सुर्खेत ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनशक्ति अभाव झेलिरहेको छ । आमनागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय जनशक्ति अभावमा पिल्सिएको हो । ६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयलाई आवश्यक जनशक्ति नहुँदा काम गर्न समस्या भइरहेको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले बताए ।
उनका अनुसार २१ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालयमा १४ जना मात्र कर्मचारी कार्यरत रहेका छन् । सात जनाको दरबन्दी रिक्त छ । नागरिकका आधारभूत आवश्यकतासँग जोडिएर काम गर्ने कार्यालय भए पनि पर्याप्त कर्मचारी नहुँदा लक्ष्यअनुसारको काम गर्न नसकिएको उनले बताए ।
कार्यालयको कार्यक्षेत्रअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, रूकुम–पश्चिम, डोल्पा र हुम्ला पर्छन् । जनशक्ति अभाव हुँदा अपेक्षित काम गर्न नसकिएको निमित्त प्रमुख थापाको भनाइ छ । उनका अनुसार विभिन्न पदमा गरी दश कर्मचारी करारमा कार्यरत छन् । कार्यालयका लागि कम्तीमा दुईवटा चारपांग्र्रे गाडीसमेत आवश्यक पर्ने भए पनि उपलब्ध छैन ।
पर्याप्त जनशक्ति नहुँदा बजारमा मापदण्डविपरीत र जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य पदार्थको बेचबिखन खुलेआम हुने गरेको छ । राज्य संयन्त्रको कमजोरीको फाइदा उठाउँदै खासगरी कतिपय खाद्य उद्योग, होटेल रेस्टुरेन्ट, सडकमा राखेर बेचिने खाद्य पदार्थ, दाना उद्योग, प्रशोधित पिउने पानी उद्योगको गुणस्तरमा उद्योगी व्यवसायीले जनस्वास्थ्यमाथि खेलवाड गर्ने गरेका छन् ।
प्रदेश सरकार, गाउँ तथा नगरपालिकाहरूबाट बजार अनुगमनमा सहयोगको बारम्बार माग हुन्छ तर पर्याप्त जनशक्ति साधन स्रोत नहुँदा गर्नुपर्ने जति काम गर्न नसकेको कार्यालयले स्वीकार गरेको छ । कतिपय अनुसन्धानका कामसमेत हुन नसकेको उनले बताए ।
उनले भने, ‘दरबन्दी अनुसारको कर्मचारी नहुनाले सेवा प्रवाहमा कठिनाइ छ । जनस्वास्थ्यसँग जोडिएको कार्यालयलाई माग र आवश्यकता अनुसार जनशक्ति र साधन स्रोत दिने कुरामा सरकारको ध्यान छैन ।’
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले पनि जनशक्ति अभाव झेलिरहेको छ । उक्त कार्यालयले तीन जिल्लामा सेवा दिइरहेको छ । कालीकोट, जुम्ला र मुगुमा कार्यालयले सेवा दिइरहेको हो । चार जनाको स्थायी दरबन्दी रहेको उक्त कार्यालयमा तीन जना कार्यरत रहेका छन् । एक जनाको दरबन्दी रिक्त छ ।
‘तीन जिल्ला हेर्ने कार्यालयमा तीन जना कर्मचरी कार्यरत हुँदा एक कर्मचारीको भागमा एक जिल्ला पर्छ । जनशक्ति र साधन स्रोतको अभावमा लक्ष्य अनुसारको काम गर्न सकिएको छैन,’ कार्यालय प्रमुख पंकज दाहालले भने, ‘कार्यक्षेत्र धेरै, कामको चाप अधिक र त्यसअनुसार स्रोत–साधन नहुँदा काम गर्न समस्या भएको छ ।’
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले त्रैमासिक प्रगति समीक्षा सम्पन्न गरेको छ । कार्यालयले सोमबार दोस्रो त्रैमासिक गतिविधिको समीक्षा गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्य वस्तुको गुणस्तर जाँच्न प्रयोगशाला सेवा दिने, उद्योग सञ्चालनका लागि अनुज्ञा–पत्र जारी गर्नेलगायतका काम गर्छ । चालु आर्थिक वर्षको हालसम्मको प्रगति भने सन्तोषजनक नरहेको कार्यालय प्रमुख बताउँछन् ।
कार्यालयले ५६ दशमलव ५२ प्रतिशत भौतिक प्रगति गरेको छ भने वित्तीय ५७ दशमलव ५२ प्रतिशत मात्र गरेको छ । चालु आर्थिक वर्षको हालसम्म ४ सय २० पटक निरीक्षण अनुगमन गरिएको छ । जसमा खाद्य निरीक्षण अधिकारीबाट २ सय १२ पटक र संयुक्त अनुगमन २ सय आठ पटक गरिएको हो । अनुगमनको क्रममा भेटिएका ४ लाख ६३ हजार बराबरका म्याद नाघेका सामान नष्ट गरिएको छ ।
यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जनस्तरसम्म कार्यालयले सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । तर ग्रामीण ठाउँसम्म कार्यालयको पहुँच पुग्न नसकेको उनले बताए । सीमित स्रोत–साधन अभावकाबीच पनि कार्यालयको काम गरिरहेको भन्दै जनशक्ति व्यवस्थापनमा आफूले सक्दो पहल गर्ने उनले बताए । तर यो कार्यालय केन्द्रीय सरकारको मातहतमा रहेपनि सहजताका लागि आवश्यक पहल थालिने शाहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्