सुर्खेतमा लागूऔषध कारोबारी र सेवनकर्ताको अवस्था भयावह



सुर्खेत: कर्णाली प्रदेशको सुर्खेतमा लागूऔषध प्रयोगकर्ता र कारोबारीको संख्या निरन्तर बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैनिक कम्तिमा २ जनालाई लागूऔषधसम्बन्धी मुद्दाअन्तर्गत नियन्त्रणमा लिने गरिएको छ ।तथ्यांक हेर्दा जिल्ला प्रहरी कार्यालयले दैनिक कम्तिमा एउटा लागूऔषधसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गराइरहेको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगमा सबैभन्दा बढी लागूऔषध सेवनकर्ताको रहेको तथ्यांकले देखाउँछ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी विरेन्द्रवीर विश्वकर्माका अनुसार वीरेन्द्रनगरको वडा नम्बर–४ लागूऔषधको हबको रूपमा देखा परेको छ भने यो बाहेक नगरपालिकाका वडा नं. १०, ११ र १२ नम्बर पनि अति प्रभावित क्षेत्र हुन् । चालू आर्थिक वर्षमा वडा नम्बर ४ बाट १२ जना, ११ बाट ११ जना, १२ बाट ८ जना, १० बाट ७ जना पक्राउ परेका छन् ।

यस्तै, वडा नम्बर ८ बाट ४ जना, ६ बाट ४ जना, ३ बाट ४ जना, ५ बाट ३ जना, ७ बाट ३ जना, वडा नम्बर १४ बाट एक एक जना पक्राउ परेका छन् । चालू आर्थिक वर्षमा १८ वर्षमुनिका १ जना, १८ देखि २५ वर्षसम्मका ४७ जना, २५ देखि ३५ वर्षसम्मका ४३ जना पक्राउ पर्दा ३५ देखि ४५ वर्षसम्म १९, ४५ देखि ५५ सम्म एक जना र ६५ वर्षमाथिका एक जनागरी ११२ जना पक्राउ परेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० मा लागूऔषधसम्बन्धी ८८ मुद्दा दर्ता भएकोमा १४८ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा ७४ मुद्दामा १०९ जना पक्राउ परेका थिए भने चालू आर्थिक वर्षको हालसम्म ७३ मुद्दा दर्ता भइसकेका छन् । यी मुद्दामा ११२ जना पक्राउ पर्दा तीमध्ये ७ जना महिला र १ बालबालिका रहेको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ ।
वीरेन्द्रनगरमा लागूऔषधमध्ये सबैभन्दा बढी प्रयोगकर्ता ब्राउनसुगरका रहेका छन् ।

त्यसका अलावा मेडिकलमा पाइने नाईट्राजन, ट्रामाडोल लिने र सेवन गर्नेहरूको संख्या बढी रहेको पाइएको हो । डीएसपी विश्वकर्माका अनुसार वीरेन्द्रनगरमा गाँजा सेवनकर्ता भने कम मात्रामा भेटिने गरेका छन् । प्रहरी अनुसन्धानका क्रममा लागूऔषध भारतको रुपैडिया र बर्दियाको सीमामा पर्ने बलरामपुरबाट सुर्खेत भित्रिने गरेको पाइएको छ ।लागूऔषध सुर्खेत ल्याउन सजिलो र बढी रुपैयाँ पाउने लोभका कारण पनि युवाहरू यो जोखिममा पर्दै गइरहेको पाइएको हो । डीएसपी विश्वकर्माले सुर्खेतमा लागूऔषध नियन्त्रण गर्ने हो भने फार्मेसीको सरोकारवाला निकायले निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए । प्रहरीले अहिलेसम्म २ वटा फार्मेसीलाई मुद्दा चलाएको छ भने एउटा फार्मेसीबाट मात्रै ४ हजार ८०० ओटा ट्रामाडोलका गोली बरामद गरिएको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई फार्मेसीमा छापा मार्ने अधिकार नभएका कारण समस्या भएको हो । सरोकारवाला निकायले अनुगमन गरिदिएको खण्डमा फार्मेसीबाट अवैध रूपमा वितरीत हुने ती औषधिलाई नियन्त्रण गर्न सकिने र त्यसबाट लागूऔषध सेवनकर्ताको संख्यालाई कम गर्न सकिने उल्लेख छ । लागूऔषध नियन्त्रण गर्ने जिम्मा प्रहरीको मात्रै नभएको बताउँदै सबैले यसबारे गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।
सुधार केन्द्रमा १८० बढी सेवनकर्ता 
गत साउन ६ गते दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित हुलाक टोलमा कोठाभाडा लिई बस्ने नेपालगन्ज उपमहानगरपालिका–१५ हालविनका अन्दाजी २७ वर्षीय ‘वुद्धपथ ए’ (नाम परिवर्तन)लाई २५ ग्राम २९० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले उनलाई कानुन बमोजिम कारवाही गर्न भनेर सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता ग¥यो ।
प्रहरीको प्रतिवेदनअनुसार उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइदियो । उनी लागूऔषध कारोबारी थिए । उनले भारतको रुपैडियालगायत स्थानबाट लागूऔषध सुर्खेतमा ल्याउने र कारोबार गर्ने गर्दथे । यसअघि पनि उनी प्रहरीको हिरासतमा बसिसकेका थिए ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ त्रिभुवनचोक, (हाल विरेन्द्रनगर–१०) बस्ने अन्दाजी २९ वर्षकी नेपालगन्ज २९ (नाम परिवर्तन)लाई प्रहरीले रंगशाला क्षेत्रबाट गत पुस ७ गते पक्राउ गरेको थियो । खानतलासी गर्दा प्रहरीले उनको साथबाट ९ ग्राम २१० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । उनी पनि लागूऔषध कारोबारी थिइन् । यसअघि पनि उनलाई प्रहरीले ब्राउनसुगरसहित बारम्बार नियन्त्रणमा लिएको थियो । यसपटक प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ गरेको भन्दै जिल्ला अदालतमा आवश्यक कारबाहीका लागि भन्दै मुद्दा दर्ता ग¥यो । जिल्ला अदालतले उनलाई हाल पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको छ ।

यी दुई उदाहरण मात्रै हुन् । वीरेन्द्रनगरमा रहेका विभिन्न सुधार केन्द्रमा अहिले १८० भन्दा बढी लागूऔषध सेवनकर्ता रहेका छन् । भैरव युवा सशक्तीकरण केन्द्रका सञ्चालक ललित भट्टराईले दैनिकजसो लागू पदार्थ सेवनकर्ताहरू आउने जाने गरिरहेको बताए । उनका अनुसार १८ वर्षदेखि ४५ वर्षसम्मका युवाहरू सुधार केन्द्रमा आइरहेका छन् । यो संख्याको दश प्रतिशत युवाहरू बारम्बार आउने गरेका छन् । अहिले उपचार सशुल्क भएका कारण उपचार पाउनुपर्ने मान्छेले उपचार नपाएको उनले बताए ।
‘सबैसँग पैसा नभएका कारण उपचारमा समस्या भएको छ । संविधानमा स्वास्थ्य अधिकार लेखिएको तर कार्यान्वयन भएको छैन,’ उनले भने, ‘उपचार नपाएको खण्डमा ऊसँग ड्रग्स खाने पैसा पनि हुँदैन । त्यसपछि ऊ सामाजिक अपराधमा लाग्ने, अरूलाई सिकाउने र अरू १० जना समूहमा ल्याउने काममा लाग्छ ।’
जनचेतना फैलाउँदै वीरेन्द्रनगर
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गरेर हरेक वडामा, विद्यालयमा दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको बताइन् । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगरमा स्थायीभन्दा पनि अस्थायी जनसंख्या बढी छ । राजधानी शहर भएका कारण यहाँ वीरेन्द्रनगरलाई ट्रान्जिट बनाई अन्य जिल्लामा आउने जानेहरूको संख्या पनि धेरै रहेको उनी बताउँछिन् ।
उनले भनिन्, ‘त्यसलाई हामी नगरपालिका एक्लैले मात्रै नियन्त्रण गर्न सक्ने अवस्था छैन । सुरक्षित शहर निर्माण गर्ने हाम्रो सोच छ । त्यो सोचलाई पूर्ण गर्न सबैको सहकार्य गर्न आवश्यक छ । कसैले लागूऔषधको कारोबार गर्दैछ वा सेवन गरिरहेको छ भने सम्बन्धित निकायलाई खबर गरिदिएको खण्डमा यसलाई नियन्त्रण गर्न सकिन्छ । यसमा सबै मिलेर हातेमालो गरौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार