मंसिर ९ गतेदेखि खजुरा गाउँपालिकालाई लक्षित गरी ८ स्थानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । जसमा १ हजार ३ सय १३ जनाले सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज, खजुरा गाउँपालिका स्वास्थ्य शाखा र रुइत फाउन्डेसन काठमाडौँको संयुक्त सहकार्यमा भएको शिविरमा मोतिया बिन्दुको अप्रेसन गर्नुपर्ने बिरामी २ सय ६८ फेला परेका हुन् ।
खगेन्द्र दाहाल । खजुरा (बाँके) ।
बाँके खजुरा गाउँपालिका–३ धवलागिरिका ७६ वर्षीय बिर्जुर तामाङले दुवै आँखा राम्रोसँग देख्न छाडेको १३ वर्ष भयो । खानलाउन नै मुस्किल हुने उनको घरमा आँखाको उपचार गर्न पैसा कहिल्यै जुटेन । तामाङको दुवै आँखामा मोतिया बिन्दु भएको छ । उनले देख्ने भनेको हल्का मधुरो मात्र हो ।
खजुरा–५ उढरापुर निवासी जन्नतुनले पनि आँखा देख्न नसक्ने भएको ५ वर्ष बढी भयो । उनलाई आफ्नो आँखाले देख्न छाडेपछि घरको सानोतिनो काम गर्न पनि कठिन बनिरहेको छ ।
केही समयअघि उनले आँखा जाँच गराए पनि मोतिया बिन्दुको अप्रेसन गराउने पैसा नजुट्दा यसै बस्न परेको गुनासो जन्नतुनले सुनाइन् । खजुरा–४ ई गाउँ बस्ने ५९ वर्षीय सन्तकला सुनारको समस्या पनि विर्जुर, जन्नतुनभन्दा कमको छैन ।
सन्तकलाको पनि आँखामा मोतिया बिन्दु भएको छ । सुनारले आफ्नो एक आँखा अघिल्लो वर्ष नै नेपालगन्जको एक अस्पतालमा अप्रेसन गर्दा १० हजार रुपैयाँभन्दा बढी खर्च भयो । अर्को आँखा खोल्नका लागि अप्रेसन गर्ने उनीसँग पैसा छैन ।
‘घरमा वर्षदिन खान पनि नपुग्ने अवस्थामा कसरी आँखाको उपचार गरौँ !’ उनी गुनासो गर्छिन् । बाँकेको खजुरामा उनीहरूजस्तै सयौँको सङ्ख्यामा रहेका मोतिया बिन्दुका बिरामी छन् । जो आफैँ पैसा खर्च गरेर उपचार गर्न नसक्ने अवस्थाका छन् ।
मंसिर ९ गतेदेखि खजुरा गाउँपालिकालाई लक्षित गरी ८ स्थानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । जसमा १ हजार ३ सय १३ जनाले सेवा लिएका छन् ।
नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज, खजुरा गाउँपालिका स्वास्थ्य शाखा र रुइत फाउन्डेसन काठमाडौँको संयुक्त सहकार्यमा भएको शिविरमा मोतिया बिन्दुको अप्रेसन गर्नुपर्ने बिरामी २ सय ६८ फेला परेका छन् ।
सामान्य बिरामीहरूलाई शिविरमै औषधि उपचार प्रदान गरिए पनि अप्रेसन गर्नुपर्नेहरूका लागि भने नेपालगन्ज फुल्टेक्रास्थित फत्तेवाल आँखा अस्पतालमा रिफर गरिएको छ ।
रिफर गरिएका २ सय ६८ बिरामीलाई निःशुल्क अप्रेसन गर्ने कार्य पनि सुरु भइसकेको अस्पतालले जनाएको छ । खजुराको वडा नम्बर १ र २ मा रहेको राधापुर र सीतापुर स्वास्थ्य चौकीमा पहिलो दिन शिविर सञ्चालन गरिएको थियो ।
जसमा ३ सय ५१ जना बिरामीको परिक्षण गरिएकोमा ७३ जना मोतिया बिन्दुका बिरामी फेला परेको फत्तेवाल आँखा अस्पतालका नेत्र अधिकृत छन्दुलाल थारूले जानकारी दिए । १० गते सोमबार वडा नम्बर ३ र ४ मा रहेको आधारभूत स्वास्थ्य चौकी ई गाउँ र प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा सञ्चालित शिविरबाट ३ सय १५ जनाले सेवा लिए ।
शिविरबाट ५० जनाको मोतिया बिन्दुको पहिचान भयो । अन्यको भने सामान्य उपचार गरिएको अस्पतालका नेत्र अधिकृत उमेर सादिकले जानकारी दिए । ११ गते मंगलबार वडा नम्बर ५ र ६ मा रहेको उढरापुर र गिजरा स्वास्थ्य चौकीमा गरिएको शिविरमा २ सय ७६ जना बिरामीले ओपीडी सेवा लिएका थिए ।
जसमध्ये ५३ जनालाई फेत्तेवाल आँखा अस्पतालमा मोतिया बिन्दुको अप्रेसनका लागि रिफर गरिएको नेत्र अधिकृत सादिकले जानकारी गराए । १२ गते बुधबार अन्तिम दिन वडा नम्बर ७ अनि ८ मा रहेको सोनपुर र रनियापुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएकोमा ३ सय ७१ जनाले ओपीडी सेवा लिए ।
सोनपुर र रनियापुरमा मात्रै मोतिया बिन्दुका ९२ जना बिरामी अप्रेसन गर्नुपर्ने अवस्थाका फेला परेको नेत्र अधिकृत सादिकले जनाए । आर्थिक अवस्था नाजुक भएकै कारण आफ्नो आँखाको मोतिया बिन्दुको उपचार गराउन नसकेकाहरू शिविरमार्फत निःशुल्क अप्रेसन हुन थालेपछि हर्षित छन् । नेत्र अधिकृत उमेर सादिक, नेत्र अधिकृत थारूसँगै नेत्र सहायक सुनयना थारू, नेत्र सहायक पूजा महतोलगायत प्रशिक्षार्थीहरू शिविरमा खटिएका थिए ।
सम्पन्न आँखा शिविरको डाटा हेर्ने हो भने खजुरामा मोतिया बिन्दुका बिरामीको सङ्ख्या अधिक हुँदै गएको अनुमान गरिएको छ । आँखाको उचित हेरचाह नगर्दा रोगले छिटो आक्रमण गर्ने र आँखाको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक देखिएको शिविरमा खटिएका नेत्र अधिकृत सादिकले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्