कोहलपुरमा सुनचाँदी गहना निर्माण तालिम सुरू



कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सुनचाँदी गहना निर्माणसम्बन्धी आधारभूत तालिम सुरू भएको छ । मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघको आयोजनामा सुनचाँदी गहना निर्माणसम्बन्धी आधारभूत तालिम सुरू भएको हो । तालिमको सोमबार एक कायर्यक्रमका बीच कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरेका थिए ।
नगर प्रमुख आचार्यले बेरोजगारी सबैभन्दा ठूलो समस्या रहेको भन्दै संघको आग्रहमा कालिगड बनाउने उद्देश्यले नगरपालिकाले सहयोग गरेको बताए । रोजगार र आत्मनिर्भर बन्नका लागि सीप र ज्ञान आवश्यक रहेको नगर प्रमुख आचार्यले बताए । ‘नगरपालिकाले मागमा आधारित तालिमका लागि आह्वान गर्दा युवाले प्लम्बिङ र इलेक्ट्रिसियन र महिलाले ब्युटीसियन र सिलाइकटाईको मात्रै तालिम माग गरेका थिए । तर अन्य धेरै तालिम छन् । नगरपालिकाले दिइरहेको छ । गहना निर्माण तालिमबाट प्रतिफल निस्कियो भने आगामी दिनमा निरन्तरता दिनेछौँ,’ नगर प्रमुख आचार्यले भने ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य देवीलाल सुनारले तालिमको औचित्यबारे प्रष्ट पार्दै स्थानीय सरकारको सहयोगमा पश्चिम क्षेत्रमा पहिलोपटक तालिम प्रदान गरिएको बताए । उनका अनुसार तालिमबाट दक्ष युवा कालिगड उत्पादन हुनेछन् । स्वदेशमै केही गरौँ भन्ने सोच भएका युवाहरूलाई सीपयुक्त बनाउन र स्वरोजगार बन्नका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । ‘हामी राज्यलाई धेरै कर तिर्छौँ । राज्यले हाम्रो पक्षमा ३५ वर्षदेखि माग गर्दासमेत नियमावली जारी गर्न सकेको छैन् । हाम्रो पेसालाई राज्यले अझैँ राम्रो नजरले हेरेको छैन् ।’ उनले भने ।
कोहलपुरमा एक सयजना भन्दा बढी व्यवसायी रहेको भन्दै स्थानीय सरकारले सुनचाँदीसम्बन्धी नीति बनाइदिनुपर्ने अध्यक्ष सुनारले माग गरे । मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघका सल्लाहकार बुद्ध सुनारले स्थानीय सरकारले कालिगड उत्पादन गर्नका लागि सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरे । तालिममा सहभागीहरूलाई सीप सिकेर आत्मनिर्भर बन्न सल्लाहकार सुनारले आग्रह गरेका थिए ।

संघर्ष दलित महिला सहकारी संस्थाका व्यवस्थापक एवम् प्रबन्धक तुल्सी सुनारले व्यवसाय सुरू गर्नका लागि सहकारी सबैको साथमन रहेको बताइन् । उनले परम्परागत पेसालाई संरक्षण गरेर नयाँ पुस्तालाई पुस्तान्तरण गर्न आवश्यक रहेको बताइन् । दलित सेवा संघका केन्द्रीय महासचिव कृष्ण विकले दलित समुदाय हिजोका दिनमा पेसा गरेकाले विभेद सहनु परेको र अहिले उक्त पेसा छोडेका कारण अपमानित हुनु परेकोले आफ्नो समुदायको सीप र पेसालाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघका उपाध्यक्ष गोविन्द विकले स्वागत मन्तव्य राखेका थिए । कोहलपुर नगरपालिका बाँकेको आर्थिक सहयोगमा सञ्चालित तालिममा दश जना युवा सहभागी छन् । सहभागीहरूलाई प्रशिक्षक शंकरविर विकले प्रशिक्षण गराउनेछन् । मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघका अध्यक्ष मानबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार