बाँसगढी ।
बाँसगढी नगरपालिका–६ दमौलीस्थित दाङपुरको गाउँ भेलाले गाउँमा हुने वैवाहिक समारोह तथा भोजमा मदिरा निषेध गर्ने निर्णय गरेको छ । शनिबार बसेको भेलाले गाउँका विवाह भोजमा मदिरा निषेध गर्ने निर्णय गरेको वडाध्यक्ष लालबहादुर महतरा क्षेत्रीले जानकारी दिए । मदिराका कारण भोज खर्चिलो र भड्किलो हुने गरेकाले गाउँलाई मदिरा निषेध घोषणा गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । गाउँका बड्घर, बुद्धिजीवी तथा अगुवाहरूको छलफलपछि बसेको सम्पूर्ण गाउँलेहरूसहितको भेलाले मदिरा निधेष गर्ने निर्णय गरेको थियो ।
सो निर्णयप्रति सबै गाउँलेको समर्थन रहेको वडाध्यक्ष क्षेत्रीको भनाइ छ । सो निर्णयबाट विशेषगरी गाउँका महिलाहरू अझ बढी खुसी भएको क्षेत्रीले जानकारी दिए । ‘यो निर्णयले गाउँका सबै खुसी छन्,’ उनले भने, ‘मदिरा हटाउँदा भोजमा हुने बचतका कारण विपन्न वर्गका महिलाहरू अझ बढी उत्साहित भएका छन् ।’ प्र्रायः थारू समुदायको बसोबास रहेको सो गाउँमा रहेका ३ सय १६ घरपरिवारमध्ये यस वर्ष १०–११ घरमा बिहे तय भएको उनले बताए ।
वडाध्यक्ष क्षेत्रीका अनुसार बिहेघरका अभिभावकहरूले चेली लिन आउने जन्तीलाई आफूहरूले पनि मदिरा नखुवाउने र आफूहरू जन्ती जाँदा पनि मदिराको माग नगर्ने प्रतिबद्धता जनाएका छन् । ‘यसबाट वैवाहिक सम्बन्ध जोडिने अन्य गाउँमा समेत सकारात्मक प्रभाव पर्नेछ,’ वडाध्यक्ष क्षेत्रीले भने ।
विशेषगरी थारू समुदायमा विवाहका बेला मदिराको बढी प्रयोग हुने गर्र्दछ । मदिराकै कारण कतिपय विपन्न परिवारका व्यक्तिले खर्च धान्नसमेत गाह्रो पर्ने गरेको पाइन्छ ।
यो निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्न सकिए विस्तारै अन्य गाउँलाई समेत मदिरा निषेधित गर्दै जाने वडाध्यक्ष क्षेत्रीको भनाइ छ । सो निर्णयप्रति वडा र पालिकाभरि स्वागत र प्रशंसा भइरहेको छ । सामाजिक सञ्जालमा पनि सो निर्णयको चौतर्फी प्रशंसा भइरहेको वडाध्यक्ष क्षत्रीले बताए । यो निर्णयले अन्य गाउँ, वडा वा पालिकामा पनि सकारात्मक सन्देश प्रवाह गरेको उनले दाबी गरे । भेलाको निर्णयलाई कार्यान्वयन गर्न गाउँका टोल बड्घरहरूलाई जिम्मा दिइएको छ । सो निर्णय कार्यान्वयन गर्न अब वडाले समेत विशेष निगरानी राख्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्