बाँकेको भगरा गाउँमा लुटपाट मच्चाउने तीन शङ्कास्पद पक्राउ



बाँके ।

राप्तीसोनारी गाउँपालिका–७ भगरा गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

‘आइतबार राति उक्त गाउँमा पुगी लुटपाट मच्चाएको आशङ्कामा तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेका छौँ’ उनले भने, ‘उनीहरूबाट लुटिएको सामान फेला परेको छैन, सोधपुछ र अनुसन्धान गर्दैछौं ।’

राप्तीसोनारी गाउँपालिका–७ भगरा गाउँमा आइतबार राति हतियारसहित आएको १०–१२ जनाको समूहले स्थानीय धनबहादुर लामिछाने मगर र ओमप्रकाश मालीको घरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले जानकारी दिए ।

उनका अनुसार राति करिब १२ बजे आएको लुटेराको समूहले भगरा गाउँका दुई परिवारका घरमूलीलाई बाँधेर करिब दुई तोला सुन, तीन किलो चाँदी, दुई लाख ५० हजार नगद, दुई वटा खसी र एउटा बोका लुटेर लगेका थिए ।

राप्ती नदी तटीय क्षेत्रमा रहेको भगरा गाउँ राप्तीसोनारी गाउँपालिका–७ को विकट क्षेत्रमा पर्दछ । फत्तेपुर प्रहरी चौकीको कार्यक्षेत्रमा पर्ने भए पनि भगरा गाउँ डुडुवा गाउँपालिकास्थित बेतहनी प्रहरी चौकीबाट नजिक पर्दछ । २०–३० वर्ष उमेर समूहका लुटेराहरूले लुटपाट मच्चाएपछि अहिले भगरागाउँवासी त्रसित भएको स्थानीयवासी सुनकुमार घर्तीले बताए ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधबार