बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ को वडा कार्यालय अगाडिको हुलाकी सडकमा निर्माणाधीन कल्भर्टको मध्य भागमा बाइकको पाङ्ग्रा नै अड्किने खाली ठाउँ छ । जुन खाली ठाउँ टाढाबाट देखिँदैन । यसैमा अड्किएर मोटरसाइकल दुर्घटना बढेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बर्दियाका खुमेश सुवेदी र ध्रुव सलामी अहिले स्तरोन्नतिको काम चलिरहेको हुलाकी राजमार्ग हुँदै मंसिर ३ गते गुलरियाबाट नेपालगन्जतर्फ आउँदै थिए ।
मैनापोखर नपुग्दै बढैयातालको वडा नम्बर ७ को वडा कार्यालय अगाडिको हुलाकी सडकमै निर्माणाधीन कल्भर्टमा आइपुग्दा उनीहरू चढेको मोटरसाइकलको अगाडिको पाङ्ग्रा पुलको मध्यभागमा गएर अड्कियो । बाइक रोकिएर अगाडिको पाङ्ग्रामा मात्रै ठाडो भयो । मोटरसाइकल चलाइरहेका सुवेदी र पछाडि सवार सलामी टाउकोतिरबाट पुलमा बजारिन पुगे ।
‘मैले त हेलमेट लगाएकाले मुखमा चोट लागेन । अलिअलि चोट लागेको छ । तर साथीको मुखै ददारियो । पाँच दिन अस्पतालमा बसेर डिस्चार्ज भएका छन्,’ सुवेदीले मिसन टुडेसँग भने, ‘भाग्यले ज्यान जोगियो ।’
निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गको उक्त पुलको मध्य भागमा बाइकको पाङ्ग्रा नै अड्किने खाली ठाउँ छ । जुन खाली ठाउँ टाढाबाट देखिँदैन । नजिक पुगिसकेपछि मात्रै उक्त खाली ठाउँ देखिन्छ ।
जुन खाली ठाउँमा पसेर सलामीको अनुहार र मुखमा चोट लागेको हो । सुवेदीका अनुसार सलामीको नेपालगन्ज मेडिकल कलेजमा अनुहारको सर्जरी गरेर उपचार गर्नुपरेको छ । उपचारमा करिब डेढ लाखभन्दा बढी खर्च भइसकेको उनले बताए ।
‘त्यति व्यस्त सडकमा त्यस्तो धरापजस्तो ग्याप भएको पुल बनाएको छ । गल्तीले यस्तो भएको होस् या चाहे डिजाइन नै यस्तै होस्, जे जस्तो भए पनि दुर्घटनाको पूर्वानुमान गरेर त्यो स्थानमा कुनै संकेत वा त्यसको माथि इटा, ढुंगा, काठको पटरा वा प्लाई जस्ता बस्तु राखिदिएको भए सायद हामीले त्यो अवस्थाको सामना गर्नुपर्ने थिएन,’ सुवेदीले भने ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले पनि उक्त स्थानमा ठेकेदारको लापबाहीका कारण दुर्घटना हुन गएको स्वीकार गरेका छन् ।
मिसन टुडेको ध्यानाकर्षणपछि स्थलगत अनुगमन गरेका भण्डारीले ठेकेदारको असावधानीले उक्त दुर्घटना हुन गएको र पुल निर्माणाधीन अवस्थामै भए पनि जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्था नगरेको पाइएको उनले बताए । आफूले पुलको उक्त जोखिमयुक्त अवस्था सुधार गर्न र तत्कालका लागि यात्रुहरूले थाहा पाउनेगरी संकेतहरू राख्न निर्देशन दिएको उनको भनाइ छ ।
भण्डारीका अनुसार वास्तवमा उक्त स्थानमा बनेको पुल एउटा नभई ११ मिटर चौडाइ भएका दुईवटा छुट्टाछुट्टै पुल हुन् । जुन एकै ठाउँमा गाभेर एउटा २२ मिटर चौडाइको पुलको संरचना बनाइएको भण्डारीले बताए । ‘हाम्रो डीपीआरमा २२ मिटरको पुलको व्यवस्था छैन । त्यसकारण दुईवटा ११ मिटरका पुल बनाएर एउटा पुलको रूप दिइएको हो । तिनै दुईवटा पुलको बीचमा उक्त ग्याप बनेको हो,’ भण्डारीले प्रष्ट्याए ।
अहिले उक्त ग्याप देखिए पनि पुललाई अन्तिम रूप दिँदा उक्त ग्यापमाथि डिभाइडर राखिने उनले बताए । ‘अहिले ग्याप भएको ठाउँमा डिभाइडर राख्छौँ । दुईतिर दुई–दुई लेन गाडी गुड्न मिल्ने अवस्था हुन्छ,’ उनले भने । भण्डारीले केही दिनभित्रै उक्त ग्यापलाई बन्द गर्न निर्देशन दिइसकेको पनि बताएका छन् ।
निर्माण सुरक्षासम्बन्धी कानुनको अभाव
नेपालमा निर्माण सुरक्षासम्बन्धी कानुनको भने अभाव छ । यस्तोमा निर्माणका क्रममा हुने लापरबाहीका कारण हुने क्षतिपूर्तिको विषयमा स्पष्ट कानुनी व्यवस्था नै छैन । सम्झौताका बेला भने निर्माणका क्रममा हुने दुर्घटना तथा क्षतिको जिम्मा ठेकेदार पक्षको हुने भने उल्लेख गरिएको हुने अधिकारीहरू बताउँछन् ।
अधिवक्ता एवम् उपभोक्ता अधिकारकर्मी वसन्त गौतम पनि नेपालमा अहिलेसम्म निर्माणका बेला हुने लापरबाहीका कारण निम्तने दुर्घटनाको क्षतिपूर्ति र उत्तरदायित्वका सम्बन्धमा कानुनको अभाव रहेको बताउँछन् । स्पष्ट कानुन नहुँदा ठेकेदार कम्पनीहरू लापरबाह बन्ने जोखिम रहेको देखिन्छ ।
यद्यपि सम्झौताका बेलामा यस्तो दुर्घटनाको जिम्मेवार पक्षधर ठेकेदार पक्ष नै हुने उल्लेख गरिने प्रचलनले केही हदसम्म निर्माण पक्षलाई जिम्मेवार बनाउने गौतमको भनाइ छ । निर्माणसम्बन्धी कानुनको निर्माण गर्न लागिएको विषयमा केही वर्षअघि चर्चा भए पनि अहिले यो विषयमा नीति निर्माण तहमा चर्चा नै हुन छोडेको छ ।
प्रतिक्रिया दिनुहोस्