कर्णालीका १ लाख २० हजार बढी किशोरीलाई खोप लगाइँदै



सुर्खेत : कर्णाली प्रदेशका १ लाख २० हजार ५१० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार नियमित खोपको लक्षित समूह अन्तर्गतका २१ हजार ६५७ जना किशोरी र अभियानको लक्षित समूहअन्तर्गतका ९८ हजार ८ सय ५८ किशोरीलाई एचपीभी खोप लगाइने भएको हो ।

नियमित खोपको लक्षित समूहअन्तर्गत कक्षा ६ मा अध्ययनरत २० हजार २ सय २३ र अभियानको लक्षित समूहअन्तर्गत कक्षा ७ देखि १० मा अध्ययनरत ७९ हजार १ सय ३४ किशोरीलाई उक्त खोप लगाइनेछ । खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । तर कर्णालीका हिमाली क्षेत्रहरूमा भौगोलिक कठिनाइका कारण केही ढिलाइ पनि हुनसक्ने निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका सूूचना अधिकारी नवराज कँडेलका अनुसार मुुगुका ४ हजार ३ सय ७८, डोल्पाका २ हजार ६ सय ४१, हुुम्लाका ३ हजार ७ सय ३६, जुुम्लाका ८ हजार ८ सय २९, कालिकोटका ११ हजार ९ सय २३ र दैलेखका १८ हजार ९१ जना किशोरीलाई खोप लगाउने तयारी छ ।
यस्तै रुकुुमपश्चिमका १२ हजार १ सय ६, सल्यानका १४ हजार ५ सय १३, सुर्खेतका २८ हजार ३ सय ४० र जाजरकोटका १५ हजार ९ सय ५२ जना किशोरी खोपबाट लाभान्वित हुने सूूचना अधिकारी कँडेलले बताए । उनले भने, ‘क्यान्सरहरूमध्ये महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य जटिल रोग हो । यस्तो अवस्थामा क्यान्सरबाट महिलाको मृत्यु रोक्न यो खोप जरुरी छ ।’

उनका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी हुने र मृत्यु हुनेको संख्या उच्च रहेको छ । नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको छ । त्यस्तै, हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ ।
विद्यालय बाहिरका २१ हजार किशोरीको खोजी
निर्देशनालयको तथ्यांकअनुसार कर्णालीमा विद्यालयको पहुँच बाहिरका २१ हजार किशोरीको खोजी गरी उक्त खोप लगाउने तयारी छ । हाल कर्णालीका २१ हजार १ सय ५३ जना छात्राहरू विद्यालयको पहुँच बाहिर रहेको तथ्यांक छ ।
विद्यालय नजाने छात्राहरूलाई पनि खोप लगाइने तयारी अनुसार यो अभियान अघि बढेको हो । त्यस्ता छात्राहरू १० वर्ष उमेर समूहका १ हजार ४ सय ३४ र ११ देखि १४ वर्ष उमेर समूहका १९ हजार ७ सय १९ रहेको उल्लेख छ । तर शिक्षा सम्बद्ध निकायहरूले भने पछिल्लो समय अधिकांश छोरीहरू विद्यालयको पहुँचमा पुगेको बताउँदै आएका छन् ।

हरेक स्वास्थ्य संस्थाले कक्षा ६ देखि १० सम्म अध्ययन हुने हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर ती कक्षाका सबै छात्राहरूलाई एचपीभी खोप दिनेछन् । तर विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरू र छुट भएका कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट एचपीभी खोप दिने तयारी छ ।विद्यालय नभएका गाउँ, टोल र पिछडिएका वर्ग÷समुदायको पहुँचको लागि थप खोप केन्द्रबाट एचपीभी खोप अभियान सञ्चालन हुने महिनामा उक्त खोप दिने व्यवस्था गरिने कँडेलले बताए ।

प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. सुवास शर्माले विश्वमा महिलाहरूमा हुने क्यान्सर मध्येमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रूपमा रहेको बताए । यो रोग ह्युमन प्यापिलोमा भाइरसबाट सङ्क्रमित व्यक्तिको यौनांगको छाला, म्युकस मेम्ब्रेन, यौनांगबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट सर्ने गर्छ । साथै मुख्य गरेर उक्त भाइरसबाट सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने उनले जानकारी दिए ।
डा. शर्माका अनुसार यौन क्रियाकलापमा सक्रिय अधिकांश महिला जीवनकालमा एचपीभीबाट सङ्क्रमित हुन्छन् तर एचपीभी सङ्क्रमण भएको सुरुको अवस्थामा कुनै पनि लक्षण, चिन्हहरू देखिँदैनन् ।

यस्तै मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका एचपीभी भाइरसको पटक–पटक सङ्क्रमण भएर २० वर्षसम्म सङ्क्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।पाठेघरको मुखको क्यान्सर भएमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअलपता हुने, कमजोर महसुस हुने जस्ता लक्षण तथा चिन्हहरू देखिन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रबार