‘इआइए’ नगर्दा अघि बढेन भेरी अस्पतालको भौतिक निर्माण



वीरेन्द्र जैसी । नेपालगन्ज ।

भेरी अस्पतालको गुरु योजनाअनुसार पूर्वाधार निर्माण अघि बढन् नसक्नुका पछाडि वातावरणीय प्रभाव मूल्यांकन नै नगर्नु कारण रहेको पाइएको छ । ठूला र वृहत् प्रभाव पार्ने परियोजनाहरू अघि बढाउनुअघि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी पारित गर्नुपर्ने व्यवस्था छ । तर अस्पतालको गुरु योजनाअनुसारको पूर्वाधार निर्माण अघि बढाउन भनेर बजेट छुट्याइएपनि वातावरणीय प्रभाव मूल्यांकन नै नहुँदा काम अघि बढ्न नसकेको नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

मन्त्री पौडेलले चालू आर्थिक वर्षमा पनि बजेट छुट्याइएपनि वातावरणीय प्रभाव मूल्यांकन नै नभएको विषय ढिलो गरी थाहा हुन आएको बताए । ‘मन्त्री भएर गइसकेपछि प्राविधिक पक्ष राम्ररी बुझिँदो रहेनछ,’ मन्त्री पौडेलले भने, ‘बुझ्न समय लाग्यो । यो इआइए, आइर्ईई भन्ने हुँदो रहेछ । त्यो मैले कहिले थाहा पाएँ भने राष्ट्रिय योजना आयोगले यति समयभित्र इआइए गरेर ल्याउनु भनेर भनेको समय गुज्रेपछि मैले थाहा पाएँ ।’

अब भदौ महिनाभित्र इआइए गरेर अहिले छुट्याइएको बजेटलाई निरन्तरता दिई बहुवर्षीय योजनाको रूपमा भेरी अस्पतालको पूर्वाधार निर्माण कार्य अघि बढाइने मन्त्री पौडेलले जानकारी दिएका छन् ।

करिब तीन अर्ब रूपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको भेरी अस्पतालको भौतिक पूर्वाधारको गुरुयोजनामा अहिले रहेका पुराना भवनहरूलाई भत्काएर नयाँ सात तले भवन निर्माण गर्ने योजना रहेको छ । जसका लागि चालू आर्थिक वर्षमा २५ करोड रूपैयाँ छुट्याइएपनि इआइए नहुँदा कार्यान्वयन हुन नसक्ने मेसु डा.निराजन सुवेदीले बताएका छन् ।

दुई सय ६० बेड रहने, अण्डर ग्राउण्ड पार्किङ र हेलिप्याड समेत रहनेगरी आधुनिक डिजाइनको अत्याधुनिक सेवा सुविधा भएको भवन निर्माण गरिने डीपीआर रहेको छ । वीर अस्पतालसँगैको नेपालकै पुरानो अस्पताल भएपनि भेरी अस्पतालको ओपिडी भवन जीर्ण भइसक्दा पनि नयाँ भवन बनाउन ढिलाइ भइरहेको छ ।

हाल ओपिडी सञ्चालन भइरहेको पुरानो भवनले बिरामीको चाप धान्न नसक्ने अवस्था रहेकोले सेवाग्राहीहरूलाई सकस हुने गरेको मेसु सुवेदीको भनाइ छ । नयाँ भवन निर्माण अघि अस्थायी ओपिडी भवन बनाउने र त्यसपछि चरणबद्ध रूपमा गुरुयोजनाअनुसारको भवन निर्माण गर्ने रणनीति रहेको मेसु सुवेदीले बताए । सुवेदीले भने, ‘मन्त्रीज्यूले भदौभित्रै इआइए गरेर आगामी वर्षबाट काम अघि बढाउने गरी व्यवस्था गर्छु भन्नुभएको छ । आशा गरौँ काम सुरु होला ।’

नयाँ भवनमा ¥याम्प नहुँदा जोखिममा बिरामी

भेरी अस्पतालमा करिब ३३ करोड रूपैयाँ लागतमा नयाँ इन्डोर भवन निर्माण भयो । जसमा हाल इमरजेन्सीदेखि लिएर विभिन्न इन्डोर वार्डहरू सञ्चालनमा छन् । तर उक्त भवनको डिजाइनमै अस्पतालमा अनिवार्य मानिने ¥याम्पको डिजाइन नै छुटाइयो । अहिले अस्पताल व्यवस्थापनका लागि उक्त भवनमा ¥याम्प नहुनु टाउको दुखाइको विषय भएको छ ।

भेरी अस्पतालका मेसु डा.निराजन सुवेदी भन्छन्, ‘मेडिकल स्टोरमा आगलागी भएपछि हामीलाई हतार गराएको छ । किनभने यो भवनमा ¥याम्प नभएकोले केहीगरी आगलागीजस्तो विपत् आइलाग्यो भने बिरामीहरूलाई सार्न अप्ठ्यारो हुनेछ ।’

शहरी विकास तथा भवन निर्माण विभागले उक्त भवनको डिजाइन तयार गरी निर्माण कार्य पूरा गरी अस्पाललाई हस्तान्तरण गरेको थियो । अस्पतालले हस्तान्तरण हुँदा ¥याम्प नभएकै भवन स्वीकार ग¥यो । यसका साथै भवन निर्माण भइरहँदा पनि अस्पतालका तर्फबाट कसैले पनि ¥याम्पबारे चासो राखेनन् । अहिले अस्पताललाई आपतकालीन अवस्थामा दुई सय ४० वटा बेड रहने उक्त भवनबाट बिरामीलाई कसरी उद्धार गर्ने भन्ने टाउको दुखाइको विषय भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २४ गते बुधबार