खजुरा (बाँके) ।
स्थानीय पाठ्यक्रममा आधारीत स्थानीय पाठ्यपुस्तकको लागि सूचना संकलन सम्बन्धी कार्यशाला बाँकेको खजुरामा सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजनामा भएको कार्यशालामा खजुराले निर्माण गर्ने स्थानीय पाठ्यपुस्तक ‘हाम्रो खजुरा’ लाई आगामी शैक्षिक सत्रमा विद्यार्थीहरूलाई उपलब्ध गराउने योजनासहित कार्यशाला गरिएको हो ।
खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत कार्यक्रम अनुसार कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माणका लागि सूचना संकलन सम्बन्धी कार्यशाला गोष्ठी जनता नमुना माविको सभाहलमा गरिएको थियो । पालिकाको शैक्षिक सत्र २०७९ देखि लागु हुनेगरी स्थानीय पाठ्यक्रम निर्माण गरेता पनि पाठ्यपुस्तक निर्माण गर्न सकिएको थिएन ।
पाठ्यपुस्तक निर्माण गर्नका लागि पालिकाले हाल १५ लाख बजेट समेत छुट्टाएको छ । यसको सिआरसी निर्माण गर्नका लागि चैत्र मसान्त कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यक्रम निर्माण गर्न सूचना संकलनका लागि खजुराको १ नम्बरदेखि ८ नम्बर वडासम्म चारवटा समूह र त्यसको टोली नेताहरू निर्माण गरिसकिएको छ ।
यस्तै यसका लागि विशेषज्ञ टोलीसमेत छनोट गरिएका छन् । पिपुल्स सर्भिस प्रालि काठमाडौँका विशेषज्ञ टोलीले पाठ्यक्रम निर्माणका लागि सहजीकरण गर्ने शिक्षा शाखाले जनाएको छ । यसका लागि लेखन समूह पनि गठन गरिएको छ । खजुरामा यसअघि स्थानीय पाठ्यक्रम बनेता पनि पाठ्यपुस्तकहरू तयार नबनेका कारण बालबालिकाहरूले पढ्न पाएका छैनन् ।
‘हाम्रो खजुरा’ नामक पुस्तक बनेर नआउँदा विद्यार्थीले पढेर पाउनुपर्ने अंक पाउन सकेका छैनन् । स्थानीय पाठ्यक्रम नहुँदा विद्यार्थीहरू ‘नन ग्रेडेड’ अवस्थामा रहेको शिक्षा शाखाले जनाएको छ । पाठ्यपुस्तक निर्माणलाई पालिकाले पहिलो प्राथमिकताका रूपमा अघि सारेको जनाएको छ । यसका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता पनि भइसकेको शिक्षा शाखाले जनाएको छ ।
शैक्षिक सत्र २०८२ देखि खजुराका विद्यार्थीहरूका हात हातमा स्थानीय पाठ्यक्रम ‘हाम्रो खजुरा’ पुग्ने शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । विद्यार्थीहरूलाई नयाँ शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रम उपलब्ध गराइसक्ने गरी तयारी तीव्र रूपमा थालिएको खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले बताए । स्थानीय पाठ्यक्रममा खजुराको भौगोलिक अवस्था, ऐतिहासिक, शैक्षिक, स्वास्थ्य, आर्थिक, वातावरणीय अवस्था, प्राकृतिक कुराहरू लगायतका विषयवस्तु समेटिने छन् ।
यसैका लागि वडागत रूपमा सूचनाहरू संकलन गर्न संकलनकर्ता खटाइसकेको शिक्षा शाखा प्रमुख मल्लले जनाए । कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, पिपल्स सर्भिस प्रालि काठमाडौँका स्रोत व्यक्ति बद्रीप्रसाद दाहाल, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, बुद्धिजीवि, राजनीतिज्ञ, समाजसेवी पत्रकार लगायतको उपस्थिति थियो ।









प्रतिक्रिया दिनुहोस्