बजेट अभावले दलित संग्रहालय निर्माण अलपत्र



सुर्खेत ।

पूर्वी सुर्खेतमा निर्माण भइरहेको दलित संग्रहालयको भवन निर्माणका लागि बजेट अभाव हुदाँ काम अलपत्र परेको छ । संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन नगरेपछि भवन निर्माणको काम अघि बढाउन सकस परेको हो ।
दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन भन्दै यो संग्रहालय निर्माण थालिएको थियो । पहिचान संरक्षणसँगै ग्रामीण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारले दलित संग्रहालय निर्माणको थालनी गरेको हो । तर हाल बजेट नहुँदा भवन निर्माणको काम अघि बढाउन नसकिएको भेरीगंगा नगरपालिकाले जनाएको छ ।

भवन निर्माणको काम भने अन्तिम चरणमा पुगेको नगरपालिकाका सव–इन्जिनियर गणेश कार्कीले बताए । उनका अनुसार हालसम्म भवन निर्माणको ८५ प्रतिशत काम सकिएको छ । अब १५ प्रतिशत मात्र काम गर्न बाँकी छ । चालू आर्थिक वर्षमा सरकारले बजेट विनियोजन नगरेको तथा यसअघि गरेको कामको समेत भुक्तानी दिन नसक्दा काम अघि बढाउन नसकिएको कार्कीले बताए ।

भवन निर्माणको बाँकी काम अघि बढाउन बजेट माग गरिएको छ । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुुनुुवाइ गरेको छैन । निर्माण कम्पनीले हालसम्म साढे २ करोड बराबरको काम गरिसकेको छ । अहिलेसम्म करिब १ करोड मात्र भुक्तानी पाएको छ । यसअघि नै गरेको कामको भुक्तानी नहुँदा अहिले अन्य काम ठप्प छन् । यस्ता विभिन्न समस्या देखाउँदै यो वर्ष मात्रै मन्त्रालयमा ३ वटा फाइल पेस गरिएको छ ।

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ८ मा संग्रहालयको भवन निर्माण हुुँदैछ । दलित समुदायको कला, संस्कृति, परम्परागत रीतिरिवाज झल्काउने उद्देश्यले संग्रहालय निर्माणको काम थालिएको भेरीगंगा नगरपालिकाले जनाएको छ । उक्त संग्रहालयबाट दलित समुदायको बारेमा अध्ययन, अनुसन्धान गर्न र उनीहरूको सीपबाट थप उद्यम सिर्जना गर्न सकिने लक्ष्य राखिएको छ ।

संग्रहालयलाई औद्योगिक क्षेत्रको रूपमा पनि विकास गर्न सकिने भेरीगंगा नगरपालिकाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा संग्रहालय निर्माणको काम थालिएको हो । नगरपालिकाको ३५ प्रतिशत लगानी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३ करोड २० लाख लागतमा संग्रहालयको भवन निर्माण भइरहेको छ । २०७८ असोज १० गते बाट संग्रहालयको भवन निर्माणको काम थालिएको हो । २०७८ असोज १० देखि २०८० असार ३० गतेसम्म भवन निर्माण सम्पन्न गर्नेगरी नेपाल मेगा, लामा प्रगति, सुवास जेभी वीरेन्द्रनगरसँग ठेक्का सम्झौता गरिएको थियो । जेभीसँग नगरपालिकाले ३ करोड २० लाख ७३ हजारमा भवन निर्माणको सम्झौता गरेको हो ।

२ वर्षमा भवन निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको भएपनि कोरोना महामारी लगायतका कारण ढिलाइ भएको जनाइएको छ । तर अहिले भवन निर्माणको काम ८५ प्रतिशत सकिएको छ । भवन निर्माणको म्याद थपिएको नगरपालिकाले जनाएको छ । २०८१ पुस मसान्तदेखि २०८२ असारसम्म म्याद थप गरिएको हो । संग्रहालय, डेकुरेशन, सजावट लगायतका धेरै काम बाँकी नै छन् ।

दलित राज्य रहेको इतिहास 

कुनैबेला पूर्वी सुर्खेतका केही भाग दलित समुदायको राज्य थियो । साविकको मैनतडा र मेहेकुना क्षेत्रमा दलित समुदायका राजाले राज्य गर्ने गरेको इतिहास रहेको जानकारहरू बताउँछन् । सातौँ शताब्दी अघिको दलित राज्यमा अहिले संग्रहालय बनाउन थालिएको स्थानीय जयवीर विकले बताए ।

उनका अनुसार हालको भेरीगंगा नगरपालिका ७ र ८ को केही क्षेत्रमा दलितले राज्य गर्ने गरेको इतिहास भेटिएको छ । डुमकोटी राजाले राज्य गरेको डुमकोट डाँडा र डुमकोटी राजाको स्थानलाई अहिले दलितहरूको अध्ययन, अनुसन्धान र पर्यटकीय केन्द्र बनाइँदैछ । विक्रम संवत् १३७० सम्म डुमकोटी राजाले राज्य गरेको ऐतिहासिक डुमकोट डाँडा अहिले पर्यटकीय स्थलका रूपमा परिचित छ ।

डुमकोटी राजाको राज्य र राजधानी रहेको डुमकोट डाँडालाई खोज, अनुसन्धान, उत्खनन् र पर्यटकीय केन्द्र बनाउन लागिएको हो । दलित समुदायको पहलमा संग्रहालय निर्माणको काम अघि बढाइएको छ । दलित समुदायको राज्य रहेको यही ठाउँमा अहिले डुमकोट दलित संग्रहालय बन्दैछ ।

डुमकोटी राज्य रहेको स्थानमा २५ वटा सुरुङ फेला परेका छन् । आफ्नो राज्यलाई बचाउन डुमकोट डाँडा वरपर सुरुङहरू निर्माण गरेको देखिन्छ । स्थानीयले उत्खनन् गर्दा जातो, पाला, तलबार लगायतका पुरातात्विक वस्तुहरू फेला परेका छन् । विक्रम संवत् १३७० मा नजिकैका अर्का राजाले डुमकोटमा आक्रमण गरे । गुर्भाकोटी राजाको आक्रमणबाट भागेका डुमकोटीहरू रूकुमको अर्माखोलामा बसाइ सरेको अनुसन्धानले देखाउँछ ।

तत्कालीन अवस्थामा घरेलु हतियार प्रशस्त भएपनि जनसङ्ख्या कम हुँदा गुर्भाकोटी राज्यले डुमकोटमाथि विजय प्राप्त गरेको देखिन्छ । युद्धमा पराजय भोगेर राज्य गुमाएका डुमहरू रूकुमको अर्माखोलामा बसेको पाइएको छ ।

रूकुमको अर्माखोलाका सार्की समुदायलाई ‘सुर्खेती सार्की’ भन्ने गरिन्छ । डुमकोटी राज्य र यसको प्रचार–प्रसारका लागि डुमकोट पर्यटन विकास समिति पनि गठन गरिएको छ । संग्रहालयसँगै डुमकोट राज्यका बारेमा खोज, अनुसन्धान र परम्परागत दलित समुदायको सीप, भेषभूषाको संरक्षण हुने यसबारे जानकार सुनार बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार