कोहलपुर ।
आफ्ना प्रवचनहरूमार्फत सनातन धर्म, संस्कृति र परम्पराको प्रचारप्रसार गर्दै आएका डा. चिन्तामणिनाथ योगीले युवाहरूलाई आफ्नो भाषा, संस्कृति र परम्परा नबिर्सन आग्रह गरेका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले शनिबार आयोजना गरेको पुरस्कार वितरण तथा विशेष प्रवचन कार्यक्रममा बोल्दै डा. योगीले सनातन धर्म, संस्कृति र परम्परा समृद्ध भएकाले यसको अध्ययन, अनुसन्धान र अनुशरण गर्न आग्रह गरे ।
अबको पुस्ताले अनिवार्य संस्कृत भाषाको अध्ययन गर्नुपर्ने उनले बताए । ‘अहिलेका युवाहरूलाई म भन्न चाहन्छु, अंग्रेजी पनि पढ्नुस्, तर अंग्रेज नबन्नुस्,’ उनले भने, ‘संस्कृत पढ्नुुस्, संस्कारी बन्नुस् ।’ संस्कृत समृद्ध भाषा भएकाले संस्कृत पढेको व्यक्ति कहीँ पनि कमजोर बन्नु नपर्ने उनको भनाइ थियो ।
संस्कृत भाषाको अध्ययन बिना नासाका बैज्ञानिकहरूको अनुसन्धान पनि सफल नहुने दाबी गर्दै डा. योगीले पूर्वीय ग्रन्थहरुमा अथाह ज्ञान रहेकाले संस्कृतको अध्ययनबिना त्यो ज्ञान आर्जन गर्न सम्भव नभएको जिकिर गरे । उनले विश्वबन्धुत्व, बसुधैव कुटुम्बकम्, माता–पिताको सम्मान गर्न जान्नुपर्ने भन्दै आत्मविश्वास र आत्मज्ञानले मान्छे साँच्चैको मान्छे बन्ने बताए । प्रवचनका क्रममा उनले युवाहरूतर्फ लक्षित गर्दै उनीहरूलाई कर्मशील बन्न आग्रह गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव सनत रेग्मीले बद्रीविक्रम थापाको निडर प्रशासनिक व्यक्तित्व र मानवीय भावना अनुकरणीय रहेको बताए । उनले त्यस्ता व्यक्तिका नाममा स्थापित पुरस्कार ग्रहण गर्न पाउनु गर्वको विषय भएको बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्राडा कृष्णप्रसाद घिमिरेले कोहलपुर र नेपालगन्ज क्षेत्र साहित्यका लागि उर्वर भूमि बनिरहेको धारणा राखे । उनले आफूलाई यहाँका साहित्यिक गतिविधिले आकर्षित गरिरहेको बताए ।
कार्यक्रममा कुनै बेला बाँकेमा बडाहाकिम भएर बसेका बद्रीविक्रम थापाको स्मृतिमा स्थापित कर्मयोगी बद्रीविक्रम थापा पूर्णिमा वाङ्मय पुरस्कार र कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार वितरण गरिएको थियोे ।
लोकगायिका रोल्पाकी पवित्रा घर्तीलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार र गजलकार सुर्खेतका ऋषिराज शर्मा सुदामालाई कर्मयोगी बदीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो । बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा स्थापित पुरस्कार वितरण समारोहमा बद्रीविक्रम थापाका सुपुत्र किरण थापाले बुबा बद्रीविक्रम थापाका विचार र स्मृतिलाई ताजा राख्न बुबा प्रशासक भएर बसेका स्थानहरूमा गुठीका नाममा पुरस्कार प्रदान गर्ने कामको सुरुवात गरिएको बताए ।
कार्यक्रममा भेरी साहित्य समाजका पूर्वअध्यक्ष तथा प्राज्ञ हरिप्रसाद तिमिल्सिना, लेखक नरेन्द्रजंग पिटर, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पूर्णिमाका सल्लाहकार प्रदीप भट्टराई, कोहलपुर वाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए । बद्रीविक्रम थापाको योगदानको चर्चा गरेका थिए । प्रतिष्ठानका सचिव केशव निमेशले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष पुष्करनाथ रिजालले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्