बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि ७ हजार रूख काटिदै



श्यामलाल पोखरेल । बुटवल ।

बुटवल–गोरुसिङ्गे सडक ६२ वर्षपछि विस्तार हुन थालेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडक खण्ड विस्तारका लागि अहिले सडक छेउका रूखहरू धमाधम काटिदै छन् । बुटवल–गोरुसिङ्गे सडक खण्ड निर्माणको क्रममा सडकको मापदण्ड भित्रका करिब ७ हजार रूख काटिने बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका प्रमुख कुशलता न्यौपानेले मिसन टुडेलाई जानकारी गराइन् । एउटा रूख ढाले बापत १० वटा रूख रोप्ने सर्तअनुसार सडक आयोजनाले करिब ७० हजार रूख रोप्ने बताएको छ ।

सडक विस्तारका लागि पहिला सडक छेउको क्षेत्र खाली गर्नुपर्ने भएकाले केही दिन यतादेखि रूख ढाल्ने काम सुरु गरिएको हो । सडक विस्तारको क्रमसँगै चार वटा पुल बनाउने काम भैरहेको र विद्युत्का पोलहरू सार्ने कामपनि भैरहेको सडक आयोजना कार्यालय बुटवलले बताएको छ । बुटवलदेखि गोरुसिङ्गेसम्म विस्तार गरिने सडक खण्डमा पर्ने रूपन्देहीको सैनामैना नगरपालिका सालझन्डी, बाँसगढी र रामपुर क्षेत्रका धेरैजसो रूख काटिएका छन् । सडक विभागको अनुमतिमा रूख काट्न सुरु गरिएको हो । पुस्तौँ अघिका पुराना पिपल, बर, स्वामी, सिमल जस्ता सित्तलता दिने थुप्रै सडक छेउका रूखहरू कटान गरिएको हो ।

सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्रीहरू ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, पुल बनाउने र अन्डरपास हुने स्थानको पुनः माटो परीक्षण गर्ने लगायतका काम पहिलो चरणमा सकिएको आयोजनाले बताएको छ । बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडक विस्तार गर्दा पुरानो पिच नभत्काइकन काम गर्ने गरी आयोजनाले आफ्नो तयारी थालेको छ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तार निर्माणका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रूपैयाँमा यही २०८१ असार १३ गते ठेक्का सम्झौता गरेका हुन् । सम्झौता भएको मितिले ३ वर्ष अर्थात ०८४ असार १३ गते नै सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

सडक आयोजना बुटवल कार्यालयले दिएको जानकारी अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५-२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । सडकमा गाडी गुडाउन मिल्ने छ वटा ‘अन्डर पास’, पैदल यात्रुका लागि १२ वटा ‘अन्डर पास’ र ११ वटा ‘ओभरहेड ब्रिज’, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा ‘अन्डर पास’ बन्ने छन् ।

गत माघ १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलको माध्यमबााट बुटवल– गोरुसिङ्गे सडकको शिलन्यास गरेका थिए । लामो समयदेखि बुटवल–नारायणगढ सडक विस्तार हुन नसक्दा ठूलो सास्ती भोग्दै आएका नागरिकले बुटवल–गोरुसिङ्गे सडकको अवस्था पनि उस्तै हुने हो कि भन्ने चिन्तामा छन् । बुटवल–नारायणगढ सडक समयमा विस्तार हुन नसक्दा सडक यात्री तथा नागरिकले ठूलो सास्ती भोगेर यात्रा गर्न बाध्य छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ३ गते आइतबार