कृष्णहरि बास्कोटा÷
यो संसारमा प्रत्येक मानिस सुखी हुन खोज्छ, खुसी हुन चाहन्छ । तैपनि मानिस दुःखी छन् । तुलनात्मक रुपमा आफ्नो काममा सधैँ व्यस्त रहने मानिस प्रायः खुसी हुन्छन् । सुखी र खुसी रहने सूत्र हो, इमानदार सोच हो । अर्काको भलो चिताउने व्यक्ति स्वतः सुखी र खुसी हुन्छ । संसारमा सुखी मानिस ती होइनन्, जसले धेरै पाएका छन् । सुखी मानिस त ती हुन्, जसले अरुलाई दिएका छन् । जति वितरण ग¥यो उति बढ्ने चीज हो, ज्ञान । आफूसँग भएको ज्ञान बाँड्दा आफैँ खुसी भइन्छ ।
कालको मुखमा पुगेका बिरामीलाई पुनर्जीवन दिन सक्दा डाक्टर खुसी हुन्छन् । आफूले बनाएको घर ७÷८ रेक्टर स्केलको भूकम्पमा पनि नढल्दा इन्जिनियर खुुसी हुन्छन् । जो मानिस स्वस्थ रहन्छ, ऊ पनि खुसी हुन्छ । यथार्थमा, सुख–दुःख मानिसको आफ्नो अनुभूतिजन्य विषय हो । कविशिरोमणि लेखनाथ पौड्याल लेख्नुहुन्छ ः उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? यसबाट खुसी प्राप्त हुन्छ । सबै जना विश्वलाई बदल्नेबारे सोच्छन् । तर आफैँलाई बदल्नेबारे भने कसैले पनि सोच्दैनन् ।
शिष्ट, सुशील र नरम शब्दमा बोल्न सक्नु सुनमा सुगन्ध नै मानिन्छ । यस्ले हामीलाई खुसी बनाउछ । सिन्दूर दलेका सबै ढुङ्गा देवता नै हुदैनन् । टीका र चन्दन लगाई घाँटीमा माला भिर्दैमा सबै धार्मिक व्यक्ति हुने पनि होईनन् । यस्ता भ्रमबाट मुक्त हुदा पनि खुसी भइन्छ । नेपालीले रक्सी पिएर अच्चाक्ली गरेका छन् । यी खुसी हुन पिउछन् र जीवनभर स्थायीरुपमा दुःखी हुन्छन् ।
समय गतिशील छ । यसर्थ, हामी समयको गतिसँगै बग्नु पर्छ । वासिङ मेसिनमा लुगा हालेपछि त्यहाँ पानी आउँछ । लुगामा डिटरजेन्ट पाउडर छरिन्छ । मेसिनले लुगा माड्छ, घुमाउँछ, बटार्छ । निकै समयपछि लुगा पखाल्छ, निचोर्छ र सुकाउँछ पनि । अन्त्यमा मेसिनबाट बाहिर निकाल्दा फोहोर लुगा सफा भएर निस्किन्छ । यस्तै हो हामी पनि । यसैलाई वाउन्न ठक्कर त्रिपन्न घुस्सा भनिन्छ । यस्ले मानिसलाई परिमार्जित गर्छ र खुसी बनाउछ ।
ह्याबिट कम्स फ्रम ह्याबिट अर्थात् बानीले बानी पार्छ । मनी अट्रयाक्टस् मनी अर्थात् धनले धन तान्छ । श्रृणले श्रृण बढाउछ ।
अँध्यारोले अँध्यारो धपाउन सक्दैन । प्रकाशले सक्छ । घृणाले घृणा हटाउन सक्दैन । प्रेमले सक्छ । यस्तो ज्ञानबाट खुसी बढाउन सकिन्छ । असल मित्र पाउनु भनेको एक हजार आफन्तबराबरको धनी हुनु हो । असल मित्र पाउनु भनेको सिङ्गो जीवन नै सफल हुनु हो । राजा भर्तृहरि भन्नुहुन्छ– मित्रता यस्तो चीज हो जसले लिन होइन, दिन सिकाउँछ ।
आदर चाहनेले पहिले अर्कालाई पनि आदर गर्नुपर्छ । पुरानो कोट लगाएर पनि नयाँ किताब किन्नुपर्छ । म्यान मेड पर्फेक्ट बाई प्राक्टिस अर्थात् मानिस अभ्यासले नै खारिन्छ । भनिन्छ, मानिस आउँदाको पहिचान लुगाले बताउँछ र जाँदाको पहिचान क्षमताले पुष्टि गर्छ । मान्छेको गुण मृदुभाषी हुनु हो । त्यसैले भनिन्छ, जिब्रो सुध्रियो भने जीवन सुध्रिन बेर लाग्दैन । रिसले मान्छे स्वयम्लाई जलाउँछ । फलाम तातेपछि त्यसकोे स्वरूप बिग्रने सम्भावना हुन्छ । मानिसको विश्वसनीयता भनेकै आफ्नो निश्चित विशेषतामा सदाबहार हुनु हो । यस्ता मानिसमा खुसी पनि सदाबहार नै बनेर बसिरहन्छ ।बेरोजगार मानिस दुःखी हुनु स्वाभाविकै हो । तर, जब उसले रोजगारी पाउँछ, स्थायी रुपमा दुःखी हुन थाल्छ । यो विडम्बनाको विषय हो । कसैको लोकमा छैन एकैनास समुन्नति ? अरुको के कुरा हेर, सन्ध्यामा सूर्यको गति । मानिसले सुख खोजे सुख पाउँछ, दुःख रोजे दुःख नै पाउँछ ।
जो ऊ आफू जान्दैन र जान्दिनँ भन्ने पनि जान्दैन, ऊ मूर्ख मानिस हो । त्यसलाई छुट्याऊ । जो ऊ आफू जान्दैन तर जान्दिनँ भन्ने जान्दछ, ऊ साधारण हो । त्यसलाई सिकाऊ । जो ऊ आफू जान्दछ, तर जान्दछु भन्ने जान्दैन, ऊ सुषुप्त हो । त्यसलाई व्युझाऊ । जो ऊ आफू जान्दछ र जान्दछु भन्ने जान्दछ, ऊ ज्ञानी हो । त्यसलाई पछ्याऊ । यर्थाथमा, हामीले आफूलाई कदापि कमजोर ठान्नुहुँदैन ।
यस्तो सोच्नु महापाप मानिन्छ । महात्मा गान्धीले भन्नु हुन्छ, तिम्रा दुईओटा कान छन्, दुईपटक सुन । दुईओटा आँखा छन्, दुईपटक हेर र पढ । एउटा मुख छ, एकपटक बोल । यो कुरा बुझ– कहिलेकाही“ मौन रहनु पनि ठूलो हतियार प्रयोग गर्नु हो । अर्को कुरा बुझ, बोल्न बुद्धि भए पुग्छ । तर मौन रहन बुद्धि र विवेक दुवै चाहिन्छ । यसैले हामीले जोस निकाल्ने मात्रै होइन, होस पनि राखेर काम गर्नुपर्छ ।
असफलताको बारेमा चिन्ता होइन, बरु आफूले प्रयास नगर्दा छुट्ने अवसरका बारेमा चिन्ता गर्नुपर्छ । सूर्य उदाएपछि अस्ताउँछ, अस्ताएपछि रात पर्छ । यो प्रकृतिको नियम निरन्तर चलिआएको छ । हाम्रो जीवन पनि यस्तै हो । खुसी हुने बानी परेपछि दुःखी हुन बिर्सिइन्छ । ज्ञानी भएपछि चाहेर पनि अज्ञानी हुन सकिन्न ।
मूल कुरो जीवनलाई शान्त र मधुर तुल्याउनुपर्छ । आपूmलाई समयानुसार परिवर्तन गर्दै लैजार्नुपर्छ । जीवनमा सज्जन मित्र पाउन कठिन छ । गुण–दोष सबैमा हुन्छ । अवगुणको तुलनामा गुण धेरै भएको मानिसलाई नै असल भनिन्छ । उनीहरुसंग संगत गर्नुपर्छ ।
जीवनको रहस्य बुझेपछि जीवन स्वतः सुखमय हुन्छ । बुभ्mनु पर्ने कुरा भनेको, नबोलाएको कार्यक्रममा नजानू ! आपूmलाई थाहा नभएको विषयमा नबोल्नू ! आपत्कालीन अवस्थामा बाहेक रातिको समयमा कसैलाई पनि फोन नगर्नू ! खाइरहेको मानिससँग भेटघाट नगर्नू ! शौचालय प्रयोग गरेपछि पानी हालेर सफा गर्नू ! सधैँ सत्य बोल्नू ! कृपया र धन्यवाद शब्दको व्यापक प्रयोग गर्नू ! सबैप्रति दयालू हुनू ! आपूmसँग भएको चीज बाँड्नू ! अर्कासँग भएको चीजको आशा नगर्नू ! बोल्दा शब्द चयनमा संवेदनशील हुनू ! प्रत्येक दिन बिहान ‘टू डू लिस्ट’ बनाउनू ! प्रत्येक राति सुत्नुअघि दिनभरको डायरी तयार गर्नू !
यसैगरी, अपरिचितलाई बास नदिनू ! अविश्वासीलाई आन्तरिक कुरा नदिनू ! स्वार्थीलाई माया नदिनू ! आफन्तलाई धन नदिनू ! बैगुनीलाई गुन नदिनू ! कपटीलाई भावना नदिनू ! मूर्खलाई उपदेश नदिनू ! साथीलाई ऋण नदिनू ! घमण्डीलाई साथ नदिनू ! लिनै चाहन्छौ भने आशीर्वाद र ज्ञान लिनू ! मार्न चाहन्छौ भने खराब इच्छालाई मार्नू ! गर्न चाहन्छौ भने दुःखीको सेवा गर्नू ! बोल्न चाहन्छौ भने सत्य बोल्नू ! देख्न चाहन्छौ भने आफ्नो अवगुण देख्नू ! सुन्न चाहन्छौ भने गरिबको पुकार सुन्नू !
यस अतिरिक्त, खान चाहन्छौ भने रिसलाई खानू ! चिन्न चाहन्छौ भने सत्यलाई चिन्नू ! हिँड्न चाहन्छौ भने सेवाको मार्गमा हिँड्नू ! उठ्न चाहन्छौ भने सङ्कीर्णताबाट माथि उठ्नू ! हाँस्न चाहन्छौ भने आफ्नो दुःखमा हाँस्नू ! यस्ले जीवनलाई खुसी बनाउछ ।
जहाँ बुद्धिमान् हुन्छन्, त्यहाँ संवाद हुन्छ । जहाँ मूर्ख हुन्छन्, त्यहाँ विवाद हुन्छ । सकारात्मक सोचले विश्वास, प्रेम, शान्ति, उत्साह, प्रेरणा, आनन्द, सिर्जनशीलता आदि जागृत गर्न मद्दत गर्छ । नकारात्मक सोचले दुःख, बेइमानी, स्वार्थ, चिन्ता, निराशा, लोभ, संशय, अनिश्चितता, छटपटी, उदासिनता, एकलकाटेपनको विकासलगायत अवनतिको मार्गमा लैजान्छ । त्यस्तै, सकारात्मक सोचले उन्नति र प्रगतिको मार्गमा डो¥याउँछ भने नकारात्मक सोचले निराशा र कुण्ठातर्फ धकेल्छ । सकारात्मक सोचको विकास गर्न सधैँ मुस्कुराउनुपर्छ ।
औषधि तीतो भए पनि त्यसको गुण मीठो हुन्छ । कसैको कुरा छुच्चोजस्तो लागे पनि यथार्थलाई स्विकार्नुको विकल्प हुँदैन । कोही मानिस जति नै उमेरले पाको भए पनि आफ्नो सौन्दर्य गुमाउँदैनन् । कारण, उनीहरुले अनुहारको सुन्दरता मुटुमा सार्छन् । सुन्दरता यथार्थमा ज्ञान हो । बुद्धिमत्ता हो । विवेक हो । चेतना हो ।
हामी कसैलाई पर्खिरहेका छौँ भने समय निकै धिमा गतिमा हिँडेको अनुभूति हुन्छ । कुनै शोकमा या दुःखमा रहँदा त्यतिखेरसमय निकै निर्दयी लाग्छ । त्यस्तै जब शारीरिक पीडा भइरहेको हुन्छ, समय कहिल्यै नसकिएको अनुभव हुन्छ । भनिन्छ– समय आउँछ पर्खिंदैन, बगेको खोला फर्किंदैन । यसर्थ, समय निकै बलवान् छ । संसारका प्रायः सबै मानिस आपूmलाई उपलब्ध समय उपयोग गर्नुको सट्टा खेर फाल्नतिर लाग्छन् । समय पट्यारलाग्दो हुन्छ । यसको मुख्य कारण समयको महत्व नबुझ्नु या त्यसको उपयोग नगर्नु नै हो ।
यसरी एकातिर समय बढी भएजस्तो लाग्छ भने अर्कोतिर हामीलाई समय नपुगेको भान पनि हुन्छ । लर्ड चेस्टरफिल्ड भन्नुहुन्छ, ‘म तिमीलाई मिनेटको ख्याल राख्न सुझाव दिन्छु । घण्टाले त आफ्नो ख्याल आफैँ राख्छ ।’ गतिशील समयमा जो सँगसँगै हिँड्न सक्छ, उसले प्रगति गर्छ । बेन्जामिन फ्राङ्कलिन भन्नुहुन्छ, ‘तिमी ढिलो गर्न सक्छौ । तर समयले गर्दैन ।’ त्यसो त समय पक्षपाती छैन । यो सबैका लागि समान रुपमा उपलब्ध छ । समय पैसाभन्दा निकै अमूल्य छ । तथापि समय निकै निर्दयी रहने गरेको कुरा अनुभवले पुष्टि गरेको छ । यी कुरा बुझ्ने खुसी हुन्छ ।
सुखमा हाँस्ने हजार जना साथीभन्दा दुःखमा साथ दिने एक जना साथी नै प्रिय र आफन्तजस्तो हुन्छ । मित्रताका विषयमा डा. एपिजे अब्दुल कलाम भन्नुहुन्छ, ‘एउटा राम्रो किताब एक सय जना साथीबराबर हुन्छ । तर एउटा राम्रो साथी एउटा पुस्तकालयबराबर हुन्छ ।’ अर्को भनाइ छ, ‘असल मित्रहरू जाडोमा हिउँ एकढिक्का भएझैँ सधैँ एकठ्ठा भइरहन्छन्, ती पग्लिँदैनन् । तर स्वार्थी मित्रहरु गर्मी मौसममा हिउँ पग्लिएझैँ छिट्टै विलीन हुन्छन् । आकाशतिर फर्किएर थुकेमा आफ्नैमाथि पर्छ । यसर्थ, मित्रता कमाउन र शत्रुता कमाउने स्वयंले हो ।
बालकृष्ण सम भन्नुहुन्छ, ‘म सबै जान्दछु भन्ने जसलाई घमण्ड छ, त्यसले वास्तवमा केही पनि जानेको हुँदैन ।’ गुरूबाट ज्ञान तथा बुबा–आमाबाट सङ्घर्ष र संस्कार सिक्नुपर्छ । बाँकी जो बचेको छ, त्यो दुनियाले सिकाइदिन्छन् । नजिक भएपछि, सङ्गत गरेपछि या व्यवहार गरेपछि मात्रै मान्छे चिनिने हो । टाढाबाट हेर्दा त चन्द्रमा पनि एकमुठीको देखिन्छ । यो अल्पज्ञानको भ्रम मात्रै हो । यसर्थ, २५ वर्ष पढाइ, २५ वर्ष कमाइ, २५ वर्ष दबाइ, त्यसपछि बिदाइ ! के छ र जिन्दगी आखिर, बाँचौँ रमाई–रमाई । यो पनि सुख हो ।
ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल । मनी इज लस, नथिङ इज लस । हेल्थ इज लस, समथिङ इज लस । क्यारेक्टर इज लस, एभ्रिथिङ इज लस । यो कुराको हेक्का राख्नै पर्छ । तिमी आँसु झार, कसैले हेर्दैन । दुःखी होऊ, कसैले सोध्दैन । तिमीलाई शारीरिक पीडा भइरहेको छ त्यो पनि कसैले महसुस गर्दैन । तर जब गल्ती गर्छौ, सबैको ध्यान तिमीतिरै पर्छ । जीवन एक पाठशाला हो । समयले सधैँ सिकाइरहन्छ, हामी पढिरहन्छौँ । नबिर्सौं, मानिस समयको दास हो ।
जिन्दगीको सबैभन्दा ठूलो हतियार भनेको हिम्मत हो । मनबाटै हिम्मत गरियो भने एक्लै भए पनि जिन्दगीको गोरेटोमा हिँड्न सकिन्छ । साँपको दाँतमा विष हुन्छ । झिँगाको शरीरमा विष हुन्छ । बिच्छीको पुच्छरमा विष हुन्छ । तर दुष्टजनको सबै अङ्गमा विष भरिएको हुन्छ । बुद्धिमान् एवम् क्षमता भएका मानिसलाई नसुहाउने कुरा भनेको घमण्ड हो ।
हामी जस्तो व्यक्तिको सङ्गत गर्छौँ, सोहीअनुसारको फल पाउँछौँ । अम्बाको बेर्ना रोपेर स्याउ फलाउन सकिँदैन । भनिन्छ, १० मिनेट श्रीमान् या श्रीमतीसँग बस्नुस्, जीवन कठिन छजस्तो लाग्छ । १० मिनेट जँड्याहासँग बस्नुस्, जीवन सजिलै चल्छजस्तो लाग्छ । १० मिनेट साधुसँग बस्नुस्, सबै वस्तु दान गरी स्वछन्द जीवन जिउन मन लाग्छ । १० मिनेट नेतासँग बस्नुस्, सबै पढे–लेखेको र अनुभव हासिल गरेको बेकारजस्तो लाग्छ । त्यस्तै १० मिनेट बिमा एजेन्टसँग बस्नुस्, बाँच्नुभन्दा मर्नु फाइदाजनक लाग्छ । १० मिनेट कुनै व्यापारीसँग बस्नुस्, आफ्नो कमाइ त केही पनि होइन रहेछजस्तो लाग्छ । १० मिनेट वैज्ञानिकसँग बस्नुस्, आपूm त कति मूर्ख र अज्ञानी रहेछु भन्ने लाग्छ । १० मिनेट असल शिक्षकसँग बस्नुस्, पुनः विद्यार्थी बन्न मन लाग्छ । १० मिनेट किसान–मजदुरसँग बस्नुस्, आपूm त निकै अल्छी, कुनै श्रम नै नगर्ने रहेछुझैँ लाग्छ । त्यस्तै १० मिनेट कुनै सैनिकसँग बस्नुस्, आपूmले जागिरमा गरेको त्याग निकै कम लाग्छ । असल मित्रसँग १० मिनेट बस्नुस्, आफ्नो जीवन निकै राम्रो भएको महसुस हुनेछ ।
१० मिनेट मसानघाटमा लाससँग बस्नुस्, सबै वस्तु त्यागेर हिडौँझैँ लाग्छ ।
एउटा गाजरलाई दुई टुक्रा बनाएर एउटालाई चिनीको चास्नीमा र अर्कोलाई नुन लगाएर राख्दा त्यो केही दिनपछि एउटा जाम र अर्को टुक्रा अचार बन्छ । गाजर उही हो । तर नतिजा अलग अलग । जीवनमा प्राप्त हुने ठक्कर, नोक्सानी, असफलताजस्ता कुराले पनि मानिसलाई परिवर्तन हुन सघाउँछ । यसर्थ, हरेक मानिसले आफूलाई समयानुकूल परिवर्तन गर्नुपर्छ । यस्तो परिवर्तन आपूmले र अरुले पनि महसुस गर्नुपर्छ । भनिन्छ, अर्काको गल्तीबाट सिक, आफैँ गल्ती गरेर सिक्न तिम्रो आयु लामो छैन ।
महान् वैज्ञानिक थोमस एल्वा एडिसन भन्नु हुन्छ, जीवनमा आत्मसमर्पण नगर । कडा मिहिनेतको विकल्प छैन । कुनै पनि योजनाको मूल्य यसको प्रयोगमा निर्भर रहन्छ । दुनियामा कोही पनि सन्तुष्ट छैन । तपाईसँग के छ भन्ने होइन, तपाईं को हो भन्नेले तपाईंको मूल्य निर्धारण गर्छ । मैरा कुनैपनि काम भवितव्यले भएनन्, तिम्रापनि हुदैनन्, यसर्थ, मिहिनत गर । खुसीको गोरेटो यहि हो ।
(नेपाल सरकारका सेवा निवृत्त सचिव,सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाद्धारा लिखित खुसीको गोरेटो पुस्तक अंश)
प्रतिक्रिया दिनुहोस्