क्यान्सरको जोखिम कम गर्ने प्रयासमा खजुरा



 बाँके ।

सर्वसाधारणलाई क्यान्सर रोगको जोखिमबाट बचाउन खजुरा गाउँपालिकाले स्वास्थ्य शिविर जस्ता गतिविधिलाई अगाडि बढाएको छ । मंगलवार वडा नम्बर –६ स्थित पुरैनामा स्त्रीरोग विशेषज्ञ सहितको स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरको उद्घाटन गर्दै पालिका प्रमुख डम्बरबहादुर बिक ‘तुफान’ले आमनागरिकलाई नसर्ने क्यान्सरजस्ता रोगबाट जोगाउन पालिकाले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको बताए ।

उनले क्यान्सर रोगले निम्त्याउने जटिलता नेपाली समाजका लागि निकै चुनौतीपूर्ण रहेको बताउँदै पालिकास्तरबाट हुने सहयोग आमनागरिकलाई गर्ने कार्य गरिरहेको उल्लेख गरे । उद्घाटन कार्यक्रममा उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, वरिष्ठ चिकित्सक डा.कल्पना थापा लगायतले बोलेका थिए । सामाजिक विकास संयोजक कृष्णाकुमारी पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

शिविरमा १ सय ६५ जनाले सेवा लिएका थिए । ती मध्ये ८७ जनाको भिआइए परिक्षण गर्दा १७ जनामा शंकास्पद क्यान्सर देखिएको स्वास्थ शाखा प्रमुख लक्ष्मी केसी ओलीले बताइन् । उनका अनुसार मधुमेह १८ जना, हाइपरटेन्सन १५ जना, मृगौलासम्बन्धी समस्या १ जना स्वासप्रस्वास (दम) समस्या १० जनामा भेटिएको छ । खजुरा गाउँपालिकाले नसर्ने रोगहरूको पहिचानको लागि एक महिने अभियान सञ्चालन गरिरहेको छ ।

फागुनको महिना जनचेतनामूलक क्रियाकलाप तथा स्क्रिनिङको महिनाको रुपमा मनाउन सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीले जानकारी दिइन् । स्थानीय तहको समन्वयमा क्रियाकलाप सञ्चालन हुने उनले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार