पोखरा ।
नेपाली काँग्रेसका ७७ जिल्लाका सभापति गण्डकी प्रदेशको पोखरामा भेला भएका छन् ।
संगठन र समसामयिक सन्दर्भमा सभापतिहरूलाई अभिमुखीकरण गराउने कार्यक्रमका लागि उनीहरू पोखरामा भेला भएका हुन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मंगलबारदेखि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।
‘प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रमको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । सभापति देउवाले भेलालाई सम्बोधन गर्दै देशको राजनीतिक स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिलेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अहिलेको संविधान अनुसार एउटा पार्टीको बहुमत आउन नसक्ने भए पनि कुनै न कुनै दलसँग मिल्नुपर्ने बताए ।
‘राजनीतिक स्थायित्वका लागि अहिले मुख्य प्रतिस्पर्धी पार्टीहरू मिलेर सरकार बनाएका छौँ । कहिले कसको कहिले कसको सरकार हुँदा कुनैले काम गर्न सक्दैन । यो सरकारको स्थायित्व स्पष्ट छ । पहिला पनि प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका पार्टी हौँ ।’ उनले भने ।
अभिमुखीकरणको पहिलो दिन सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत शीर्ष नेताहरूले बोलेका थिए । भेला भएका सभापति र उपसभापतिहरूलाई ५ जना विज्ञले प्रशिक्षण दिएका थिए ।
अभिमुखीकरणमा प्रतिष्ठानका सदस्य डा.कृष्णप्रसाद पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र पेस गरेका थिए । उनीहरूलाई पाँच महिनामा कम्तीमा ५ जना नयाँ साथी बनाउन भनेका छन् । प्रतिवेदनमा उनले भनेका छन्, ‘हामी जहाँ जान्छौँ, एउटा प्रण गर्न लगाऔँ । कम्तीमा पनि ५ नयाँ साथी ५ महिनाभित्र बनाउन लगाऊँ ।’
अभिमुखीकरणमा आजपनि समूहगत रूपमा प्रशिक्षण हुनेछ । पहिलो दिन कार्यक्रम आयोजक कास्कीका सभापति किशोरदत्त बरालले नेतृत्वलाई चार काम तत्काल गर्न सुझाएका दिएका थिए । उनले नेपाली कांग्रेसको नेतृत्वलाई समृद्धिका लागि उद्यमशीलता अभियान, बीपी शिक्षा फस्ट, डिजिटल डेमोक्रेसीको प्रयोग र अनुशासन लक्ष्य र उपलब्धिका विषयमा तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्