कोहलपुरका महिलाहरूलाई चुरापोते बनाउने तालिम



ईश्वरी पौडेल । कोहलपुर ।

बाँकेको कोहलपुरमा महिलाहरूका लागि १५ दिने चुरापोते बनाउने तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजनामा महिलाहरूका लागि १५ दिने चुरापोते बनाउने तालिम सुरु भएको हो ।

तालिमको लागि संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था कोहलपुर–२ ले समन्वय र सहजीकरण गरिरहेको छ । लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीको संसद् विकास कोषअन्तर्गत सञ्चालन गरिएको तालिममा ४० जना महिलाहरूको सहभागिता रहेको छ ।

सहकारीकी व्यवस्थापक तुल्सी सुनारले सहकारीमा आबद्ध ४० जना विपन्न र आर्थिक रूपमा कमजोर महिनाहरूलाई छनौट गरेर तालिम प्रदान गरिएको बताइन् । उनका अनुसार १५ दिनसम्म सञ्चालन हुने तालिमबाट महिला सीपयुक्त हुने विश्वास गरिएको छ । सहकारीमा आबद्ध महिलाहरूलाई सीपयुक्त बनाएर रोजगारी सृजना गरेर उद्यमी बनाउने उद्देश्यले तालिम सञ्चालन भएको सुनारले जानकारी दिए ।

प्रदेश सभा सदस्य अधिकारीले कोहलपुर क्षेत्रका महिलाहरूलाई सीप सिकाइ रोजगारी सृजना गर्ने तालिमको प्रमुख उद्देश्य रहेको बताइन् । उनले महिलाहरूलाई अहिलेपनि चुलाचौकोमा सीमित रहेका कारण उनीहरूलाई उद्यमी बनाएर आर्थिक रूपमा शसक्त बनाउन आवश्यक रहेकाले तालिम सञ्चालन गरिएको बताइन् ।

‘संसद् विकास कोषमार्फत महिला सशक्तीकरणमा ध्यान दिइएको छ । सोहीअनुसार महिला केन्द्रित कार्यक्रम गरिरहेका छ । चुरापोते बनाउने तालिम पनि त्यसको उदाहरण हो,’ अधिकारीले भनिन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार