प्रतिबन्धित औषधिसहित २ जना पक्राउ



जुम्ला ।

जिल्लामा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ परेका छन् । फार्मेसी तथा मेडिकलमा बेच्न नपाइने प्रतिबन्धित औषधिसहित २ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) छेदीलाल कामतीले प्रतिबन्धित औषधिसहित चन्दननाथ नगरपालिका–५ जुगाडखोला नजिकबाट फागुन २० गते २ युवालाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–१ का २२ वर्षीय युवक लक्की परियार र २२ वर्षीय प्रविन परियार रहेका छन् । उनीहरूलाई खानतलासी गर्दा प्रतिबन्धित औषधी भेटिएको हो । उनीहरूबाट ४० वटा क्याप्सुल औषधी प्रहरीले बरामद गरेको छ । जुम्लामा पछिल्लो समय लागूऔषध प्रयोगकर्ता युवासँग प्रतिबन्धित औषधी भेटिन थालेको हो । यो औषधी मेडिकलले बेचिरहेको हो कि ? बाहिरबाट नै आएको हो भन्नेबारेमा अनुुसन्धान भइरहेको छ ।

यसैबीच फागुन १८ गते चन्दननाथ नगरपालिका–७ खलाचौरस्थित भाइरल पुल नजिक सडक खण्डमा लागूऔषध ब्राउनसुगर सेवनकर्ता र कारोबारीहरू रहेको भन्ने सूचना पाएपछि उक्त ठाउँबाट चन्दननाथ ७ बस्ने २८ वर्षीय शर्पराज रावललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले रावलको साथबाट १५० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २३ गते शुक्रबार