‘मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स’ नेपालगन्ज अडिसनको तयारी पूरा



नेपालगन्ज ।

नेपालकै सर्वाधिक पुरस्कार राशी भएको टिभी रियालिटी सो ‘मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स’ सिजन–२ को नेपालगन्जमा अडिसन हुँदैछ । आगामी फागुन २० र २१ गते नेपालगन्जमा हुने अडिसनको अन्तिम तयारी पूरा भएको छ । नेपालगन्ज–१८ स्थित सगरमाथा इंग्लिस बोर्डिङ्ग स्कुल कारकाँदोमा दुई दिनसम्म सञ्चालन हुने अडिसनको सम्पूर्ण तयारी पूरा भएको मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स पश्चिम संयोजक तिलक गाउँलेले जानकारी दिए । अडिसन हुने स्थानमा आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

नेपालका विभिन्न ४ स्थानमा मात्र हुने अडिसनमध्ये लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका कलाकारहरूलाई लक्षित गरेर नेपालगन्जमा अडिसन हुन लागेको संयोजक गाउँलेले बताए । अडिसनका लागि युनिभर्सका क्रिउ मेम्बर र निर्णायकहरू नेपालगन्ज आइसकेका छन् ।

इन्ट्रा–नेशनल वेलफेयर अमेरिकाको आयोजनामा हुन गइरहेको अडिसनमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका १ हजार बढी कलाकारकारहरू अडिसनमा सहभागी हुने अडिसनका सह–संयोजक दिपेन्द्र केसीले बताए । ‘नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भएपनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास भएकाहरू यसमा सहभागी हुनेछन् । कलाकारिता क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने रुचि भएकाहरू सहभागी हुने गरेका छन् । कलाकारितामा भविष्य खोजिरहेका र नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी उपयुक्त प्लेटफर्म हुन् ।’ केसीले भने ।

सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सम्पन्न भइसकेको छ । मेरो भ्वाइस युनिभर्स सिजन–२ को लागि वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त निर्णायक (जज) को भूमिकामा रहनेछन् । मेरो डान्स युनिभर्स सिजन–२ को निर्णायकहरूमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरू शंकर बिसी, कविराज गहतराज र किरण थापा रहेका छन् । दोस्रो संस्करणका लागि युरोप महादेशमा वेलायत र पोर्चुगलमा, पूर्वी एसियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा अडिसन हुने आयोजकले जनाएको छ । यस्तै, मध्यपूर्वका दुबई र कतार, अष्ट्रेलियाका लागि सिड्नी, भारतको सिलिगुडी र मुम्बई र नेपालका बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौँमा अडिसनहरू आयोजना हुँदैछन् ।

अडिसनमा सहभागी हुन चाहने प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन् । अडिसनबाट भ्वाइसका लागि एक सय बीस र डान्सका लागि एक सय बीस गरी दुई सय चालिस प्रतिस्पर्धीहरू छनोट गरिनेछ । दुवै शोका विजेताहरूलाई एक–एक करोड नेपाली रूपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

दोस्रो हुनेलाई २५ लाख रूपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिनेछ । मेरो डान्स यूनिभर्स अन्तर्गत हरेक एपिसोडको सुरुमा प्रस्तुत गरिने समूह नृत्य (ग्रुप डान्स) पनि प्रतियोगितात्मक हो । समूह नृत्यका विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तेस्रो हुनेले ५ लाख पुरस्कार पाउने छन् । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन–२ नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १९ गते सोमबार