धमाधम रूख काटिँदा वन कार्यालय मूकदर्शक



वनभित्रै कृषि खेतीदेखि चोरी तस्करीसमेत हुने गरेको छ । ठूलो वन भएकाले धमाधम रूख कटान गरी आरामिलसम्म पुग्छ तर वन कार्यालय भने मूकदर्शक बनिरहेको छ ।
शेरबहादुर ऐर । कैलाली ।

चारैतिर ठूला–ठूला रूखहरू छन् । बीचमै रूख कटान गरी खुला खेत बनाइएको छ । यो दृश्य हो, कैलारी गाउँपालिका वडा नम्बर ९ स्थित लम्बीफाँटा र समाज सुधार सामुदायिक वन क्षेत्रको । यो वनमा नेत्रविक्रम चन्द विप्लव ‘स’को कार्यकर्ता हुँ भन्दै स्थानीय रामप्रकाश चौधरीले कृषि गरिरहेको स्थानीयहरू बताउँछन् ।

चौधरीले समाज सुधार सामुदायिक वनको तीन बिघा र लम्बीफाँटाको सात बिघा अतिक्रमण गरेको स्थानीयहरूको भनाइ छ । समाज सुधारको वनभित्र उनले घर पनि बनाएका छन् । समाज सुधार सामुदायिक वनका निवर्तमान अध्यक्ष रमेश चौधरीले भने, ‘वन अतिक्रमण मात्र नभई रामप्रकाशले रूखहरू कटान गरेर आरामिलमा समेत पठाउने गरेका छन् ।’

उनले जंगल ठूलो भएकाले चोरी निकासी रोक्न कठिनाइ हुने गरेको बताए । उनले भने, ‘जंगल क्षेत्र ठूलो छ । यहीँको आरामिलसँगको मिलेमतोमा रातारात रूखहरू कटान हुने गरेको छ । त्यसैमा पार्टीको धम्की दिई वन समूहबाटै रकम असुल्ने गरेका छन् ।’

सामुदायिक वनका अध्यक्ष जगन्नाथ चौधरीले रामप्रसादलाई पटक–पटक काठ ओसार–पसार गर्ने गतिविधिमा रसिद काटेको बताए । उनले भने, ‘यही असोजमा पनि उनीबाट ६ लठ्ठा काठ बरामद भएको थियो । हामीले चार पटक रसिद काटिसकेका छौँ तर, रकम नै तिर्दैनन् ।’

लम्बीफाँटा सामुदायिक वनका अध्यक्ष दिलीप चौधरीले भने वन अतिक्रमण गरेर बसेका रामप्रसादको संरक्षण गरे । उनले भने, ‘रामप्रसादले आफूखुसी रूख काट्न लागेपछि छलफल गरेर सहमति गरेका हौँ । अहिले उनले पुरानै क्षेत्रमा कृषि गरिरहेका छन् । वन अतिक्रमण गरेर कृषि गरेकोबारे जानकारी छैन ।’

वन अतिक्रमण गरेर कृषि गरेका रामप्रसादले उल्टै सामुदायिक वनबाट रकम लिएको स्थानीयहरू बताउँछन् । लम्बीफाँटाले वन अतिक्रमण हटाउने क्रममा रामप्रसादले कृषिमा क्षति पु¥याएको भन्दै सामुदायिक वनबाट २६ हजार रकम असुल गरेको स्थानीयको भनाइ छ ।

तत्कालीन शव डिभिजन कार्यालय फूलबारीका वन अधिकृत लोकराज दाहालको मिलेमतोमा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको स्थानीयको आरोप छ । उनीहरू भन्छन्– ‘वनका अध्यक्षहरूले वन अधिकृत दाहाललाई पटक–पटक गुनासो गर्दासमेत वन अधिकृतले केही गरेनन् । अहिले पनि उनले वनभित्र कृषि क्षेत्र बढाउँदै लगेका छन् ।’

निवर्तमान अध्यक्ष रमेशले भने, ‘सामुदायिक वनको पदाधिकारी भइसकेपछि सबैभन्दा बढी माया वनकै लाग्छ । तर, यसरी वन क्षेत्र अतिक्रमण भएको देख्न सकिँदैन । हामीले रोक्न खोज्दा रामप्रकाशले पार्टीको धम्की दिने गरेका छन् ।’

वन र सहकारीमा बढ्दो चन्दा आतंक

कैलारी गाउँपालिकाका विभिन्न सामुदायिक वन तथा सहकारीमा विप्लव ‘सी’ ले विभिन्न बहानामा चन्दा असुल गर्ने गरेको पाइएको छ । सामुदायिक वन र सहकारीबाट अभियान गर्ने, पार्टीको सम्मेलन गर्नेलगायतका नाममा चन्दा संकलन भइरहेको पाइएको हो ।

समाज सुधार सामुदायिक वनबाट रामप्रकाशले पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भन्दै २० हजार रकम सहयोगका नाममा असुल गरेको रसिद फेला परेको छ । अहिले वनको आन्तरिक लेखा परीक्षण (आलेप) गरिरहेका एक व्यक्तिले भने, ‘वनभित्र विप्लव ‘सी’ पार्टीले सम्मलेन र अभियान गर्ने नाममा रकम असुल गरेको पाइएको छ ।’

युवा संगठन नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन २०८० चैत २४ गतेदेखि २८ सम्म भएको भन्दै चैत २८ गते ५ हजार ५ सय रूपैयाँ रौरा बाबा विद्युत सहकारी संस्थाबाट चन्दा असुल गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कार्यसमिति कैलालीले २०८० पुसमा वनदेवी सामुदायिक वनबाट ८ हजार रकम लिएको पाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार