कुरीतिविरुद्ध क्रियाशिल किशोरी नै असुरक्षित



बाल क्लबमा आबद्ध हुँदै दीक्षाले सामाजिक कुरीतीविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । त्यसपछि उनी स्थानीय तहमार्फत गठन गरिएका किशोरी सञ्जालमा आबद्ध भएर सक्रियतापूर्वक काम गर्न थालिन् । कुरीतिविरुद्ध खरो रूपमा प्रस्तुत हुने दीक्षाले बालविवाह भइरहेको सूचना प्रहरीमा दिएर केही विवाह रोक्न लगाउने काममा पनि भूमिका खेलिन् । त्यही सक्रियताका कारण दीक्षा असन्तुष्ट पक्षको निशानामा परिन् । उनको पिछा गर्न थालियो । एसिड आक्रमण गर्ने र बलात्कार गर्नेसम्मका धम्की फोनमार्फत खेप्नुपरेको दीक्षाले खुलाइन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिकाकी २३ वर्षीया दीक्षा न्यौपाने करिब पाँच वर्षअघि बालविवाह लगायतका सामाजिक कुरीतीहरूको विरुद्ध बालक्लब र किशोरी सञ्जालमार्फत सक्रिय भएर काम गरिरहेकी थिइन् । तर, त्यसरी काम गर्दा असन्तुष्ट पक्षबाट आएका धम्की र सृजना गरिएका त्रासबाट मुक्ति पाउन उनी आफैँँले १७ वर्षकै उमेरमा बालविवाह गर्न पुगिन् । जुन विवाह पनि अन्ततः टिक्न सकेन् ।

दीक्षा त्यतिबेला आफूले लिएको विवाहको निर्णय पूर्णतः गलत भएको स्वीकार्छिन् । त्यसको कारण आफ्नो सुझबुझबिहेीन निर्णयका साथै आफूले भोगेको धम्की, परिवारको सुरक्षाको चिन्ता र त्यसविरुद्ध राज्यबाट सुरक्षाको प्रत्याभूति नपाएपछि आत्तिएर निर्णय लिएको दीक्षाको भनाइ छ । दीक्षाले यो कुरा लुम्बिनी प्रदेश सरकारले खजुरामा आयोजना गरेको सामाजिक कुरीतिविरुद्ध सचेतानामूलक कार्यक्रममा बताएकी हुन् ।

दीक्षामात्रै नभई कार्यक्रममा सहभागी अरु किशोर किशोरीहरूले पनि आफूहरूको सुरक्षाको प्रत्याभूति नरहेको बताए । विद्यालयमा कक्षा पाँचमा पढ्दा देखि नै बाल क्लबमा आबद्ध हुँदै दीक्षाले सामाजिक कुरीतीविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । त्यसपछि उनी स्थानीय तहमार्फत गठन गरिएका किशोरी सञ्जालमा आबद्ध भएर सक्रियतापूर्वक काम गर्न थालिन् ।

कुरीतिविरुद्ध खरो रूपमा प्रस्तुत हुने दीक्षाले बालविवाह भइरहेको सूचना प्रहरीमा दिएर केही विवाह रोक्न लगाउने काममा पनि भूमिका खेलिन् । त्यही सक्रियताका कारण दीक्षा असन्तुष्ट पक्षको निशानामा परिन् । उनको पिछा गर्न थालियो । एसिड आक्रमण गर्ने र बलात्कार गर्नेसम्मका धम्की फोनमार्फत खेप्नुपरेको दीक्षाले खुलाइन् ।

‘कतिपटक राती घरमा ढुंगाले हानियो । जिल्ला प्रशासनमा नागरिकता बनाउन गएका बेला पनि पिछा गरियो । एकदिन त रातीसम्म आमा पसलबाट फर्किनुभएको थिएन । म घरमै थिएँ । एकजनाले फोन गरेर तेरो घरअघि तेरो आमालाई पर्खिरहेको छु भन्यो,’ दीक्षाले त्यतिबेलाको अवस्थाबारे भनिन् ।

ती धम्की र सृजना गरिएका त्रासविरुद्ध उनले स्थानीय तहको संयन्त्रदेखि प्रहरीसम्मलाई जानकारी गराइन् । फोनमार्फत धम्क्याउनेहरू विरुद्ध प्रहरीमा पनि जाहेरी दिइन् । तर, त्यसरी धम्की दिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइएन । आफूले भोगिरहेको समस्यालाई कसैले पनि गम्भीरतापूर्वक लिएको उनले महसुस गर्न नपाएको उनको भनाइ छ । उल्टै कतिपयले उनलाई नै आक्षेप लगाउन थालेको उनले बताइन् ।

उनका बुवा भारतमा नोकरी गर्थे । छोरीलाई सामाजिक अभियानमा लागेको मन पराउँथेनन् । उनले बुवालाई आफूले भोगिरहेको अवस्थाबारे बताउन सकिनन् । आमा आफैँ अस्वस्थ थिइन् । उनले थप पीडा दिन चाहिनन् । यहीबीचमा दीक्षा एक जना आफन्तको माध्यमबाट आफूभन्दा ९ वर्ष जेठो व्यक्तिसँग बिहे गर्न पुगिन् । ‘त्यसबेला मलाई विवाहतिर भन्दा पनि त्यो असुरक्षाबाट कसरी मुक्ति पाउने भन्नेमा चिन्ता थियो । मलाई अहिले लाग्छ मैले त्यो निर्णय सही मनस्थितिमा लिएकी थिइनँ,’ दीक्षाले मिसन टुडेसँग भनिन् ।

अस्वभाविक अवस्थामा भएको बिहे सुखद हुन सकेन । अन्ततः दीक्षाले सम्बन्धविच्छेद गर्न पुगिन् । उनी भन्छिन्, ‘मलाई यसबीचमा आफैँ बालविवाह विरुद्धकी अभियन्ता भएर आफैँले बालविवाह गरी भनेर बहिष्कार जस्तै गरियो । तर कसैले पनि सोधेन कि मैले त्यो निर्णय किन लिएँ ? म यस्तो अरु कसैमाथि नहोस् भन्ने चाहन्छु ।’

दीक्षा मात्रै नभएर सामाजिक कुरीतीविरुद्ध काम गरिरहेका अरु किशोर किशोरी पनि आफूहरू असुरक्षित रहेको बताउँछन् । बाँकेको खजुरा गाउँपालिकाको बाल क्लब सञ्जालमा आबद्ध शेषकला शर्मा पनि आफूहरू समस्यामा परे कसरी सुरक्षा पाउने भन्ने विषयमा अनभिज्ञ रहेको बताउँछिन् । ‘हामीले कसैलाई प्रत्यक्ष रूपमा गएर रोक्ने वा अवरोध पु¥याउने काम गरेका छैनौँ । तर, कहिलेकाहीँ केही कुरा सम्झाउनु पर्याे भने पनि कसैको चित्त बुझेन भने हामी पनि समस्यामा नपरौँला भन्न सकिन्न,’ शर्माले भनिन् ।

किशोरी सञ्जाल खजुराकी अध्यक्ष समीक्षा ओली पनि कुरीतिविरुद्ध काम गर्दा धम्की आउने वा असुरक्षाको डर मनमा भइरहने गरेको बताउँछिन् । त्यो डरलाई चिर्न सुरक्षा निकाय लगायत राज्य पक्षबाट कदम चालिनेमा विश्वास नरहेको उनको भनाइ छ । ‘प्रहरीमा भन्ने हो भने प्रक्रियामै अल्झाएर समय लगाइने गरेको हामीले भोगेका छौँ । अप्ठ्यारो परेको बेला सहयोग पाइन्छ भन्ने विश्वास लाग्दैन,’ उनले भनिन् ।

बाल क्लब सञ्जाल खजुराका सचिव अर्जुन धिताल केही कुरामा विरोध जनाउँदा धम्की र असुरक्षा पैदा हुने डरले आफूहरूले सम्झाइबुझाई गर्ने र कसैको चित्त नदुखाउने गरी काम गर्ने गरेको बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सन् २०२४ मा मानवअधिकार रक्षकहरूमाथि भएका मानवअधिकार उल्लंघनका घटनासम्बन्धि संकलन गरेको तथ्यांकमा पनि देशभर करिब एक सय ७४ जना मानवअधिकार रक्षकहरू पीडित भएको पाइएको छ । जसमध्ये २४ जना सामाजिक कार्यकर्ता रहेका छन् ।

वरिष्ठ अधिवक्ता एवम् सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका अध्यक्ष सुनिल श्रेष्ठ सामाजिक कार्यकर्तासहितका मानवअधिकार रक्षकहरूमाथि हुने धम्की र त्रासविरुद्ध कारबाहीका लागि अहिलेसम्म राज्यबाट कुनै विशेष संयन्त्र नबनाइएको बताउँछन् । यस विषयमा अलग्गै कानुन बनाउनुपर्ने राय सुझाव आफूहरूले लुम्बिनी प्रदेश सरकारलाई दिइरहेको उनले बताए । ‘हामीले मानवअधिकार रक्षकहरूको सुरक्षाका लागि अलग्गै कानुन बनाउनुपर्छ भनेर मुख्यमन्त्रीज्यूलाई नै भेटेर सुझाव दिएका छौँ । यस विषयमा उहाँबाट पनि सकारात्मक कुरा आएको छ,’ श्रेष्ठले भने ।

मानवअधिकार रक्षकहरूमा स्वास्थ्यकर्मी, कानुन व्यवसायी, शिक्षक, सामाजिक कार्यकर्ता, मानवअधिकारकर्मी, इन्जिनियर जस्ता संवेदनशिल पेशामा काम गरिरहेकाहरू पर्ने भएकोले उनीहरूको सुरक्षाको विषय सार्वजनिक सरोकारको विषय भएको श्रेष्ठले बताए । आफूहरूले प्रदेश सरकारलाई कानुनको खाका नै उपलब्ध गराएको र त्यस खाकामा मानअधिकार रक्षकहरूमाथि हुने धम्की र त्रासदेखि आक्रमणका क्रियाकलापलाई छुट्टै किसिमले अपराधीकरण गर्नुपर्ने सुझाव दिएको श्रेष्ठले बताएका छन् ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना सामाजका कुरीतिविरुद्ध काम गर्नेहरूमाथि हुने धाकधम्कीका घटनालाई रोक्न जनचेतनाको प्रसार र कानुनी कारबाही दुवै उपायहरू अपनाउनुपर्ने बताउँछन् । उनले भने, ‘प्रदेश सरकारले यस विषयमा अलग्गै कानुनी व्यवस्थाका विषय पनि छलफलमा ल्याउँछ । हामीले यी लगायत महिला सशक्तिकरणमा काम गर्न महिला परिषद् गठन गर्ने कि भनेर त्यसको कानुन निर्माण लगायतका विषयमा पनि तयारी अघि बढाएका छौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार