लुम्बिनी प्रदेशका डायलासिस नहुने जिल्लाबाट मानिसहरू दाङ, नेपालगन्ज वा बुटवल पुग्नुपर्ने अवस्था थियो । पहिले बर्दियाका डायलासिस गराउनुपर्ने बिरामीहरू नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पुग्ने गरेका थिए । यसबाहेक केही निजी क्लिनिकमा पनि डायलासिस गराउने गरेका थिए । लुम्बिनी प्रदेश सरकारले हेमोडायलासिस सेवालाई मातहतका सबै अस्पतालहरूमा बिस्तार गर्दै लैजाने नीति लिएपछि यस्ता बिरामीलाई सहज भएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।बर्दिया गुलरियाका ७६ वर्षीय रामकुमार चुँदाली पौडेल ६ वर्षदेखि डायलासिस गराउँदै आएका छन् । उनले करिब पाँच वर्ष डायलासिस सेवा लिँदा पाउनु दुःख पाए । सुरुमा मुटुको पनि समस्या देखिएपछि उनले काठमाडौँमा डेरा लिई बसेर डायलासिस गराउनुप¥यो । हप्तामा दुई पटकभन्दा बढी डायलासिस गराउनुपर्ने उनले नर्भिक अस्पतालमा एक पटकमा करिब १५ हजारसम्म खर्च गरेर डायलासिस गराएको बताए । जब बर्दिया जिल्ला अस्पतालमै डायलासिस सेवा सुरु भयो उनको डायलासिसमा हुने खर्च शून्यमा झरेन मात्रै, व्यहोरिरहेको आधा झन्झट नै समाप्त भयो ।
२०८१ साल वैशाख ११ गते बर्दिया जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको थियो । प्रदेश स्तरका अस्पतालहरूमा हेमोडायलासिस सेवा बिस्तार गर्ने लुम्बिनी प्रदेश सरकारको योजना मुताबिक उक्त अस्पतालमा सेवा सुरु गरिएको थियो । बर्दिया अस्पतालसहित अहिले लुम्बिनी प्रदेश सरकारमातहतका राप्ती प्रादेशिक अस्पताल, गुल्मी अस्पताल र रामपुर अस्पताल, पाल्पामा डायलासिस सेवा बिस्तार भइसकेको छ ।
जिल्लास्थित अस्पतालहरूमै डायलासिस सेवा बिस्तार भएपछि बिरामीहरूलाई यातायात खर्चदेखि लिएर टाढाको अस्पताल पुग्दा हुने खानालगायतको खर्च हुनबाट जोगिएको छ । साथै, ठूला अस्पतालहरूमा बिरामीको चापका कारण समयमा डायलासिस सेवा नपाउने समस्यामा कमी आएको छ । भेरी अस्पतालको डायलासिस विभागका प्रमुख डा. पारश श्रेष्ठ अहिले जिल्लास्तरका अस्पतालहरूमा हेमोडायलासिस सेवा सुरु भएपछि भेरी अस्पतालमा चाप घटेको बताउँछन् । ‘पहिले डायलासिसको सुविधाका लागि धेरै जिल्लाका बिरामी भेरी अस्पतालमै केन्द्रित हुन्थे । चाप धान्नै गाह्रो हुन्थ्यो । अहिले केही जिल्ला अस्पतालमै सेवा सुरु भएपछि बिरामीसँगै हामीलाई पनि सहज भएको छ,’ डा. श्रेष्ठले भने ।
बर्दियाको गुलरियाकै ३५ वर्षीय सीताराम चौधरी २ वर्षदेखि डायलासिस गराउँदै आएका छन् । हप्तामा कम्तिमा दुईपटक डायलासिस गर्नुपर्ने सीतारामले करिब डेढ वर्षसम्म गुलरियाबाट ४० किलोमिटर टाढा नेपालगन्ज आएर सेवा लिनुपथ्र्याे । भेरी अस्पतालमा बिरामीको चापका कारण पालो पाउन समस्या हुने, पालो आए पनि ढिलो हुँदा घर फर्किन नसकिने, घर फर्किन नसक्दा नेपालगन्जमै बास बस्नुपर्नेलगायतका समस्या दुई वर्षसम्म भोगेको उनको अनुभव छ । अर्काेतिर डायलासिस गरिसकेपछि हुनुपर्ने आराम पनि गर्न नपाई गाडीको यात्रा गर्नुपर्दा सकस हुने गरेको उनकी श्रीमती अमृता चौधरीले बताइन् । ‘अहिले त घरनजिकै छ । सजिलै पुग्न सकिने भएको छ । पालो पनि सहजै पाइन्छ,’ उनले भनिन् ।
लुम्बिनी प्रदेशका डायलासिस नहुने जिल्लाबाट मानिसहरू दाङ, नेपालगन्ज वा बुटवल पुग्नुपर्ने अवस्था थियो । पहिले बर्दियाका डायलासिस गराउनुपर्ने बिरामीहरू नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पुग्ने गरेका थिए । यसबाहेक केही निजी क्लिनिकमा पनि डायलासिस गराउने गरेका थिए ।
डायलासिस गराउनका लागि टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न लुम्बिनी प्रदेश सरकारले हेमोडायलासिस सेवालाई मातहतका सबै अस्पतालहरूमा बिस्तार गर्दै लैजाने नीति लिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा कपिलवस्तु, पृथ्वीचन्द्र अस्पताल र प्युठान अस्पतालमा हेमोडायलासिस सेवा बिस्तारका लागि प्रक्रिया सुरु भइसकेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी मानबहादुर वलीले जानकारी दिए ।
डायलासिस गराउनुपर्ने बिरामीले १ लाखसम्मको खर्च तिर्नुपर्दैन । डायलासिस गर्दा लागेको खर्च संघ सरकारले विपन्न नागरिक उपचार कोषबाट अस्पताललाई सोधभर्ना गर्छ ।
मेसिन र सिफ्ट थप्नुपर्ने अवस्था
६ वटा मेसिनबाट डायलासिस सेवा दिँदै आएको बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेयले जानकारी दिए । तीमध्ये एउटा मेसिन इमरजेन्सी अवस्थामा आउने बिरामीका लागि छुट्याएर एक दिनमा पाँच जनाको डायलासिस गर्ने व्यवस्था मिलाइएको छ । एक जनालाई हप्तामा कम्तिमा दुई पटक डायलासिस गर्नुपर्ने हुन्छ ।
जनशक्ति अभावका कारण एक सिफ्ट मात्रै सञ्चालन हुने अस्पतालमा अहिले १८ जना बिरामीलाई सेड्युलमा राखिएको छ । थप २० जना बिरामीले पालो पाउनका लागि नाम लेखाएका छन् । अस्पतालका मेडिकल अफिसर डा. मनीषकुमार यादवका अनुसार दुईवटा सिफ्टमा सञ्चालन भएमा एक हप्तामा ३० जना बिरामीको डायलासिस गर्न सकिने हुन्छ । त्यसका लागि जनशक्ति थप गर्ने तयारी भइरहेको उनले बताए ।
यसैगरी, राप्ती प्रादेशिक अस्पतालमा अहिले १४ वटा मेसिन छन् । तर तीमध्ये ८ वटा मेसिन मात्रै सञ्चालनमा छन् । अरू मेसिन बिग्रिएर थन्किएका छन् । अस्पतालका डायलासिस इन्चार्ज लीना भडेलले ४ वटा मेसिन मर्मत गर्नै नसक्ने गरी बिग्रिएका र दुईवटा मेसिन भने मर्मतका लागि प्राविधिक बोलाइएको जानकारी दिइन् । तर, हप्तामा ७० जना बिरामीलाई डायलासिस गर्ने सूचीमा राखिएको उनले बताइन् । उता, गुल्मी अस्पतालमा ५ वटा मेसिनबाट डायलासिस हुँदै आएको छ ।
बर्दिया अस्पतालका डा. यादवले नर्सका साथै चिकित्सक र मेसिन पनि थप गर्न सकिएमा बिरामीको चाप धान्न सहज हुने बताए । भेरी अस्पतालका डायलासिस विभाग प्रमुख डा. पारश श्रेष्ठ पनि भन्छन्, ‘मेसिनहरू थप्न सकिएमा र तालिमप्राप्त जनशक्ति थप्न सकिएमा सेवा थप प्रभावकारी हुन्छ । यसका साथै विशेषज्ञ चिकित्सकहरूको व्यवस्था नै गर्न सकिएन भने पनि कम्तिमा टेलिकम्युनिकेसनमा राखेर सेवा गुणस्तरीय बनाउन सकिन्छ ।
लुम्बिनी स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी डायलासिस सेवालाई थप सुदृढ गर्दै लैजाने प्रदेश सरकारको योजना रहेको बताउँछन् । उनले भने, ‘अहिले प्रदेश सरकारले पहिलो चरणमा सेवा नपुगेको अस्पतालमा सेवा बिस्तार गर्ने कामलाई प्राथमिकतामा राखेको छ । अर्काे चरणमा आवश्यकताका आधारमा मेसिनदेखि जनशक्ति थपेर सुदृढ गर्दै लैजाने योजना छ ।’
प्रतिक्रिया दिनुहोस्