8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

कोरोनापछि ‘ब्ल्याक फंगस’ भएका बिरामीको शल्यक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

काठमाडौं ।

कोरोना संक्रमणका कारण ‘ब्ल्याक फंगस’ भएका एकजना पुरुषको वीर अस्पतालमा शल्यक्रिया गरिएको छ। सर्लाहीका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणपछि ब्ल्याक फंगसको समस्या देखिएको थियो। उनको वीर अस्पतालमा सोमबार शल्यक्रिया भएको हो।

वीर अस्पतालका नाक, कान, घाँटी (इएनटी) सर्जन त्रिदीप बहादुर पन्थको नेतृत्वमा डा बोनू गौडेल, डा सुदिन कायष्ठ, डा आशिष गौतम, एनेस्थेसियाका चिकित्सकहरु डा अनुज जंग कार्की, डा उज्वल ठाकुर र डा एलिस मिश्रा र नर्सहरु इश्वरी राजभण्डारी र सुवर्ण सिंह श्रेष्ठको टोलीले शल्यक्रिया गरेको हो।

ती पुरुषको नाक तथा आँखामा फैलिसकेको फंगस शल्यक्रिया गरेर निकालिएको डा पन्थले जानकारी दिए। उनलाई सर्जरीपछि थप औषधि उपचारका लागि कोभिड आईसीयूमा चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको डा पन्थले बताए।

शल्यक्रियाका संलग्न अर्का चिकित्सक डा सुदिन कायष्ठका अनुसार सर्लाहीका ती पुरुष कोरोना संक्रमण भएर जेठ १ गतेदेखि वीर अस्पतालमा भर्ना भएर उपचाररत थिए।

उनमा संक्रमणपछि ब्ल्याक फंगसका कारण दाहिने आँखाको दृष्टि गुमिसकेको र देब्रे आँखाको दृष्टि पनि कम भएको थियो। फंगसका कारण गुमिसकेको दाहिने आँखाको दृष्टि फर्कन नसक्ने डा पन्थले बताए।

‘शल्यक्रियापछि उहाँको दृष्टि फर्किन गाह्रो छ, फंगसका कारण उहाँको आँखा वरपरको भाग कुहिएको थियो, त्यो कुहिएको भाग हामीले काटेर फालेका छौं,’ डा पन्थले भने, ‘देब्रे आँखाको दृष्टि फर्किने सम्भावना अलिअलि छ।’

डा पन्थका अनुसार समयमा नै शल्यक्रिया गरेर फंगसले कुहिएको भागहरु निकालेर फालेका कारण थप जटिलताबाट जोगिएको अवस्था छ। यस्तो बिरामीमा फंगसका कारण कुहिएका भागहरु ननिकाल्दा फंगस फैलँदै गई मानिको मृत्यु समेत हुनसक्छ।

‘यदि उहाँको शल्यक्रिया नगरिएको भएका फंगस नाक र आँखा वरिपरिको भागमा बढ्दै जान्थ्यो,’ डा पन्थले भने, ‘त्यो बढ्न नदिन हामीले फंगसले कुहिएको भागलाई काटेर फालेका हौं।’

वीर अस्पतालमा कोभिड संक्रमित बिरामीको ब्ल्याक फंगसको शल्यक्रिया भएको यो पहिलो पटक हो।

चिकित्सकका अनुसार कोभिड संक्रमण भइ रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा साथै रगतमा सुगरको मात्रा धेरै वृद्धि हुँदा ब्ल्याक फंगस हुने गर्छ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     2:00:28 PM  |