फोहोरलाई मोहोरमा बदल्ने काम सुरु



जुम्ला ।

जुम्लाको चन्दननाथ नगरपालिकाले प्लास्टिक र सिसाजन्य फोहोर प्रशोधन गर्न थालेको छ । नगरभित्र निस्कने फोहोरजन्य बस्तुलाई पुनः प्रयोगमा ल्याएर मोहोरमा बदल्ने काम सुचारु गरेको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुुसार नगरभित्र संकलित प्लास्टिक र सिसाजन्य फोहोर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरी मोहोरमा बदल्ने काम सुरु भएको हो ।

नगरपालिकाले सिसा र प्लास्टिकजन्य फोहोरको वास्तविक अवस्था अध्ययन गर्न २०८१ पुस १४ देखि १८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो । प्रारम्भिक प्रतिवेदनका आधारमा नगरका होटल, कार्यालय, स्वास्थ्य संस्था, व्यवसायिक स्थल, धार्मिक स्थल, विद्यालय र घरधुरी गरी १६० वटा स्थानबाट फोहोर संकलन गरिएको थियो । नगरका कुल फोहोरमध्ये ७९ प्रतिशत घरधुरीबाट, ९ प्रतिशत स्वास्थ्य संस्थाबाट, ७ प्रतिशत धार्मिक स्थलबाट र ५ प्रतिशत व्यापारिक क्षेत्रबाट फोहोर निस्कने गरेको तथ्य फेला परेको छ ।

प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले नगरपालिकाको शहरी क्षेत्रमा रहेका घरधुरीबाट दैनिक औसत १ केजी फोहोर उत्पादन हुने तथ्य फेला परेको बताए । दैनिक ६ देखि ८ टन फोहोर उत्पादन हुने नगरपालिकामा १६ प्रतिशत फोहोर प्लास्टिकजन्य रहेको उनको भनाइ छ । नगरपालिकाले वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र प्लास्टिक र सिसाजन्य बस्तु पुनः प्रयोग गर्नका लागि ८ लाख ९८ हजार ३५० रुपैयाँ लागतमा उपकरण खरिद गरेको छ । गत पुस पहिलो साता अपरेटर तालिम प्रदान गरिएको थियो । तालिम पश्चात २ जना अपरेटरले नियमित रूपमा उपकरण सञ्चालनमा ल्याएको नगरपालिका नगर प्रमुख राजुसिंह कठायतले बताए ।

उनका अनुसार नगरभित्रको फोहोर व्यवस्थापन गर्न निकै कठिनाइ भोग्नु परेको थियो । नगरमा बढ्दै गएको फोहोरको उचित व्यवस्थापन गर्न विभिन्न ठाउँमा धाउनु परेको अवस्थामा महावीर पुनसँगको परामर्शपछि प्लास्टिक टुक्र्याउने मेसिन जिल्लामा ल्याउन सफल भएको नगर प्रमुख कठायतको भनाइ छ । ‘नगरबासीलाई फोहोरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न आग्रह छ । घरभित्रका फोहोरलाई बाहिर निकाल्नुुहोस् । नगरपालिकाले त्यसलाई पुुनः प्रयोग गर्नेेछ’, उनले भने, ‘प्लास्टिकजन्य फोहोरलाई कम्प्याक्ट बीम बनाएर थोरै ठाउँमा राख्न सकिने छ भने फर्निचर तथा अन्य पुनः प्रयोग योग्य सामग्री बनाउन सकिनेछ ।’

प्लास्टिकजन्य फोहोरबाट हुने वातावरणीय प्रदूषणका विषयमा नगरबासीलाई सचेत बनाउने लक्ष्य रहेको नगर उपप्रमुख रामदेवी खड्काले बताइन् । ‘उपकरण सञ्चालनमा केही चूनौती पनि देखिएका छन् । उपकरण सञ्चालन तथा मर्मत खर्चिलो छ’, उनले भनिन्, ‘मर्मतका आवश्यक सामग्री जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यसले गर्दा नियमिततामा कठिनाइ हुुनसक्छ ।’

फोहोरमैला व्यवस्थापन शाखा प्रमुख लक्ष्मी चन्द्र न्यौपानेले नगरपालिकाले फोहोर व्यवस्थापनमा ठूलो लगानी गरेपनि राजस्व संकलनमा चूनौती रहेको बताए । नगरपालिकाले लगानी र सेवा प्रभावकारी बनाइरहे पनि उठ्नुपर्ने राजस्व संकलन गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । उनका अनुुसार अब प्लास्टिक र सिसाजन्य फोहोरको संकलन र व्यवस्थापनलाई व्यवस्थित गर्न कार्यविधि आवश्यक देखिएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्म फोहोर व्यवस्थापनबाट २ लाख ५१ हजार ६ सय राजस्व संकलन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार