कोहलपुर (बाँके) ।
बाँकेका स्थानीय सरकार आर्थिक वर्ष २०८२-०८३ को पूर्वतयारीमा छन् । चालू आर्थिक वर्षको मसान्त नजिकिँदै गर्दा स्थानीय सरकार बजेटको पूर्वतयारीमा जुट्न थालेका हुन् । नयाँ आर्थिक वर्ष नजिकिन थालेसँगै नेकपा एमाले बाँकेले स्थानीय सरकारलाई शिक्षा क्षेत्रको नीतिगत सुधार र बजेट वृद्धि गर्न ध्यानाकर्षण गराएको छ ।
नेकपा एमाले शिक्षा तथा मानव श्रोत विभागले बाँकेले जिल्लाका आठ वटा स्थानीय तहलाई २३बुँदे माग राख्दै ध्यानाकर्षण गराएको हो । विभागको वैशाख २५ गतेको निर्णयअनुसार जिल्लाका आठ वटै स्थानीय तहका प्रमुखलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने क्रम चलिरहेको विभागका प्रमुख सूर्यबहादुर रोकायाले बताए । उनकाअनुसार शैक्षिक गुणस्तर र भौतिक व्यवस्थापनको मागसहित प्रत्येक स्थानीय तहका अध्यक्ष -प्रमुखलाई भेटेरै मागपत्र बुझाउने काम भइरहेको छ । भौतिक व्यवस्थापनका भौतिक व्यवस्थापनका ९ र शैक्षिक गुणस्तर वृद्धिका १४ बुँदासहित विभागले मागपत्र बुझाइरहेको हो ।
सोही अन्तर्गत वैशाख २८ गते नेपालगन्ज उपमहानगरपालिका, खजुरा, जानकी र बैजनाथ गाउँपालिकाका अध्यक्ष-प्रमुखलाई भेटेर मागपत्र बुझाइएको प्रमुख रोकायाको भनाइ छ । सोही अन्तर्गत मंगलबार कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाका नगर प्रमुख र अध्यक्षलाई पत्र बुझाइएको छ । मंगलबारै नरैनापुर र डुडुवा गाउँपालिकामा पत्र बुझाउने कार्यक्रम रहेपनि पालिका प्रमुख कार्यालयमा नभएका कारण पत्र बुझाउन नसकिएको उनले बताए । अब जेठ १ गते दुवै पालिकाको कार्यालयमै पुगेर मात्रपत्र बुझाउने रोकायाले जानकारी दिए ।
‘बाँकेमा शिक्षा क्षेत्रमा अहिलेपनि तमाम समस्या छन् । ती समस्या समाधानको लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहन्छ । स्थानीय सरकार बजेटको तयारी गरिरहेका छन् । आगामी बजेटमा स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिउन् भन्ने हाम्रो उद्देश्य हो,’ मिसन टुडेसँग कुराकानी गर्दै रोकायाले भने ।
विभागले भौतिक व्यवस्थापन अन्तर्गत विद्यालयमा पर्याप्त सफा र स्वच्छ खानेपानी र शौचालय, फर्निचर तथा खेल सामग्री व्यवस्थापन, टिनको पाता विस्थापन तथा जिप्सन प्रयोग र कक्षा ३ को फ्लोर सेटिङ व्यवस्थापन गर्न माग गरेको छ । यस्तै, मनोरञ्जन तथा खेल व्यवस्थापनको लागि सामग्री व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणमा प्राथमिकता, समोवशी तथा अपांगतामैत्री संरचना विद्यालयको बिजुली खर्च व्यवस्थापन, विद्यालय वाउण्ड्री व्यवस्था र पुस्तकालय तथा प्रयोगशाला भवनको व्यवस्था गर्न माग गरिएको छ ।
यसैगरी, शैक्षिक गुणस्तर अन्तर्गत अभिभावक शिक्षा लागु गर्ने र निःशुल्क तथा अनिवार्य शिक्षा लागु गर्न विद्यालय सञ्चालन तथा व्यवस्थापन खर्च अनुदान दिने, अंग्रेजी, गणित तथा विज्ञान शिक्षक क्षमता विकास तालिम, विषयगत, तहगत तथा विद्यार्थी अनुपातका आधारमा शिक्षक व्यवस्थापन र शिक्षक सहायता सामग्रीका लागि कक्षाकोठामा आधारित अनुगमन प्रणाली व्यवस्थापनको माग गरिएको प्रमुख रोकायले बताए ।
यस्तै पर्याप्त सिकाइ सामग्री तथा सन्दर्भ सामग्री प्रारम्भिक बाल विकासका लागि खेल तथा मनोरञ्जन सामग्री, प्रधानाध्यापक क्षमता विकास तथा विव्यस र अभिभावक संघको सक्रियता, पालिकास्तरमा निरन्तर शैक्षिक अन्तरक्रिया र नियमित अतिरिक्त तथा सह क्रियाकलापको बजेट व्यवस्थापन गर्न माग गरिएको छ ।
मागपत्रमा विद्यालय नर्सिङ कार्यक्रम गर्ने साथै उपचारात्मक शिक्षण पद्धतिको अवलम्बन गर्ने, विद्यालयस्तरमा स्वास्थ्य परीक्षणको व्यवस्थापन, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको व्यवस्थापन र अपांगता भएका बालबालिकाको सामावेशी शिक्षामा जोड दिन आग्रह गरिएको छ । मागपत्रको १३औँ बुँदामा योग्य शिक्षकहरूको स्थायित्व र नियमित तालिमको सुनिश्चितता र सरकारी विद्यालयहरूमा प्रविधि आधारित शिक्षाका पहुँचको व्यवस्था गर्न माग गरिएको छ ।
प्रमुख रोकायाले शिक्षामा गरिएको लगानीले भावी पुस्ता सशक्त, योग्य र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । मागपत्र बुझ्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले विभागले महत्वपूर्ण विषय सही समयमा बताएका थिए । उनका अनुसार कोहलपुरले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको छ । पालिकाले शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासमा प्राथमिकता दिएका उनले बताए । यसैगरी राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पनि बजेट तथा नीति निर्माण गर्दा विभागले उठाएका उचित विषयहरूलाई समेटिने प्रतिबद्धता जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्