पवन शर्मा । जाजरकोट ।
जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला स्थापना भएको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थान विभाग र जाजरकोट खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आर्थिक सहयोगमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
डब्लुएचओको प्राविधिक सहयोगमा सञ्चालन गरिएको प्रयोगशाला विभिन्न १२ वटा प्यारामिटरमा पानीको गुणस्तर जाँच गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष किरणकुमार भण्डारीले जानकारी दिए । जाजरकोटमा स्थापना गरिएको प्रयोगशाला कर्णाली प्रदेशकै दोस्रो हो ।
यसअघि यस्तो प्रयोगशाला सुर्खेतमा मात्रै रहेको थियो । उक्त प्रयोगशालामा डिस्टिल वाटरसमेत उत्पादन गरिने अध्यक्ष भण्डारीको भनाइ छ ।
प्रयोगशालाको उद्घाटन गर्दै भेरी नगरपालिकाका प्रमुख चन्दप्रकाश घर्तीले खानेपानीको जाँचले उपभोक्ताको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए ।
दूषित खानेपानीका कारण विभिन्न रोग लाग्ने र त्यसले नागरिकको स्वास्थ्य सँगै आर्थिक क्षेत्रमा समेत क्षति गर्ने भन्दै प्रमुख घर्तीले प्रयोगशाला स्थापनापछि खानेपानीमा शुद्धता ल्याई स्वस्थ जीवन जिउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रयोगशालामा आफ्ना उपभोक्तालाई निःशुल्क खानेपानीको गुणस्तर जाँच गरिनेछ भने अन्य उपभोक्तालाई शुल्क लिएर परिक्षण गरिने उपभोक्ता समितिका अध्यक्ष भण्डारीले बताए । प्रयोगशालाबाट जाजरकोटसहित अन्य छिमेकी जिल्लाका नागरिकले समेत सेवा प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्