सागर गैरे : विश्व राजनीति आज एउटा यस्तो मोडमा आइपुगेको छ, जहाँ एउटा सानो टापु ताइवानले स्वतन्त्रताको गहिरो अर्थ र मूल्यको प्रतिनिधित्व गरिरहेको छ । यो केवल भूगोलको सवाल होइन, यो विचार र व्यवस्थाको संघर्ष हो, जहाँ एउटा पक्ष सत्ताको केन्द्रीयकरणमा विश्वास गर्छ भने अर्कोतर्फ स्वतन्त्रताको अभ्यासले जनमानसमा गहिरो जरा गाडिसकेको छ ।
ताइवानका जनताले दशकौँ लगाएर लोकतन्त्रको बलियो आधार तयार गरेका हुन् । यहाँ वाक् स्वतन्त्रता छ, जहाँ सरकारको आलोचना खुला रूपमा हुन्छ । प्रेस स्वतन्त्रता छ, जहाँ पत्रकारहरू सत्ताभन्दा सत्यको पक्षमा उभिन्छन् । इन्टरनेट खुला छ । विचार आदानप्रदानमा कुनै रोकटोक छैन । यी सबै तत्वहरूले ताइवानमा एक स्वतन्त्र पहिचान र राष्ट्रिय भावना बनिसकेको छ । आज ताइवानका लागि स्वतन्त्रता केवल शासन प्रणालीको विकल्प होइन । जीवनशैलीको सार बनिसकेको छ ।
तर चीनको कुरा बेग्लै छ । चीन विश्व महाशक्ति बन्ने दिशामा छ । चीनमा स्वतन्त्रतामाथि निगरानी छ । चीनमा इन्टरनेटमाथि सीमा तोकिएको छ । वाक स्वतन्त्रता प्रेस, स्वतन्त्रतामा पावन्दी छ । चीनमा एकतन्त्रीय कम्युनिस्ट शासन व्यवस्था छ र चीनमा प्रेस स्वतन्त्रतामा अनेकौँ पावन्दीहरु लागु छन् । यसका बाबजुद पनि चीन आफ्नो योजनामा प्रष्ट छ । चीनको लागि ताइवान एउटा गहिरो घाउ हो । चीन सधैँ चह¥याइरहने घाउमा पूर्णविराम चाहन्छ ।
चीनका लागि ताइवान एउटा ‘टापु’ मात्र होइन । यो त राष्ट्रिय एकताको अधुरो अध्याय हो । माओत्से तुङको सपना हो, सी जिनपिङको प्राथमिकता हो । चाहे कूटनीति होस् वा युद्धको भय देखाउन नै किन नपरोस् । चीनले जबसम्म ताइवान आफूमा गाभ्दैन् तबसम्म चीन रोकिँदैन । ताइवान चीनमा मिलाएपछि मात्र चीनको एउटा कोर्ष पूरा हुन्छ ।
चीन विश्वशक्ति बन्ने दिशामा छ । चीनले हङकङ र मकाउलाई आफूसँग गाभिसकेको छ । अब ताइवान एउटा मात्र टापु बचेको छ जसलाई चीनले आफूमा मिलाउन बाँकी छ । ताइवान चीनमा गाभ्नु सम्पूर्ण चिनियाँ नेतृत्वको सपना हो । चिनियाँ जनताको सपना हो । तर सबै सपनाहरु सहज हुँदैनन् । हामीले लेखेजस्तो वा बोलेजस्तो ताइवान चीनमा सम्मिलनको सम्भावना पनि सरल छैन । तर प्रश्न उठ्छ के एउटा राज्य बलले मात्रै जनताको मन जित्न सक्छ त ?
ताइवान र चीनबीच यतिबेला विवाद चर्किएको छ । ताइवानकी प्रधानमन्त्रीले अमेरिकाको भ्रमण गरेपछि चीन फेरी एकपटक क्रुद्ध भएको छ । चीनले आफ्ना पनडुब्बी युद्धपोत र फाइटर विमान ताइवानको सीमासम्म पु¥याएको छ । जब जब कोही ताइवानी नेतृत्व अमेरिका भ्रमणमा निक्लिन्छ वा कोही अमेरिकी नेतृत्व ताइवान भ्रमणमा आइपुग्दछ तब चीनको प्रतिक्रिया यस्तै हुने गर्दछ ।
प्रस्तुत लेखमा हामी ताइवानको बारेमा बुझ्ने छौँ । ताइवानको इतिहास, ऐतिहासिक घटनाक्रम, चीन ताइवान विवाद र वर्तमान सम्मका घटनाक्रमहरुको सूक्ष्म अध्ययन गर्ने प्रयास गर्नेछौँ । सबैभन्दा पहिले हामीले ताइवानलाई बुझ्ने कोसिस गरौँ ।
१) तथ्य र तथ्यांकमा ताइवानः
ताइवान पूर्वी एशियामा अवस्थित एक सानो टापु राष्ट्र हो । ताइवानको क्षेत्रफल जम्मा ३६,१९३ वर्ग किलोमिटर रहेको छ । ताइवानको पूर्वमा प्रशान्त महासागर रहेको छ । दक्षिणमा बाशी च्यानल र फिलिपिन्स रहेका छन् । ताइवानको उत्तरमा पूर्वी चीन सागर अवस्थित छ । ताइवानदेखि चीन १८० किलोमीटर दुरीमा छ । फिलिपिन्स २०० किमि र जापान ६०० किमि दुरीमा छन् । चीनदेखि दक्षिण कोरिया भने १४०० किलोमिटरको दुरीमा रहेको छ ।
ताइवानको राजधानी ताइपेई सहर हो । ताइवानको जनसंख्या २ करोड ३० लाख (सन् २०२३ को अनुमान) रहेको छ । ताइवानी मुद्राको नाम ताइवान डलर हो । यसको सटही मूल्य अमेरिकी एक डलर बराबार ३०–३२ ताइवानी डलर हुन आउँछ । ताइवानमा मन्डारिन चीनिया भाषा बोलिन्छ । यहाँका मानिसले बौद्ध र ताओ धर्म मान्दछन् ।
भूगोलको हिसाबले ताइवान विश्वको १३८औँ ठूलो देश हो । जनसंख्याको दृष्टिकोणबाट हेर्दा विश्वको ६१औँ स्थानमा आउँछ ताइवान । ताइवानको जिडिपी १.९३ ट्रीलियन डलर हुन आउँछ । यस हिसाबले हेर्दा ताइवान विश्वको २१औँ सामथ्र्यवान मुलुकसमेत हो । ताइवानी नागरिकको प्रतिव्यक्ति आय ३५, ००० अमेरिकी डलर रहेको छ । यो उच्च– आयको दृष्टिले विश्वकै ३५औँ स्थानमा आउँछ । क्रयशक्तिको आधारमा हेर्दा ताइवानी नागरिकको स्थान १२औँ स्थानमा आउँछ । ताइवान शिक्षामा पनि अगाडि छ । यहाँका नागरिक ९९.१ प्रतिशत शिक्षित छन् । यसमा महिला तथा पुरुषको साक्षरता दर समान छ ।
ताइवानको हवाई, रेल तथा सडक यातायातको अवस्था विश्वमै राम्रो मानिन्छ । ताइवानमा थुप्रै विमानस्थल रहेका छन् । मेट्रो रेलको पनि राम्रो सुविधा छ । भूकम्पीय क्षेत्रमा रहेको छ ताइवान । यहाँका नागरिकले विश्वकै उन्नत जीवनशैली र स्वास्थ्य सुविधा उपभोग गर्दछन् । ताइवानको लोभलाग्दो संसार छ । एउटा देशको रुपमा ताइवान पूर्ण छ । आफैँमा आत्मनिर्भर र समृद्ध छ । जसरी चीनमा हान जातिका चिनियाँ वंशजका मानिस छन् । ताइवानको कथा पनि त्यही नै हो ।
ताइवान प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । यहाँका पार्क, सामुद्रीक तट, सुन्दर पहाड, ताल तथा स्वच्छ र सफा सहर हेर्न हरेक वर्ष १ करोड १० लाख पर्यटक घुम्न आउँछन । त्यसैले भन्न सकिन्छ ताइवान विश्वका सुन्दरतम देश मध्ये एक हो । ताइवान विश्वको सेमिकन्डक्टरको म्यानुफ्याक्चरिङ देश हो । माइक्रो चिप्सकै कारण ताइवान विश्वकै नजरअन्दाज गर्न नमिल्ने देश हो । यतिका उन्नत र सामथ्र्यशाली ताइवान भने आफैँमा सुरक्षित छैन । ताइवान आफैँमा स्वतन्त्र छैन । आफैँमा ढुक्क छैन । ताइवानले जुनसुकै बेला आफ्नो स्वतन्त्रता गुमाउन सक्छ । आफ्नो अस्तित्व मेटिएको हेर्न विवश हुनुपर्ने अवस्था आउन सक्छ ।
२) इतिहासमा ताइवानः
आजको विश्वभर कहलिएको ताइवान पूर्वी एशियाको महत्वपूर्ण चोकमा रहेको देश हो । ताइवान आफ्नो अवस्थितिको कारणले सदियौँदेखि व्यापारिक केन्द्र बन्दै आएको छ । हामी ताइवानको प्राचीन इतिहास खोतल्न तिर नलागौँ । सन् १६२४ देखि सन् १६६२ सम्म ताइवानको दक्षिणी भागमा डच इष्ट इन्डिया कम्पनिले आधिपत्य जमाएको थियो । सन् १६२६ देखि सन् १६४२ सम्म उत्तरी ताइवानमा स्पेनले आफ्नो उपनिवेश कायम गरेको थियो ।
सन् १६६२ मा मिङ राजवंशले ताइवानबाट विदेशी उपनिवेशकारीलाई लखेटेपछि सन् १६६२ देखि १६८३ सम्म ताइवानमा मिङ राजवंशको शासन कायम थियो । सन् १६८३ देखि सन् १८९५ सम्म ताइवानमा छिङ राजवंशले शासन गरे । लामो समयसम्म ताइवान चीनको एउटा हिस्सा रहेको थियो । सन् १८९५ देखि सन् १९४५ सम्म ताइवानमा जापानले आधिपत्य जमायो । द्वितीय विश्वयुद्धपछि भने ताइवान फेरी एकपटक चीनको नियन्त्रणमा आयो । यो क्रम लामो अवधि रहेन ।
सन् १९४९ मा चीनमा जनवादी क्रान्तिपछि भने कोमिन्ताङ पार्टीका नेता च्याङ काइसेक भागेर ताइवान गए र उनले ताइवानलाई केन्द्र बनाएर सत्ता चलाउन थाले । विश्वभर कम्युनिस्ट शासनको विरुद्वमा उभिएको अमेरिकाले च्याङ काइसेकको सरकारलाई वास्तविक चीनको मान्यता दियो । त्यति बेलादेखि नै ताइवान एउटा स्वतन्त्र राष्ट्रको रुपमा अस्तित्वमा कायम छ । झन्डै आठ दशकदेखि ताइवान चीनको मुटु दुखाइको कारण बनिरहेको छ ।
ताइवान एक समृद्ध देश हो । ताइवानको सैनिक संख्या दुई लाखभन्दा बढी रहेको छ । ताइवानसँग ४०–५० युद्ध पोत र ३ सयदेखि चार सयबढी फाइटर जेट विमान रहेका छन् । ताइवानसँग पन्डुब्बी छन् । ताइवानसँग आफ्नै उन्नत सेना छन् र सबैभन्दा महत्वपूर्ण कुरा उसको अस्तित्व कायम रहँदै आएको छ ।
३) द्वन्द्वको ऐतिहासिक पृष्ठभूमिः
चीन–ताइवान विवाद एशियाको एउटा पुरानो विवाद हो । चीन र ताइवानबीच लामो समयदेखि चलिरहेको राजनीतिक, सैन्य र कूटनीतिक विवाद हो ।
सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि, कम्युनिस्ट पार्टीले मुख्यभूमि चीनमा पिपुल्स रिपब्लिक अफ चाइना (पिआरसी) स्थापना ग¥यो । युद्धमा हार खाएका नेता चेङ काइसेक र उनको कोमिन्ताङ पार्टीका कार्यकर्ता ताइवान टापुमा गएर बसे र त्यहाँ उनिहरुले रिपब्लिक अफ चाइना नामको सरकार गठन गरे । लामो समयसम्म विश्वभर कुन चीनलाई आधिकारिक मान्यता दिने भन्ने विवाद उठिरह्यो ।
संयुक्त राज्य अमेरिका, बेलायत जस्ता देशले कोमिन्ताङ चीनलाई आधिकारिक चीनको मान्यता दिए । ताइवान चीनले नै संयुक्त राष्ट्र संघमा समेत स्थायी प्रतिनिधित्व पाएको थियो । शुरूवातमा धेरै देशले ताइवानलाई चीनको कानुनी सरकार मानेका थिए, तर पछि धेरै देशहरूले मुख्यभूमि चीनलाई नै आधिकारिक प्रतिनिधित्व गर्ने सरकारको रूपमा मान्न थाले । संयुक्त राष्ट्र संघको भिटोपावर अधिकार पनि ताइवानबाट चीनलाई दिइयो । विश्व रंगमंचमा यतिबेला चीन र ताइवानको महत्व ठूलो छ । चीन विश्व बजारको सबैभन्दा ठूलो औद्योगिक उत्पादन निर्यातक देश हो । ताइवान सबैभन्दा ठूलो सेमिकन्डक्टर निर्यातक देश हो ।
आज चीन अन्तर्राष्ट्रिय जगतको सबैभन्दा शक्तिशाली देश हो । ताइवानले पनि आफूलाई स्वतन्त्र देशजस्तै सञ्चालन गरिरहेको छ । ताइवानको आफ्नो संविधान छ । त्यहाँ नियमित रुपमा अद्यावधिक चुनाव हुन्छ । ताइवानको आफ्नै सेना छ । उसको आफ्नै विदेश नीति छ । उसको आफ्नै अर्थव्यवस्था छ । धेरै देशले चीनसँग कूटनीतिक सम्बन्ध राखेका छन् । अमेरिकाले पनि चीनसँग कुटनीतिक सम्बन्ध राखेको छ । तर उसले ताइवानलाई विशेष सुरक्षा र सहायता प्रदान गर्दै आएको छ ।
चीन–ताइवान विवाद इतिहास, राजनीति र शक्ति सन्तुलनको जटिल मिश्रण हो । चीन ताइवानलाई आफ्नो भाग मान्छ, ताइवान आफूलाई स्वतन्त्र देश मान्दछ । ताइवानको विषयलाई लिएर विश्व दुई खेमामा बाँडिएको छ । कुनै देश चीनको साथमा छन् भने केही देशले ताइवानको समर्थन गर्दछन् । ताइवान पहिले पनि चीनको हिस्सा थियो । धेरैले अब पनि चीनको हिस्सा भएको तर्क गर्छन् । निकै थोरै देशले मात्रै ताइवानको समर्थन गर्दछ्न् ।
४) ताइवान अमेरिकाको लागि किन विशेष छ ?
अमेरिका चाहँदैन कि चीन एशियामा हाबी होस् । अमेरिका चीनको सबैभन्दा दुख्ने घाउमा बारम्बार नुनचुक दलिरहेको हुन्छ । चीन विश्वकै उदीयमान देश हो । त्यति मात्रै होइन चीन भविष्यको महाशक्ति देश हो । चीनसँग भविष्यमा चाहेर होस् नचाहेर अमेरिकाको शक्ति संघर्ष हुने नै छ । यसको लागि अमेरिका भेटिएसम्मका विकल्प प्रयोग गर्न छुट छ उसलाई । त्यसैको एक कडी मान्न सकिन्छ ताइवानमा अमेरिकाको अभिरुचिलाई । अमेरिकाले चीनकै नाक मुनिको ताइवानलाई काखमा राखेर उक्साइरहेको छ ।
एशियामा ताइवानको लोभलाग्दो संसार छ । उनीहरु जति व्यवस्थित छन् त्योभन्दा कैयौँ गुणा असुरक्षामा छन् । ताइवानी नागरिकहरु भन्छन् होला, चीनले हामीले गरेको खाएको देख्न सक्दैन् भनेर । कुरा रिस डाहाभन्दा नि पर केही छ । चीन ताइवानलाई सन् १९४९ मा पु¥याउन चाहन्छ । उ ताइवानले बुझ्ने किसिमले भन्न चाहन्छ कि चीनको एउटा मिसन अधुरो छ । त्यो मिसन अरु केही होइन । त्यो मिसन हो ताइवानको चीनसँगको एकीकरणको । चियाङ काइसेक र माओत्से तुङले सँगसँगै जापानी साम्राज्यवादलाई परास्त गरे । एउटै मोर्चामा लडे । च्याङ काइसेक चीन छोडेर भाग्नु प¥यो । उनी फेरी चीन फर्किन्छु भनेर चीन छोडेर गएका थिए ।
इतिहास पढ्दा थाहा हुन्छ । माओ मरेर गए । उनले ताइवान जसरी पनि चीनमा गाभ्ने बताएर मरे । आज सि जिनपिङ चीनका रास्ट्रपति छन् । उनले माओकै बाटोबाट चीनको अधुरो सपना पूरा गर्ने अठोट लिएर हिँडेका छन् । चीनको आँखाबाट हेर्दा ताइवानलाई माफी दिनुपर्ने, छाड्नुपर्ने कुनै कारण नै छैन् । ताइवान हिजो पनि चीनको थियो आज पनि चीनको नै हो । सात समुन्द्र पारीको दुस्मनसँग घाँटी जोडेर ताइवानले आफ्नै रगत आफ्नै वंशको चीनलाई आफ्नै दाइभाईलाई पराई बनाएर दुस्मनसँग रमाएको छ । बसेको छ । हातेमालो गरेको छ ।
ताइवान चीनसँग नजिक भएको हुनाले त्यो क्षेत्र अमेरिकी सैन्य रणनीतिकताको हिसाबले महत्वपूर्ण छ । यदि चीनले ताइवानलाई नियन्त्रणमा लियो भने, त्यो अमेरिकाको एशिया–प्यासिफिक क्षेत्रमा प्रभाव घटाउने मुख्य कारण हुनेछ । अमेरिका र उसका मित्र राष्ट्रहरूले चीनलाई समुन्द्री विस्तारबाट रोक्न ताइवानलाई एउटा महत्वपूर्ण चौकीको रूपमा हेर्छन् । ताइवान कथंकदाचित चीनको नियन्त्रणमा गयो भने अमेरिकाको सुरक्षा गठबन्धनका देशहरु जापान, दक्षिण कोरिया र फिलिपिन्स कमजोर हुन्छन् ।
ताइवान विश्वको सबैभन्दा ठूलो सेमिकन्डक्टर (चिप) उत्पादक देश हो । ताइवानको कम्पनी टिएसएमसी (ताइवान सेमिकन्डक्टर म्यानुफेक्चरिङ कम्पनी)मा विश्वभरका धेरै टेक कम्पनीहरू निर्भर छन्, जसमा अमेरिका पनि पर्दछ । अमेरिकाको टेक उद्योग ताइवानको चिप टेक्नोलोजीमा भर परेको छ । चीनले ताइवान कब्जा गरे विश्वभर सेमिकन्डक्टरको सप्लाइ रोकिन्छ र एक किसिमले भन्नुपर्दा अमेरिकी कम्पनीहरु ठप्प हुनेछन् ।
ताइवानसँग सन् १९४९ मा अमेरिकाले सुरक्षा सन्धी गरेको छ । यो सन्धी अनुसार अमेरिकी कानुनले ताइवानलाई आत्मरक्षा गर्न सहयोग पु¥याउने वाचा गदर्छ । त्यसैले अमेरिका ताइवानलाई हतियार बेच्ने गर्छ र उस्को सुरक्षा क्षमतामा सहयोग पु¥याउँछ । ताइवान अमेरिकी लडाकु जेट र प्याट्रीयट मिसाइलको ठूलो खरिदकर्ता हो ।
५) ताइवान मामलालाई चीनले कसरी हेर्छ ?
चीन प्रष्ट छ, ताइवान चीनकै अविभाज्य हिस्सा हो । उसले ताइवानलाई पृथक राष्ट्रको रूपमा कहिल्यै मान्यता दिएको छैन् र कहिल्यै दिनेछैन् । चीनको विचारमा, संसारमा एउटा मात्र ‘चीन’ हुन्छ र ताइवान त्यसकै हिस्सा हो । त्यसैले चीन ताइवानको स्वतन्त्र राष्ट्रको अस्तित्व कहिल्यै स्विकार्दैन ।
चिनियाँ कम्युनिष्ट पार्टीको लामो समयदेखि रहेको लक्ष्य हो, ताइवानलाई ‘शान्तिपूर्ण’ तर आवश्यक परे ‘बल प्रयोग गरेर’ भएपनि चीनमा गाभ्नु । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको पुनःएकीकरणलाई ‘चीनको राष्ट्रिय महान पुनरुत्थान’को हिस्सा बताउँदै आएका छन् । त्यसैले चीनले अमेरिकाको ताइवानप्रतिको चासो र सैन्य तथा राजनीतिक सहयोगलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठान्दछ ।
जब अमेरिका ताइवानलाई हतियार दिन्छ वा अमेरिकी नेताहरू ताइवान भ्रमण गर्छन्, त्यतिबेला चीन निकै आक्रोशित हुन्छ र उसले यसको जवाफ स्वरूप ताइवानको सीमामा आफ्ना सैनिकसहित युद्धपोत र अन्य हतियारको सीमा अभ्यास धम्की दिन सक्छ । जब ताइवान मुद्धा चीन र अमेरिकाको कोर्टमा आउँछ । तब त्यो दुई देशको सम्बन्धको सबैभन्दा संवेदनशील विषय बनिदिन्छ ।
चीनले चेतावनी दिएको छ कि यदि ताइवानले आफूलाई पूर्ण स्वतन्त्र घोषणा गर्छ वा अमेरिकाले ताइवानमा अत्यधिक हस्तक्षेप गर्छ भने, त्यो ‘लाल रेखा पार गर्नु’ सरह हुनेछ र त्यसले युद्धको स्थिति पनि निम्त्याउन सक्छ । ताइवानले वैधानिक रुपमै अमेरिकी सैन्य अखडा राख्यो भनेपनि चीनले ताइवानमाथि सिधै हमला गर्न सक्छ ।
चीन औपचारिक रूपमा ताइवानलाई फिर्ता ल्याउन चाहन्छ, शान्तिपूर्ण रूपमा भए राम्रो, नत्र बल प्रयोग गरेर पनि । चीन चाहन्छ कि अमेरिका ताइवानको मामिलाबाट पछि हटोस् सैन्य सहायता नगरोस्, न त राजनीतिक समर्थन नै गरोस् । ताइवान उसको घरेलु मामला हो । चीन अन्य देशहरूलाई पनि ताइवानलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता नदिन दबाब दिन्छ । धेरै देशहरूले ‘एक चीन नीति’ स्वीकारे पनि व्यवहारमा ताइवानसँग सम्बन्ध राखिरहेका देखिन्छन् ।
ताइवानमा चीनले कसरी नियन्त्रण गर्छ त्यो चीनले बताएको छैन् । चीनले ताइवानलाई समुद्री र बायुयान यातायातबाट एक्ल्याउन सक्छ । चिनियाँ फौजले सिधै ताइवानमाथि धावा बोल्न सक्छ । चीनले ताइवानलाई लामो समयसम्म घेराबन्दी गरेर ताइवानलाई भोकमरीमा पु¥याउन सक्छ । चीनले बलपूर्वक ताइवानमा हैकम जमाउन खोज्यो भने चीनको पुरै अर्थबजारमा हलचल आउन सक्छ । आपूर्तीमा समस्या त आउँछ नै अमेरिकाजस्तो सुपरपावर देशसँग युद्धको जोखिम पनि बढ्न सक्छ । कुनैपनि घटनाहरु अकारण हुँदैन भनिन्छ । यस ब्रह्माण्डमा जतिपनि घटना हुन्छन् तिनका पछि कारण हुन्छन् । ताइवान मुद्धा पनि त्यस्तै एउटा घटनाक्रमको एउटा सानो बिन्दु हो जसका पछाडी अनेकौँ कारणहरु लुकेर बसेका छन् ।
अन्त्यमा ,
चीन ताइवानलाई चीनकै अविभाज्य भाग मान्दछ । उ आवश्यक परे जुनसुकै बेला शक्तिको प्रयोग गरेर भएपनि ताइवानको एकीकरण गरिने कुरामा ढुक्क छ । चीनले ताइवान जलडमरुमा नियमित रुपमा सैन्य अभ्यास गरेर आफ्नो सैन्य शक्ति पर्दशन गर्ने गरेको छ । उसले नौसेना जलसेना, वायुसेना र मिसाइल बलहरु समावेश गरेर ताइवानलाई घेर्ने अभ्यास पटकपटक गरेको छ । ताइवानले कथंकदाचित आफूलाई स्वतन्त्र मुलुकको रुपमा औपचारिक घोषणा ग¥यो भने चीनले सिधै ताइवानमाथि आक्रमण गर्न सक्छ । चीनले ताइवान एक न एक दिन जसरी पनि आफूमा गाभ्छ नै ।
अमेरिकाले कुनै बेला ताइवानलाई मुख्य चीनको रुपमा संयुक्त राष्ट्र संघमा सदस्यता समेत दिलाएको थियो । आज चीनले विश्व व्यापार कब्जा गरेको छ । उ विश्वकै निर्णायक शक्ति बनिसकेको छ । अमेरिका भने ताइवानलाई मोहोरा बनाएर चीनसँग व्यापार युद्ध लड्दै छ । ताइवान मुद्दा दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । ताइवान मुद्दाको किनारा पक्कैपनि सहज र सरल हुनेछैन् अमेरिका र चीन दुवैका लागि ।
प्रकाशित मिति : २०८२ वैशाख १२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्