कोहलपुरमा ४ सय ४२ जनाको आँखाको शल्यक्रिया



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालन गरिएको आँखा शिविरमा ४ सय ४२ जना नागरिकको आँखाको सफल शल्यक्रिया गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ४ सय ४२ जनाको आँखाको शल्यक्रिया गरिएको हो । मोतियाबिन्दु र मासु पलाएका आँखाका बिरामीहरूको अत्याधुनिक तरिकाबाट शल्यक्रिया गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । तिलगंगा आँखा अस्पतालसँगको सहकार्यलाई निरन्तरता दिने बताउँदै अस्पतालले गरेको सहयोग प्रति उनले धन्यवाद ज्ञापन गरे ।

शिविरमा छुटेका आँखा रोगीहरूको लागि ६ महिना पछि पुनः नगर अस्पतालमा शिविर सञ्चालन गरिने उनले जानकारी दिए । उनले डाक्टरहरूको सुझाव अनुसार आँखाको ख्याल र खानपानमा ध्यान दिन आँखाका बिरामीहरूलाई आग्रह गरे । नगरपालिका भित्र रहेका ४ हजार जनालाई स्क्रिनिङ गरेको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए । नगरपालिका भित्र रहेका आर्थिक रूपमा विपन्न नागरिकलाई निःशुल्क स्क्रिनिङसहित शल्यक्रिया सेवा प्रदान गरिएको उनले बताए ।

तिलगंगा अस्पतालसँग अनुरोध गरेर सम्झौता भइ आँखाको विशेषज्ञ उपचार सेवा दिन सफल भएको सामाजिक विकास समिति संयोजक इश्वरीप्रसाद विश्वकर्माले बताए । नगरपालिका भित्र रहेका सबै वडाका नागरिकहरू उत्साहित भएर प्रभावकारी रूपमा शिविर सम्पन्न भएको जानकारी दिए ।

डा.सन्दुक रुइतका छोरा डा.सागर रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँका प्राविधिक र अन्य स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए । डा.रुइतले ४ सय ४२ जना वृद्धवृद्धाका आँखाको शल्यक्रिया गरेका थिए ।
आँखा शिविरमा अन्य गाउँपालिकाका नागरिकले समेत सेवा लिएका थिए । ९ गतेबाट सुरु भएको शिविर मंगलबार सम्पन्न भएको हो । तिलगंगा अस्पतालका प्राविधिकहरूलाई धन्यवाद ज्ञापन गर्दै बिदाइसमेत गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार