मेरो आँखामा ‘आँखा र आँखाहरू’



 लेखप्रसाद प्याकुरेल-

साउँभन्दा ब्याज प्यारो भन्ने उखानले नेपाली समाजमा जरो गाडेको वर्षौं भइसक्यो। रुपैया पैसाका हकमा यो उखानले शत प्रतिशत सार्थकता नपाउला किनभने मानिसलाई साउँ पनि प्यारो हुन्छ र ब्याज पनि। न ऊ साउँ मरेकोमा खुसी हुन्छ न ब्याज गुमेकोमा। अझै यथार्थपरक कुरा गर्ने हो भने ब्याज डुबिहाल्यो भने पनि कम्तीमा साउँ नडुबोस् भन्ने मान्यता हरेक आशामीको हुन्छ। उसले दुःख गरेर आर्जन गरेको रकम साउँ नै हुन्छ त्यसैले पनि साउँमा बढी मोह जानु स्वाभाविक हो। यति हुँदाहुँदै पनि नातासम्बन्धका क्षेत्रमा भने साउँ भन्दा ब्याजै प्यारो हुँदो रहेछ। आमाबाबुले छोराछोरी भन्दा नाति नातिनीलाई नै बढी महत्व दिँदा रहेछन् ।

नातिनातिनीहरूको ससाना दुःखले पनि हजुरबुवा हजुरआमालाई नराम्ररी भिझाउँदो रहेछ। आफूले दुःखका चट्टान फोडेर नातिनातिनीहरूका लागि सुखको बाटो निर्माण गर्न उद्दत देखिन्छन् हजुरबुवा हजुरआमाहरु। आफ्नो बस्ती उजाडेर भएपनि सन्तानको फूलबारी सधैँ मगमगाएको हेर्ने चाह राख्छन् हजुरबुवा हजुरआमा। यस्तै हजुरबुवा हजुरआमाको सन्तानकेन्द्रित समर्पणलाई आख्यानको चास्नीमा डुबाएर तयार पारिएको कथालाई शीर्षकथा स्वीकार गरी तयार पारिएको कृति हो सुमित्रा न्यौपानेको आँखा र आँखाहरू।

आँखा र आँखाहरू साहित्यकार सुमित्रा न्यौपानेद्वारा रचित आख्यानात्मक विधाअन्तर्गत समेटिएको कथा सङ्ग्रह हो। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेद्वारा वि।सं। २०७१ मा प्रकाशित सुमित्रा न्यौपानेको आँखा र आँखाहरू कथासङ्ग्रह १३४ पृष्ठमा समेटिएको १४ वटा कथाहरूको सँगालो हो । कृतिभित्र समेटिएका अधिकांश कथाहरूले नेपाली समाजमा घटित क्रियाकलापहरूलाई यथार्थ तवरबाट प्रस्तुत गरेका छन्। केही कथाहरूमा मानवीय दुष्कर्मका कारण सिर्जित भयावह परिस्थितिको चित्रण गरिएको छ भने कृतिभित्र परेका केही कथाहरूले टका धर्मस् टका कर्मस् टकैव परम् सुखम्। एस्य गृहे टका नास्ती हास्टके टकटकायते। भन्ने मूल मर्मको विपरीत रहेर रुपैयाँ पैसा र भौतिक सुख सम्पत्तिभन्दा आत्मिक सुखलाई महत्व दिएका छन्।

कृतिभित्र परेका सुमन लगायतका पात्रहरूसँग भौतिक सुख भएपनि शान्ति छैन। सुन्दर ओछ्यान भएपनि निन्द्रा छैन। मिठो भोजन भएपनि भोक छैन सबै थोक भएर पनि केही छैन। यसर्थ कृतिभित्र भौतिक सुखसयल र रुपैयाँ पैसाभन्दा मनको शान्ति नै ठुलो कुरो हो भन्ने विषयलाई उठान गरिएको छ। आँखा र आँखाहरू कृतिभित्र लागू पदार्थ दुर्वेसन समस्या बनेर उभिँदा पात्रहरूका हकमा नराम्ररी बिझाएको छ भने आमाको मायामा भोकाएका मोनिकाहरूको कथा बनेर आँखा र आँखाहरू कृति आएको छ ।

कृतिभित्र तेस्रो क्रममा शीर्षकथा आँखा र आँखाहरू परेको छ । यसै कथाभित्र नेत्रदान जस्तो पवित्र कार्यले मनमा ल्याएको खुसीलाई प्रस्तुत गरिएको छ भने आफ्नो ज्योति दान गरेर नातिनीको संसार हेर्ने सुन्दर सपना साकार पार्ने हजुरबुवाहरूको सन्तान प्रतिको अगाध मायालाई समेत प्रस्तुत गरिएको छ। यसर्थ यो कथा सन्देश सम्प्रेषणका दृष्टिले त महत्व राख्छ नै दानवीर पात्र हजुरबुवाको मृत्युले कथा निकै कारुणिक र पाठकहरूको मन तान्न सफल बनेको छ। कृतिभित्र परेका कथाहरूमा कतिपय पात्र जाँड रक्सीको नशामा झुम्दै आफू सँगसँगै घरपरिवारलाई सिध्याउने कर्ममा लागेका छन् भने कहीँ कतै सभ्यताको नाममा नंग्याउनेहरूको यथार्थ प्रकटीकरण गर्दै त्यसप्रति विरोध जनाइएको छ। बियर र रक्सीको मातमा हरेक रात बिताउने अथवा आधुनिकताको नाममा चुरोटका बट्टाहरूसँग सम्झौता गर्ने नव धनाड्य वर्गहरूको आडम्बरलाई प्रस्तुत गरिएको यस कृतिभित्रका केही कथाहरूमा अभिभावकले सन्तानहरूको चाहना बुझ्न नखोज्दा दुर्घटना परेका जीवनहरु पनि प्रस्तुत भएका छन्।

कृतिभित्र परेका केही कथाहरू भावुक प्रेमको उदाहरण बनेर आउँदा कमजोर आर्थिक अवस्थाका कारण आफन्त गुमाउँदाको पीडा, आफ्नै परिवारको शङ्काका कारण नखाएको विष लागेर ढल्नेहरूको विवसता, आफ्नो कान नछामी कागको पछि दौडने स्वभाव भएकाहरुले बिताएको कष्टकर जीवन आदि विषयवस्तु समेत कथाको महत्वपूर्ण पाटो भनेर आएका छन्।

आँखा र आँखा हरू कथा संग्रह विभिन्न मान्यतागत विचारहरू सम्प्रेषणका दृष्टिले समेत महत्त्वपूर्ण कृति हो। यस कृतिभित्र परेका कथाहरूमा यथार्थवाद, आलोचनात्मक यथार्थवाद मनोविज्ञान र विसंगतवाद सम्बन्धित विचारहरूको प्रयोग प्रशंसनीय छ। यी मान्यताहरूमध्ये पनि मानिस नचाहेर जन्मन्छ र नचाहेरै मर्छ जन्म र मृत्यु जस्तै जीवनमा घटित घटनाहरू उसको चाहना विपरीत हुने गर्दछन् भन्ने विचारमा केन्द्रित भएर आउने विसंगतवादको कोणबाट कृति चर्चनीय छ। कृतिभित्र छोरालाई डाक्टर बनाउने सपना बोकेको सुमनले लागू औषधबाट ग्रस्त छोरालाई औषधोपचारका लागि डाक्टरसम्म पुर्‍याउनुपर्ने बाध्यता छ।

समाजमा मान र प्रतिष्ठाको उचाइ चुल्याउने रहर बोकेको सुमनको मान प्रतिष्ठा समाजकै अगाडि चकनाचुर भएको छ । कहिल्यै भन्न नचाहेको कुरा भन्नुपर्दाको पीडाबोधले मोनिकाको छाती पोलेको छ अनि मुटु चर्केको छ। आमा बाबुको अभावमा बाँच्न नचाहने बुनु त्यही बाध्यतामा बाँच्न विवस देखिन्छे। सबिनाको श्रीमान् बन्ने अपेक्षासहित उसको घरसम्म पुगेको शङ्कर र बुहारीको रहर पालेर गएका शंकरका बाबुआमाको सोचभन्दा विपरीत उनीहरूको नाता सम्बन्ध आमा बुवा र दाजुमा परिणत हुँदा सबै सदस्य घाइते जस्तै लाग्छन्।

इच्छा विपरीत बिहेको शिकार भएकी सुसंस्कृत पुष्पालाई उसैका घरका मानिसहरू इच्छा विपरीत छोटा कपडा लगाउन, अर्धनग्न भएर हिँड्न, रम बियर र हुस्कीमा लट्ठिन बाध्य पार्छन्। कृतिभित्र यी र यस्तै किसिमका थुप्रै प्रसङ्गहरु परेका छन्। यी र यस्तै किसिमका घटनाक्रमले कृतिका पात्रहरू जे चाहँदैनन् त्यो पाउँछन् र जे पाउँछन् त्यो चाहँदैनन् भन्ने यथार्थलाई पुष्टि गरेको छ। अत आँखा र आँखाहरूकृति अन्य मान्यताहरु सँगसँगै विसंगत बादी मान्यतालाई अङ्गीकार गर्न सफलकृति बनेको छ।

कथाकार सुमित्रा न्यौपानेद्वारा लिखित पहिलो पुस्तकाकार कृति आँखा र आँखाहरू यथार्थवादी अनुभव र अनुभूतिहरूको मिश्रणबाट जन्मिएको सिङ्गो दस्ताबेज हो। बालमनोविज्ञान र नारी संवेदनालाई मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेको यस कृतिमा वर्तमान नेपाली समाज बोलेको छ । नेपाली समाजमा व्याप्त आर्थिक सामाजिक लैङ्गिक भौगोलिक कोणबाट देखिने होचीअर्घेलीहरू माथि विमति प्रकट गरिएको प्रस्तुत कृतिमा सरल, सहज शब्द संयोजनका कारण सामान्य स्तरका पाठकहरूका लागि समेत कृति बोधगम्य बनेको छ।

कृतिमा परेका उखान र टुक्काहरुले भाषालाई थप पठनीय बनाएका छन् । यति हुँदाहुँदै पनि अदिति लगायतका केही कथामा देखिएको पात्र संवाद र कथावस्तुको तारतम्यमा केही कसर मसर देखिन्छन्। केही कथाहरूमा भाषालाई सुन्दर र काव्यात्मक बनाउने नाममा व्याकरण पक्षमाथि अन्याय हुन गएको छ। यी र यस्तै सामान्य सुधारका पक्ष देखिएको आँखा र आँखाहरूकृति कृतिकार सुमित्रा न्यौपानेको पहिलो आख्यानात्मक कृति रहे तापनि मन छुने सन्देशात्मक कृति बनेर आएको छ। पाठकको अदालतबाट अब्बल कृतिको दर्जा पाएको यसै कृतिका लागि न्यौपानेले आकर्षक नगद पुरस्कार समेत प्राप्त गरेकै कारण कृति समालोचकका आँखामा पनि छनोटयोग्य कृति बनिसकेको छ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रबार