१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरस्कार राशी बढाउने प्रस्ताव अर्थ मन्त्रालय पुग्यो



oppo_2

नन्दराम जैशी । सुर्खेत ।

आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाउने खेलाडी र टिमको पुरस्कार राशी बढाइने भएको छ । शुक्रबार कर्णाली प्रदेश रंगशालाको अनुगमन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १०औँ राष्ट्रिय खेलकुदमा कीर्तिमान बनाउने खेलाडी र टिमको पुरस्कार राशी बनाउन लागेको बताए ।

प्रतियोगिताको तयारीबारे जानकारी दिदैँ उनले भने, ‘नयाँ कीर्तिमान बनाउने, स्वर्ण रच्ने खेलाडी र समूह, रजत र कांस्य विजेता तथा टिम च्याम्पियन टोलीहरूलाई दिने पुरस्कार राशी बढाउने प्रस्ताव अर्थ मन्त्रालयमा पेश भएको छ । स्वीकृत आउन बाँकी छ ।’ यस्तै १०औँ खेलकुदमा सहभागी हुने खेलाडीले पाउने भत्ता बढाउने विषयमा पनि निर्णय भइसकेको छ । तर खेलाडीको पुरस्कार र भत्ताको बारेमा राखेपको प्रस्तावलाई अर्थ मन्त्रालयले पनि स्वीकृत दिने सदस्यसचिव घिसिङको अपेक्षा छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने खेलाडीलाई सरकारले छुट्टै ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरेको थियो । भने व्यक्तिगत स्वर्ण जित्नेलाई २५ हजार र समूहगत स्वर्ण जित्नेलाई १५ हजार रूपैयाँ प्रदान गरिएको थियो । रजत र कांस्य विजेतालाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

तर यसपटक खेलाडीको हौसलाका लागि सबै पुरस्कार राशी सर्वाधिक बनाउन खोजिएको सदस्यसचिव घिसिङले बताए । ‘राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न कर्णाली सक्षम छ । यसबारे प्रश्न धेरै आएका छन् । अब त्यसको जवाफ काम गरेर दिने हो’ उनले थपे, ‘नमूना कर्णाली रंगशाला प्रदेश सरकारले आफैँ बनाउनु देशकै उत्कृष्ट काम हो । यो स्तरमा कुनै पनि प्रदेशले काम गरेका छैनन् ।’

कुल सञ्चालन हुने ३६ वटा प्रतियोगितामध्ये राखेपले ३५ खेल प्रस्ताव गर्दा जसमध्ये कर्णालीले २४ वटा खेल सञ्चालन गर्ने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पेश गरेको प्रस्तावहरू निकै सह्रानीय रहेको उल्लेख गर्दै सदस्यसचिव घिसिङले खेलहरू २ चरणमा भएपनि सञ्चालन हुने बताए ।

‘अब छिट्टै खेल तालिका पनि प्रकाशन गर्ने तयारी छ । कर्णालीमा प्रतियोगिताका लागि सचिवालय पनि स्थापना हुनेछ’ उनले भने, ‘यहाँ अरुभन्दा बसोबास मुख्य चुनौत हो । यसमा निजी व्यवसाय नगरपालिका र प्रदेश सरकारले सपोर्ट गर्नुपर्छ ।’

कर्णाली खेलकुद सदस्यसचिव बिहिन

इतिहासमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता कर्णाली प्रदेशमा सञ्चालन हुन लागेको छ । तर राष्ट्रिय खेलकुदको तीव्र तयारी भइरहँदा कर्णाली प्रदेश खेलकुद परिषद् भने सदस्यसचिव बिहिन अवस्थामा परिषद्मा सदस्यसचिव विश्वमित्र संञ्यालको यही पुस गत ६ गतेदेखि नियुक्ति सकिएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले सदस्यसचिवको टुंगो लगाउने तयारी गरेको छ । ‘पुरानै पदाधिकारीलाई म्याद थप गर्ने वा नयाँ नियुक्ति गर्ने छलफल जारी छ’ उनले भने, ‘सकभर पुराना नयाँ मिलाएर समिति बनाउने प्रयास पनि रहनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २७ गते शनिबार