सिम्तामा दुई सडकको कालोपत्रे गरिँदै



वीरेन्द्रनगर ।

सिम्ता गाउँपालिकामा पालिकाभित्रका २ महत्वपूर्ण सडकको कालोपत्रे गर्न सुरु गरिएको छ । सहिद इन्द्र विसी द्रुत मार्ग र सहिद ऋषि चक्रपथ सडकमा कालोपत्रे र बेस हाल्ने काम तीव्र गतिमा भइरहेको छ ।

गाउँपालिकाले यी सडकलाई गौरवका योजनाको रूपमा अघि सारेपनि सडकको काम भने जेठमा मात्रै सुुरु गरेको छ । सहिद इन्द्र विसी द्रुत मार्ग वडा नम्बर ५ को गोजी–आली हुँदै वडा नम्बर ९ को दुनी दह र छिमेकी चिङ्गाड गाउँपालिकासम्म जोड्ने योजना हो । यो सडकको कूल लम्बाइ २२ किलोमिटर छ । चालू आर्थिक वर्षमा २.५ किलोमिटर खण्ड कालोपत्रे गरिने गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले जानकारी दिए ।

अध्यक्ष चन्दका अनुसार सडक निर्माण कार्य २०५३-०५४ सालदेखि सुरु भएको थियो । तर हालसम्म अधिकांश भाग ग्राभेल मात्रै गरिएको छ । बाँकी क्षेत्रमा पनि आगामी वर्षमा स्तरोन्नति र कालोपत्रे गर्ने तयारी छ । इन्द्र विसी द्रुत मार्गको कालोपत्रे काम अंकित एण्ड जेनिसा जलजला गेमी जेभी कम्पनीले लिएको छ ।

यी २ वटै सडक यही असारमा सम्पन्न गर्नुपर्ने सम्झौता अवधिमा उल्लेख छ । के.वि. गुरुङ कन्ट्रक्सन कम्पनीका सञ्चालक गणेश गुरुङका अनुसार वडा नम्बर १ मा पर्ने सहिद ऋषि चक्रपथ सडकको बेस हाल्ने काम भइरहेको छ । यस्तै स्थानीय सिर्जना बजार हुँदै खनेटा जोड्ने चक्रपथको पनि २.५ किलोमिटर सडक यस वर्ष कालोपत्रे गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

यी २ सडकको कालोपत्रे कार्य सिम्ता गाउँपालिका र स्थानीय पूर्वाधार विकास कार्यक्रमको साझेदारीमा सम्पन्न हुने जनाइएको छ । इन्द्र विसी द्रुत मार्गको लागि ४ करोड १५ लाख र ऋषि चक्रपथ सडकको लागि ४ करोड ३५ लाखमा ठेक्का सम्झौतामा उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार