तराईंमा कोदो खेतीको सफल परीक्षण



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको गाभर उपत्यकामा रहेको एक होमस्टे सञ्चालक रेश्मी जैसीले अघिल्लो वर्ष डेढ क्विन्टल कोदो किनेर पाहुनाहरूलाई विभिन्न परिकार खुवाएकी थिइन् । यसवर्ष उनको आफ्नै बारीमा लहलह कोदो फलेको छ । ‘हामी हुम्लाकै भएपनि तराईंमा कोदो फल्ला भन्ने सोचेका थिएनौँ । तर, अहिले कोदो फलेपछि अब आफै रोपेर उत्पादन गर्नुपर्छ भन्ने लागेको छ,’ मगलबार कोदो स्याहार्दै गरेकी रेश्मीले भनिन् ।

रेश्मीको बारीमा फलेको कोदो परीक्षणका लागि रोपिएको थियो । कृषि अनुसन्धान परिषद् मातहतको राष्ट्रिय जिन बैंक र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सामुदायिक जिन बैंक गाभरसँगको सहकार्यमा गरेको कादो खेतीको परीक्षण सफल भएको छ ।

करिब दुई कठ्ठा क्षेत्रफल जमिनमा नौ जातका कोदोहरू रोपिएकोमा अधिकांश जातका कोदोको सन्तोषजनक फल लागेको पाइएको छ । परीक्षणले देखाएको प्रारम्भिक नतिजाले तराईमा पनि सुक्खा जमिन तथा अन्य बाली उब्जनी कम हुने जमिनमा कोदो खेतीको सम्भावनालाई उजागर गरेको राष्ट्रिय जिन बैंकमा कार्यरत बाली प्रजनन अधिकृत डा. मुकुन्द भट्टराईले बताएका छन् ।

तराईमा कोदो खेती छिटफुटरूपमा हुँदै आए पनि कुन जातको कोदोको उत्पादन राम्रो हुन्छ र सम्भावना कस्तो छ भन्नेबारेमा अहिलेसम्म नेपालमा आधिकारिक परीक्षण नभएको डा. भट्टराईले बताए । नार्कले पहिलोपटक तराईमा कोदो खेतीको सम्भावना परीक्षण गर्नुका साथै तराईका लागि उपयुक्त जातहरू सिफारिस गर्न उक्त परीक्षण खेती गरिएको भट्टराईले जानकारी दिए । अब परीक्षणको अन्तिम नतिजामा तराईमा उपयुक्त कोदोका जातहरू पनि सिफारिस गरिने उनको भनाइ छ । तराईमा पनि कोदो खेतीको प्रवद्र्धन गर्न सकिएमा यसले किसानको आयआर्जनका साथै जैविक विविधतामा पनि सघाउ पु¥याउने उनले बताए ।

परीक्षणका लागि नौ जातका कोदोको रोपिएकोमा पाँच वटा जिन बैंकले तराईका विभिन्न ठाउँमा उत्पादन हुँदै आएकामध्ये राम्रो जातहरू, दुईवटा स्थानीय किसानबाट लिइएका र दुईवटा नार्कले विकास गरेका जातहरू रहेका थिए । तीमध्ये केही जातबाहेक अधिकांश जातको कोदोको उत्पादन राम्रो देखिएको मंगलबार स्थलगत परीक्षणका क्रममा भेटिएका डा. भट्टराईले बताए ।

सामुदायिक जिन बैंकका संयोजक पुरमल बस्नेतले पछिल्लो समय आफूहरूले विभिन्न रैथाने जातका किट र वनस्पतिको संरक्षणका लागि काम गरिरहेकोमा नार्कबाट कोदो खेतीको परीक्षणका लागि पनि सहकार्य गरिएको बताए । उनले स्थानीय किसानहरूले सुरुमा कोदो खेती हुने कुरा नपत्याएको अहिले सफल परीक्षण भएपछि आफूहरूलाई उत्साहित बनाएको बताए । अब बाँकेका सुक्खा र सिँचाइ कम हुने जमिनमा कोदो खेतीको सम्भावना उजागर भएकोमा खुसी लागेको बताए ।

नेपालमा पहाडे बाली अनुसन्धान कार्यक्रम दोलखाले पहाडी क्षेत्रमा कोदोको जात सिफारिस गरे पनि तराईका लागि भने सिरफारिस नगरिएको डा. भट्टराईले जानकारी दिए । जिन बैंकले यसवर्ष पहाडी क्षेत्रका लागि मकवानपुरमा र तराईं क्षेत्रका लागि गाभरमा कोदो खेती परीक्षणको काम गरिएको उनको भनाइ छ ।

बढ्दै छ कोदोको माग

बाली प्रजनन अधिकृत डा. मुकुन्द भट्टराईका अनुसार कुनै बेला हेयको दृष्टिले हेरिँदा खेती हुन कम हुँदै गएको कोदोको माग पछिल्लो समय बढिरहेको छ । पछिल्लो समय कोदोको स्वास्थ्यका लागि फाइदा र विभिन्न व्यावसायिक परिकारहरूमा प्रयोग हुने क्रम बढेपछि कोदोको माग बढेको उनले बताए । तर, कोदोको उत्पादन भने घटिरहेको उनको भनाइ छ । नेपालले गत आर्थिक वर्ष २०८०–८१ मा ७५ करोड ४१ लाख ९५ हजार रूपैयाँबराबरको १ करोड ५२ लाख ९२ हजार ८ सय २० किलो कोदो आयात गरेको थियो ।

कोदोलाई पछिल्लो समय श्रीअन्नको रूपमा लिन थालिएको डा. भट्टराईले बताए । कोदोको प्रयोगले मुटुरोग लाग्न नदिने, बालबालिकाको हाड र दाँतको विकासमा सघाउने, नराम्रो कोलेस्ट्रोल घटाउने, शरीरको विषाक्तता बाहिर निकाल्ने, पाचनतन्त्रलाई तन्दुरुस्त राख्ने, रगतको कमी हुन नदिन गुण रहेका विभिन्न अध्ययनहरूले देखाएका छन् ।

यसैगरी कब्जियत हुन नदिने, स्तन क्यान्सर हुनबाट जोगाउने, रक्तचाप घटाउने, मिर्गौला र कलेजोको रोग लाग्न नदिने गुण रहेको छ । कोदोले रोग प्रतिरोधी क्षमता बढाउने, पित्तथैलीमा पत्थरी हुन नदिने, छाला चम्किलो बनाउने, आमाको दूध बढाउने र बालबालिकालाई कुपोषण हुनबाट जोगाउन भूमिका खेल्न सक्ने गुण रहेको पाइन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर १२ गते बुधबार