नौमती बाजा संरक्षणमा महिलाको अग्रसरता



सल्यान ।

लोपोन्मुख अवस्थामा पुगेको मौलिक नौमती बाजाको संरक्षण र प्रवद्र्धनका लागि जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ का महिलाहरू अग्रसर बनेका छन् । परम्परागत रूपमा पुरुषहरूमा सीमित मानिने नौमती बाजा अब महिलाको सक्रिय सहभागितासँगै नयाँ पुस्तासम्म हस्तान्तरण हुने अपेक्षा छ । वडा नं. ६ कार्यालयको आयोजनामा जेठ १६ गतेदेखि सञ्चालन भएको १० दिने आधारभूत नौमती बाजा तालिम पूरा गरेका स्थानीय महिलाहरूले पहिलोपटक सामूहिक रूपमा नौमती बाजा बजाउँदै आफ्नो सीप प्रदर्शनसमेत गरेका छन् ।

समापनका अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले झ्याउरे र ख्याली तालका लोकभाका प्रस्तुत गर्दै सांस्कृतिक प्रस्तुति दिएका थिए । नौमती बाजाको प्रयोग पछिल्ला वर्षहरूमा घट्दै जाँदा यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको अवस्थामा महिलालाई सीप हस्तान्तरण गरी मौलिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । वडा नं. ६ का वडाध्यक्ष टिकाराम बुढाले संस्कृति संरक्षणमा महिला सहभागिता बढाउनु राम्रो काम भएको बताए ।

तालिममा वडाभित्रका १० जना महिलाको सहभागिता रहेको थियो । उनीहरूलाई सिन्धुली कला घरका प्रशिक्षक पवित्रा रम्तेल र रिता विश्वकर्माले प्रशिक्षण दिएका थिए । प्रशिक्षक रम्तेलले छोटो अवधिमै सहभागीहरूले बाजा समाउने तरिका, ध्वनि निकाल्ने सीप तथा सामूहिक तालमेलमा उल्लेखनीय प्रगति गरेको बताइन् । छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले महिलाहरूको सक्रियताले मौलिक संस्कृति संरक्षण अभियानलाई नयाँ ऊर्जा दिएको धारणा राखे ।

महिला बाजा समूहलाई आवश्यक सहयोग गर्दै अभियानलाई दीर्घकालीन रूपमा अघी बढाउन गाउँपालिका प्रतिबद्ध रहेको उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले नौमती बाजालाई सांस्कृतिक सम्पदाका रूपमा मात्र नभई आयआर्जनसँग जोड्न सकिने सीपका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । सहभागी नविना विष्टले सुरुमा बाजा सिक्न सकिन्छ भन्ने आत्मविश्वास नभए पनि प्रशिक्षकहरूको हौसलाले सफल हुन प्रेरणा मिलेको बताइन् ।

तालिमको समापनसँगै ‘छत्रेश्वरी नौमती बाजा महिला समूह’ गठन गरिएको छ । वडा सचिव संगिता डिसीका अनुसार नियमित अभ्यासलाई निरन्तरता दिन, सांस्कृतिक कार्यक्रममा व्यावसायिक रूपमा सहभागी हुन तथा महिलाको आर्थिक सशक्तीकरणमा टेवा पु¥याउने उद्देश्यले समूह गठन गरिएको हो । आधुनिक बाजा र प्रविधिको बढ्दो प्रभावका कारण ओझेलमा पर्दै गएको केला नौमती बाजाको संरक्षणमा महिलाको सहभागिताले नयाँ आशा जगाएको स्थानीयवासीको भनाइ छ । छत्रेश्वरीमा सुरु भएको यो अभियानले मौलिक कला र संस्कृतिको संरक्षणसँगै महिला नेतृत्व, आत्मनिर्भरता र आर्थिक सशक्तीकरणमा समेत योगदान पुग्ने अपेक्षा छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २९ गते शुक्रबार