नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेको भित्तेपात्रो विमोचन



कोहलपुर (बाँके) : नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेको भित्तेपात्रो विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच मञ्चले प्रकाशन गरेको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको नेपाल सरोकार महासंघका केन्द्रीय सह–कोषाध्यक्ष तिलकसिंह कार्कीले उद्घाटन गरेका थिए । भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले देशमा रहेको घरबहालको समस्या समाधानको लागि मञ्चले महत्वपूर्ण काम गरिरहेको बताए ।

उनका अनुसार नागरिकहरुका सरोकारका विषयमा वकालत गर्नको लागि महासंघले काम गरिरहेको छ ।‘नयाँ वर्षको अवसरमा सम्पूर्णलाई शुभकामना दिन चाहन्छु। मञ्चले आफ्ना गतिविधि समेटेर भित्तेपात्रो प्रकाशन गरेको छ ।आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दछु ।’ विशिष्ट अतिथि नेपाल सरोकारका लुम्बिनी प्रदेश सचिव देवेन्द्र पौडेलले अहिलेपनि घर बहालमा विभिन्न समस्या रहेको भन्दै समाधानको लागि प्रयास भइरहेको बताए । उनका अनुसार घर बहालका विषयमा सरकारले उचित ध्यान दिन आवश्यक छ ।

नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेका सल्लाहकार डोलराज अर्यालले मञ्चले बाँके जिल्लामा घरबहाल सम्बन्धी रहेका समस्याका विषयमा कार्य गरिरहेको बताए । उनका अनुसार आगामी दिनमा जिल्लाभर मञ्चलाई विस्तार गरेर अघि बढ्नुपर्छ । त्यसको लागि मञ्चले जिल्लाका आठवटै पालिकामा काम गर्नुपर्ने उनको भनाइ थियो । भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता गरेकी नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेकी अध्यक्ष राधा गौतमले नयाँ वर्ष २०८२ को अवसरमा मञ्चले प्रकाशित गरेको भित्तेपात्रोको लागि विज्ञापन दिन विज्ञापनदाताहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । मञ्चले १ हजार ५ सय पिस भित्तेपात्रो प्रकाशित गरेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार