमा राखिएको बाघलाई देखेकी पत्रकार निशु जोशी सुनाउँछिन्, ‘बाघ देख्दा नै डर लाग्ने रहेछ । झन् त्यसको गर्जन सुन्दा त मेरो सातो नै गएको । प्रत्यक्ष रूपमा बाघको त्यस्तो रिसाहा रुप त पहिलो पटक देखेँ ।’ बर्दिया राष्ट्रिय निकुञ्जस्थित उद्धार केन्द्रमा राखिएको बाघ देखेका दीपेन्द्र खड्काको समेत अनुभव उस्तै छ । उनी भन्छन्, ‘चित्रमा देखेको बाघ र प्रत्यक्ष देखेको बाघमा आकाश पातालको फरक हुँदो रहेछ ।’ बाघको बङ्गारा र जुंगा देख्दा आफूलाई निकै डर लागेको उनले बताए ।
उद्धार केन्द्रमा समस्याग्रस्त बाघ
दुवै राष्ट्रिय निकुञ्जका उद्धार केन्द्रमा जम्मा ६ वटा बाघ छन् । बाँकेमा एउटा र बर्दियाका दुई वटा उद्धार केन्द्रमा ५ वटा बाघ रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जको खैरी पोष्ट वन्यजन्तु उद्धार केन्द्रमा पोथी बाघ छ । उक्त बाघ साढे तीन महिनादेखि केन्द्रमा छ । बाँके निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीका अनुसार उक्त बाघलाई राप्ती सोनारी वडा नम्बर ९ बालापुरबाट उद्धार गरिएको थियो ।
बाघले बाख्रा खाएको र गाउँ पस्ने सम्भावना भएपछि उद्धार गरिएको उनले बताए । पोष्टको जनशक्तिले बाघको रेखदेख गरिएको उनको भनाइ छ । पोष्टमा पाँच जनाको दरबन्दी छ । त्यसमध्ये चार जना कार्यरत छन् । सिनियर गेम स्काउट र गेम स्काउट पोष्ट रहेको पंगेनीको भनाइ छ । निकुञ्जले समेत रेखदेखमा सहयोग गरिरहेको सूचना अधिकारी पंगेनीले बताए ।
उनी भन्छन्, ‘केन्द्रमा बाघको आहारा राँगाको मासु हो । हप्तामा १५ केजी मासु खान्छ ।’ केन्द्रमा रहेको बाघलाई औषधिका रूपमा समय समयमा भिटामिन दिने गरिएको र बाघ बस्ने स्थान सफाइ गर्ने गरिएको उनले बताए । बाघ त धेरै छटपटीमा देखिन्छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘खुलामा हिँड्ने जनावर हो । खोरमा बस्दा स्वभाविक रूपमा बाघ रिसाहा देखिहाल्छ । यसलाई अन्यथा लिनु भएन ।’
बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वारास्थित उद्धार केन्द्रमा दुई वटा बाघ रहेका छन् । करिब ९–१० वर्षको समस्याग्रस्त भाले बाघलाई ४ वर्ष पहिले बर्दियाको गेरुवाबाट पक्राउ गरिएको थियो । निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार करिब ९–१० वर्षको समस्याग्रस्त भाले बाघलाई चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको थियो । यस्तै रम्मापुर उद्धार केन्द्रमा २ वटा भाले र १ वटा पोथी गरी तीन वटा बाघ रहेका छन् । त्यहाँ रहेका मध्ये एउटा करिब १३–१४ वर्षको बाघलाई सुर्खेतको हर्रे भन्ने स्थानबाट पक्राउ गरेर ल्याइएको सूचना अधिकारी पौडेलले बताए । उक्त क्षेत्रमा बाघले गाई गोरु मार्नुका साथै समुदायलाई दुःख दिन थालेपछि उद्धार गरिएको थियो ।
सोही उमेर समूहको अर्को भाले बाघलाई १० महिना पहिले कञ्चनपुरको दोधारा चाँदनीबाट ल्याइएको उनको भनाइ छ । त्यहाँ बाघले महिलालाई मारेको थियो । यस्तै मान्छे मार्ने पोथी बाघलाई ५ वर्षदेखि बर्दियाको खाता करिडोरबाट पक्राउ गरेर ल्याइएको सूचना अधिकारी पौडेलको भनाइ छ । ती बाघहरूलाई हप्तामा एकदिन बिराएर प्रतिबाघ ७ केजी राँगाको मासु खुवाउने गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार विभिन्न कारण बाघको आक्रमणमा परेर नेपालमा पछिल्लो पाँच वर्षमा ६५ जना मानिसले ज्यान गुमाउनु परेको छ । सबैभन्दा धेरै आर्थिक वर्ष २०७८–०७९ मा २१ जनाको मृत्यु भएको थियो ।
त्यसअघिका आर्थिक वर्ष २०७७–७८ मा १३ र २०७६–७७ मा आठ जनाले ज्यान गुमाएका थिए । पछिल्ला दुई वर्षमा ज्यान गुमाउनेको सङ्ख्या पुनः घटेको देखिन्छ । गत आर्थिक वर्ष २०८०–८१ मा ११ र त्यसको एक वर्षअघि १२ जनाको मृत्यु भएको तथ्यांक छ ।
बाघको सांस्कृतिक र धार्मिक महत्व
धेरैजसो परम्परागत, सांस्कृतिक तथा धार्मिक परिवेशमा बाघलाई राजकीय स्वभाव र विजयको प्रतीकको रूपमा लिइने गरिन्छ । साथै बाघलाई शक्ति र साहसको पर्यायका रूपमा समेत पूजा गर्ने गरेको पाइन्छ । धर्मग्रन्थहरूमा समेत बाघलाई राम्रो स्थान दिएको पाइन्छ ।
हिन्दु धर्ममा बाघलाई शक्तिकी देवी भगवती दुर्गाको वाहनको रूपमा लिइएको छ । भवगती दुर्गाले बाघमाथि विराजमान भएर लडाइँमा राक्षसहरूलाई मारेको धार्मिक मान्यता रहेको छ । भगवान शिवले पनि बाघको छालाको कलाड धारण गर्नुका साथै बाघको विराजमान भएर ध्यानमा लिन हुने गरेको हिन्दु धर्मग्रन्थहरूमा उल्लेख छ । यजुर्वेदमा समेत बाघका बारेमा उल्लेख गरिएको छ । देवी दुर्गामाताका मन्दिरहरूमा मूलद्धार अगाडि दुवैतिर बाघका मूर्तिहरू राखेको पाइन्छ ।
शक्तिकी देवी दुर्गामातालाई पुज्ने कतिपय हिन्दु धर्मावलम्बीहरूले बाघको पूजा गर्ने गरेका छन् । यसैगरी जापानमा समेत बाघ देख्नुलाई कुनै नयाँ शक्तिको आगमनसँग जोड्दै शुभ मान्ने चलन छ । भारतमा गुफाका पर्खालमा कोरिएको लगभग ८ हजार वर्ष पुरानो बाघको चित्रकला भेटिएको छ । यसको लगभग १ हजार वर्षपछि बाघको मूर्ति चीनमा भेटिएको छ । चीनको प्राचीन सभ्यता बाघको वर्णन धेरैनै गरेको पाइन्छ । सायद चीनमा जति बाघको वर्णन अरु कुनै मुलुकमा भएको छैन् ।
बाघ संरक्षणमा देखिएका चुनौती
नेपालमा बर्सेनि बाघको सङ्ख्या बढ्दो छ । तर यसको संरक्षण प्रमुख चुनौतीको रूपमा रहेको छ । बाघ संरक्षणमा विशेषगरी प्रमुख समस्याको रूपमा चोरी सिकारी रहेको छ । बाघका अंगहरू परम्परागत औषधिको प्रयोग गरिने पुरातन प्रचलन नरोकिनु र चोरी सिकारीको विश्वव्यापी सञ्जाल तोड्नु नसक्नु चोरी सिकारीको प्रमुख कारणका रूपमा रहेको छ ।
बाघको वासस्थानको विनाश हुनु संरक्षणमा देखिएको अर्को चुनौती हो । बाघको वासस्थानका रूपमा रहेको जंगल फडानी, मानव अतिक्रमण बढ्नु, वनजंगलको हैसियत बिग्रनु, आहारा प्रजाति घट्नु र नासिनु जस्ता कारण रहेका छन् । बाघका मुख्य आहारा प्रजाति जरायो, चित्तल, मृग र बँदेल लगायत हुन् । बाघका आहारा प्रजातिको चोरी सिकार अर्को चुनौतीको रूपमा रहेको छ ।
यस्तै बाघकै चोरी सिकार, बाघको चोरी सिकार गर्नेहरूको अवैध अन्तर्राष्ट्रिय सञ्जाल, बाघको चोरी सिकारमा भारतको बन्जारा जाति, बाघका अंगहरूको प्रयोगमा अन्धविश्वास, बाघ–वन्यजन्तु द्वन्द्व, रिसइबीले बाघ मार्ने घटना, बाघ संरक्षणमा जनचेतनाको कमी र बाघ पालन बाघ संरक्षणमा देखिएका प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरू हुन् ।









प्रतिक्रिया दिनुहोस्