आज मगर एकता दिवस



नेपालगन्ज (बाँके) ।

आज फागुन १५ अर्थात ‘मगर एकता दिवस’ । बाँकेसहित देशभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर समुदायको बाहुल्यता रहेको क्षेत्रमा सांस्कृतिक झाँकी प्रदर्शनसहित विभिन्न कार्यक्रम गरी मगर दिवस मनाउँदैछ ।

विभिन्न कारणले लोप हुँदै जान लागेको मगर संस्कृतिलाई जोगाउन तथा मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहन बारे जानकारी दिनका लागि विविध कार्यक्रम गरेर मगर दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्मरबहादुर थापाले बताए ।

अध्यक्ष थापाका अनुसार पहिला जिल्लास्तरमा एकैठाउँमा मगर दिवस मनाउने गरिएतापनि देश संघीयतामा गइसकेपछि संघीयताको मर्मअनुसार पालिका पालिका मगर संघको समिति गठन भएका कारण स्थानीय पालिकाहरुले आआफ्नै आयोजनामा विविध कार्यक्रम गरेर यो दिवसलाई मनाउने गर्दै आएका छन् ।

बाँकेका नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा छुट्टाछुट्टै मगर दिवस मनाउन लागिएको उनले जानकारी दिए । हरेक पालिकामा विभिन्न खेलकुद लगायतका सांस्कृतिक कार्यक्रमसहित दिवसलाई भव्य रूपमा मनाउने तयारी गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्झना र सम्मानमा मगर समुदायले यस दिनलाई मगर एकता दिवसको रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको ६.९ प्रतिशत मगर समुदायको जनसङ्ख्या रहेको छ ।

कोहलपुर र खजुरामा आज सार्वजनिक बिदा

४३औँ मगर दिवसको अवसरमा कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले आज स्थानीय बिदा दिएका छन् । बाँकेका ८ वटा पालिकामध्ये कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले मात्रै स्थानीय बिदा दिएका हुन् ।

दुवै पालिका मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था एवम् सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक संघ संस्थामा स्थानीय बिदा दिएको जनाएको छ । अन्य पालिकाले भने बिदा दिएका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार