डडेल्धुराबाट सुरु भयो ‘रमसिला तेल’को उत्पादन



डडेल्धुरा ।

फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड डडेल्धुराले उत्पादन गरेको ‘रमसिला तेल’ औपचारिक रूपमा बजारमा ल्याइएको छ । कम्पनीको पाँचौँ वार्षिक साधारण सभाको अवसर पारेर तेलको उत्पादन तथा बजारीकरण सुरु गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विरबहादुर थापाले उद्योग उद्घाटन गर्दै तेलको बजारीकरण शुभारम्भ गरेका थिए । कम्पनी सञ्चालक समितिका अध्यक्ष धर्मसिंह ऐरका अनुसार ‘रमसिला तेल’ उच्च गुणस्तरयुक्त तथा स्वास्थ्यका लागि लाभदायक रहेको छ ।

यो उद्योग सुदूरपश्चिम प्रदेशका नागरिकहरूको मुख्य लगानीमा स्थापित पहिलो खाने तेल उत्पादक कम्पनी हो । स्थानीय स्रोत तथा कच्चा पदार्थको अधिकतम उपयोग गर्दै उत्पादन बजारमा ल्याउने लक्ष्य राखिएको छ । फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडका संस्थापक अध्यक्ष डा. तारा जोशीले तेलसँगै सोयाबिन उत्पादन तथा बिक्री पनि सुरु गरिएको जानकारी दिए । उनले भने, ‘तेल उत्पादन गरेर बजारमा पु¥याउनु यहाँका जनताको एक सपना पूरा हुनु हो । अहिले भटमासबाट तेल र सोयाबिन उत्पादन गरेर बजारमा पठाएका छौं ।’

छिट्टै डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न बजारमा तेल उपलब्ध गराउने योजना कम्पनीले बताएको छ । यस उत्पादनले स्थानीय किसानलाई प्रत्यक्ष रूपमा आर्थिक लाभ पु¥याउने अपेक्षा गरिएको छ । ‘रमसिला तेल’ नाम ऐतिहासिक रमसिला धाराबाट प्रेरित भएर राखिएको हो, जुन आलिताल गाउँपालिकामा अवस्थित छ ।

२०७६ सालमा दर्ता भएको यो कम्पनी ७७७ जना शेयर सदस्य र एक हजारभन्दा बढी भटमास उत्पादक कृषकहरूको सहकार्यमा सञ्चालन गरिएको छ । कम्पनी स्थापनाका क्रममा जग्गा खरिददेखि भवन तथा मेसिन खरिदसम्मको नेतृत्व सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका डाक्टर जोशीले गरेका थिए । निरन्तरको प्रयासपछि पाँच वर्षभित्र तेल उत्पादन गरी बजारमा ल्याइएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार