चोरीका घटना बढेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले संग्लनहरुलाई नियन्त्रणमा लिन अप्रेशन चलाएको छ । सोही क्रममा प्रहरीले मोटरसाइकल चोरीमा संग्लन एउटा गिरोहलाई नै पक्राउ परेको छ ।
माघ ५ गते कोहलपुरको रझेनामा घरमै राखेको अवस्थामा दुर्गाराज भट्टराईको भे ६ प २५६० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । सोही अनुसन्धान गर्दै जाँदा कोहलपुर क्षेत्रमा बाइक चोरी गर्ने एउटा समूह नै पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा कोहलपुर रझेनाका बिष्णु हरिजन, घनश्याम चौधरी र सुबास हरिजन रहेका छन् ।
‘विशेष सूचनाको आधारमा तीनै जनालाई रझेनाबाट पक्राउ गरेका हौं’ प्रहरी निरीक्षक बमले भने, ‘उनीहरुकै सूचनाको आधारमा चोरेर लुकाइछिपाई राखेको अवस्थामा जमुनाहाबाट मोटरसाइकल समेत बरामद गर्न सफल भएका छौं ।’ कोहलपुर प्रहरीको कमाण्ड प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले सम्हालेपछि कोहलपुरले प्रहरी आफ्नो संक्रियता बढाउन थालेको छ ।
प्रहरी नायब उपरीक्षक खनालले समेत कोहलपुर प्रहरी संक्रियता बढाएको बताए । ‘स्थानीयहरुकै सुझावको आधारमा हामीले संक्रियता बढाएका छौं’ उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘चोरीमा घटना बढेको देखिएपछि चोरी नियन्त्रणको लागि अप्रेशन नै चलाएका छौं । सोही क्रममा बाइक चोर्ने एउटा गिरोहलाई नियन्त्रणमा लिएका छौं ।’
पक्राउ परेका गिरोहरुले दिएको नामका आधारमा अन्यहरुको खोजी समेत तिव्र पारिएको प्रहरी नायब उपरीक्षक खनालले बताए । ‘कोहलपुर क्षेत्रमा अन्य गिरोह समेत रहेको खुलेको छ’ उनले भने, ‘हामीले खोजीको लागि प्रहरीको विशेष टोली बनाएर नै परिचालन गरिसकेका छौं । पक्राउ गरेर उनीहरुलाई सार्वजनिक गर्छौं ।’
कोहलपुरमा लागूऔषध विरुद्ध समेत केही दिनमा अप्रेशन चलाइने उनले जानकारी दिए । ‘यहाँको अर्को मुख्य समस्या लागूऔषध समेत देखिएको छ । स्थानीय स्तरबाट समेत लागूऔषध नियन्त्रण गर्नुपर्ने सुझाव पाएका छौं’ प्रहरी नायब उपरीक्षक खनालले भने, ‘केही दिनमा नै हामी लागूऔषध नियन्त्रणको लागि कदम चाल्छौं ।’
कुरुवाको मोबाइल चोर्ने पक्राउ
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीका एक कुरुवाको मोबाइल चोर्ने एक युवक पक्राउ परेका छन् । कुरुवाको मोबाइल चोर्दै गरेको अवस्थामा प्रहरीले खजुरा गाउँपालिका २ का रमेश थापा रहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।
अस्पतालमा कुरुवा बसेका व्यक्तिको मोबाइल चोर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । दुवै चोरीका घटनाहरुमा संग्लनहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्