म गाउँ फर्कन चाहन्छु



म हिडेपछि गाउँबाट
हिडिछन् शोभा
हिडेछन् सौन्दर्य
निरस छन् रे प्रकृति
आउँदैनन् रे वसन्त र ऋतु
देखिदिनन् रे तारा
मलिन छ रे चन्द्रमुखीको अनुहार ।
गुलाबी ओठमा
मुस्कुराउँथिन् चमेली
सिउँदोमा मखमली सजाएर
उकालो चढ्थिन् बासमती
म हिडेपछि गाउँबाट
बन्जर पारेर कोखलाई
ओरालो झरिछन् सरिता पनि ।

म हिडेपछि गाउँबाट
पुरिएछ आहाल बस्ने पोखरी
पुरिएछ पुछारे इनार ।
सुकेछ गैह्राबारीको कुवा
आउन छोडेछ सहरेमा खहरे
कराउन छोडेछ कालापाखामा झ्याउँकिरी
भत्किएछन् गोरेटा र घोरेटाहरू
भत्किएछन् पानी घट्ट र चौताराहरू
भाच्चिएछन् फड्के र खड्केरीहरू
भाँच्चिएछन् मनहरू र टुक्रिएछन् मुटुहरू पनि ।

म हिडेपछि गाउँबाट
हराएछ हलो र जुबा
हराएछ मादल र खैजडी
फुटेछन् ठेकी र खुर्पेटा
लाग्न छाडेछ भेडी चौरमा मेला ।
बज्न छाडेछन् खैजरी मुजुरा
आउन छाडेछ शंख र घण्टको धुन
लागाउँदैनन् रे गुफामा धुनी
“ॐ मणि पद्मे हुँ“ भन्दैनन् रे लामाले
वर्षौं भएछ रोधीगाउँमा रोधी नगाएको
वर्षौं भएछ मादल र सारङ्गी नबजेको
वर्षौं भएछ सालेजो र झाउरे ननाचेको ।
मसङ्गै हराएछन् मेरा दौतरीहरू पनि ।

म हिडेपछि गाउँबाट
मौलाएछ सिस्नो घारी
ढाकेछ ऐजेरूले उखुबारीलाई
झुल्दैनन् रे धानका बाला
फुल्कदैनन् रे आरूबखडाहरू
स्यालहरूको साम्राज्य बढेपछि
भुक्न थाडेछन् कुकुरहरू
रित्तिएछन् भेडी खोर
अन्धकार आएपछि गाउँमा
जगाउन छाडेछ भालेले
घुर्न छोडेछन् परेवाहरू
देखिन मात्रै आउछन् र शुक्रपनि ।

म हिडेपछि गाउँबाट
मलाई छोडन् हिडेका बा
फर्केका छैनन् रे गोरुजुरेबाट ।
म हिडेपछि गाउँबाट
आँगनसम्म आएकी आमा
पसेकी छैनन् र भान्सामा

हात खाली भएपछि
हिडेको हू म गाउँबाट
छोडेको हुँ डाँडाको चौतारी
तरेको हुँ राम्दीको पुल
भासिएको हूँ कंकृटको सहरमा ।

लड्दा लड्दै थाकेपछि
उठाएको हूँ हात, चालेको हूँ कदम
सम्झौता गरेको हूँ भोको पेटसङ्ग ।

कायर भएर छोडेको होइन गाउँ
धैर्यता टुटेको मनबाट
भक्कानो फुटेको छ मनबाट
गला अवरूद्ध पारेर बस्न सक्दिन म
मानवता हराएको सहरमा
सम्झौता तोडेर फर्कन चाहन्छु गाउँमा
सरकार तिमी काम दिन तयार छौ ?

– महानन्द ढकाल

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार