चाडबाडलक्षित सुरक्षा योजना : तीन प्रदेशमा २३ हजार प्रहरी परिचालित



पश्चिम नेपालका तीन प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सुरक्षा चुनौतीका विषयहरू पहिल्याएर चाडबाडमा तिनको जोखिमलाई ध्यानमा राखेर सुरक्षा योजना बनाइएको छ । चाडपर्वमा हुनसक्ने चोरीदेखि धार्मिक तथा साम्प्रदायिक मनमुटावका जोखिमलाई पनि प्रहरीले सुरक्षा चुनौतीको रूपमा हेरेको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

चाडबाडलाई लक्षित गर्दै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २२ हजार ९ सय ९५ जना प्रहरी परिचालन भएका छन् । प्रदेश प्रहरी कार्यालयहरूका अनुसार दसैँ, तिहार र छठलगायत बहुसङ्ख्यक नेपालीले मनाउने चाडबाडहरूको समय सुरु भएसँगै चाडपर्वलक्षित सुरक्षा योजना लागू गरिएको हो ।

लुम्बिनी प्रदेशमा ७ हजार ६ सय ४४ जना, कर्णालीमा ४ हजार ३ सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा ११ हजार प्रहरी परिचालन भएका छन् । सुरक्षाकर्मीहरूलाई कमान्ड फोर्स, रिजर्भ, स्ट्राइकिङ, सादा पोसाक, पहाडमा पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोबाइल गस्ती, पिकेट, नागरिक सहायता कक्षलगायतका काममा खटाइने प्रहरीको भनाइ छ ।

यसैगरी सीमा नाका निगरानी, यातायात सुरक्षा, नागरिकको जीउधनको सुरक्षा, नागरिक सहायता कक्ष, राजमार्गमा गस्ती, बजार अनुगमनलगायतका काममा प्रहरीहरू खटिने योजना बनाइएको छ ।

पश्चिम नेपालका तीन वटा प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको सुरक्षा चु्नौतीका विषयहरू पहिल्याएर चाडबाडमा तिनको जोखिमलाई पनि ध्यानमा राखेर योजना बनाइएको छ । चाडपर्वमा हुनसक्ने चोरीदेखि धार्मिक तथा साम्प्रदायिक मनमुटावका जोखिमलाई पनि प्रहरीले सुरक्षा चुनौतीको रूपमा हेरेको छ ।

लुम्बिनीमा ड्रोनबाट समेत निगरानी गरिने

लुम्बिनी प्रदेशको चाडबाडलक्षित सुरक्षा योजनामा कुकुरको मद्दतले निगरानी गर्नुका साथै ड्रोनको माध्यमबाट पनि निगरानी गरिने उल्लेख छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले सीमा नाका तथा संवेदनशिल स्थानमा कुकुरको मद्दतले जाँचपड्ताल गरिनुका साथै सहरी क्षेत्रमा ड्रोनको सहयोगले निगरानी गरिने जानकारी दिए ।

लुम्बिनी प्रदेशको सुरक्षा योजनामा सवारी साधन तोडफोड र आगजनी हुनसक्ने, मादक पदार्थको सेवन र झैझगडा, हातहतियारको प्रयोग, लुटपाट र धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्नसक्ने चुनौतीलाई आँकलन गरिएको छ ।

यी चुनौतीहरूलाई ध्यानमा राखेर धार्मिक र साम्प्रदायिक दंगा हुन नदिने, मोबाइल गस्तीले वस्तुस्थिति अवलोकन गरिरहने, आवश्यकताअनुसार सादा पोसाक तथा युनिफर्ममा प्रहरीहरू खटाउने तथा सीमावर्ती जिल्लाहरूमा कुुकुरको मद्दतबाट निगरानी गर्ने र ड्रोनको समेत प्रयोग गरिने योजनमा उल्लेख छ । यसैगरी ट्राफिक नियम पालना नगर्नेलाई कारबाही गर्ने पनि रणनीति प्रहरीले तय गरेको छ ।

लुम्बिनी प्रदेश प्रमुख डिआइजी कडायत प्रदेश प्रहरीले ‘सुरक्षित गाउँसहर प्रदेश प्रहरीको सहर’, ‘सुरक्षित सडक अनुशासित सडक प्रयोगकर्ता’ जस्ता नाममा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । ती कार्यक्रमको मर्मलाई चाडबाडमा पनि निरन्तरता दिइएको उनको भनाइ छ । हरेक जिल्लामा २० देखि ४० जना प्रहरीलाई आवश्यक परेको बखतका लागि तयार अवस्थामा राखिएको, पर्यटकीय स्थल र राजमार्ग तथा आर्थिक कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राखिएको उनले बताए ।

चाडबाडमा मेला पर्वहरू हुने र ती पर्वमा मादक पदार्थ सेवन गरी झैझगडा हुने, जुवातास खेल्ने, लुटपाट तथा डकैती हुनेजस्ता चुनौतीको आँकलन गरेर प्रहरी तयार अवस्थामा रहेको उनले जानकारी दिए । यसैगरी आर्थिक अपराध, कालोबजारीलाई नियन्त्रण गर्ने, यात्रालाई सहज र मर्यादित बनाउन हेल्प डेस्कहरू सञ्चालन भइरहेको उनले बताए । तराईमा हुने दुर्गा पूजाका अवसरमा उच्छृङ्खल व्यक्तिहरूले धार्मिक साम्प्रदायिक विवाद निम्त्याउन सक्ने कुरालाई पनि ध्यान दिइएको उनको भनाइ छ ।

भारतबाट रोजगारी गरी फर्केकाहरू सीमामा भारतीय भूमिका ठगिने र लुटिने समस्या आउन नदिन भारततर्फको प्रहरी र प्रशासनसँग समन्वय गरिएको उनको भनाइ छ । यसका साथै हेल्प डेस्क, माइकिङमार्फत पनि सचेत गराइने उनले बताए ।

कर्णालीमा मेला र यात्रा सुरक्षा चुनौती

कर्णाली प्रदेश यातायातका दृष्टिकोणले दुर्गम छ । बाटो तथा सडकहरू जोखिमपूर्ण छन् । त्यसैमाथि वर्षातका कारण बाटोहरू बिग्रिएको अवस्था छ । यसै अवस्थालाई ध्यानमा राखेर कर्णाली प्रदेश प्रहरी कार्यालयले यात्रु सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार यात्रामा कुनै पनि किसिमको असहजता आउन नदिन, सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाउनेलाई कारबाही गर्न प्रहरी परिचालन हुनेछन् ।

यसैगरी कर्णालीको अर्काे चुनौती चाडपर्वका अवसरमा लाग्ने मेला पर्वहरू पनि हुन् । विभिन्न स्थानमा लाग्ने मेलामा मादक पदार्थको सेवन गरी झैझगडा हुनसक्ने, हातहतियारको प्रयोग भई आपराधिक गतिविधि पनि हुन सक्ने चुनौती प्रहरीले आँकलन गरेको छ ।

यसैगरी, गुन्डागर्दी, जुवातास, हिमाली क्षेत्रका सीमा नाकाहरूबाट अवैध वस्तुहरू ओसारपसार र तस्करी हुनसक्ने पनि जोखिम रहेको डीएसपी डाँगीले जानकारी दिए । यसका साथै महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सहायता चाहिन सक्ने र विपत्को जोखिमलाई पनि प्रहरीले रणनीतिमा समेटेको उनले बताए ।

त्यसका लागि ट्राफिकसहितको संयुक्त जाँच, मोटरसाइकल गस्ती, मोबाइल गस्ती, दुत प्रतिकार्य टोली, पैदल गस्ती, पिकेट, स्ट्राइकिङ, नियमित, विशेष र आकस्मिक चेकजाँच गरिने योजनामा समेटिएको छ ।

यसैगरी महत्वपूर्ण तथा आर्थिक कारोबार हुने प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थल, यात्रु सहायता कक्षलगायतका स्थानमा पनि पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

सुदूरपश्चिममा थप चार हजार प्रहरी खटिँदै

सुदूरपश्चिम प्रदेशमा चाडपर्वकै लागि थप चार हजार प्रहरी खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीका अनुसार प्रदेशमा ७ हजार प्रहरी नियमित फिल्डमा रहेकोमा चाडपर्वकै लागि ४ हजार थप गरेर ११ हजार प्रहरी खटाइएको उनले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा १ सय ८ वटा यात्रु सहायता कक्ष पनि स्थापना गरिएका छन् । सुदूरपश्चिम प्रदेशमा भारतबाट आउने नागरिकहरूलाई नाकामा ठगिन जोगाउनेदेखि मेलापर्वमा झैझगडा हुनसक्ने सुरक्षा चुनौतीको रूपमा रहेको उनले बताए ।

उनका अनुसार भारतसँगका सीमा नाकाबाट यतिबेला मानिसहरूको आवतजावत बाक्लो रहेकाले उनीहरूलाई ठगिन र समस्यामा पर्नबाट जोगाउन प्रहरीहरूलाई खटाइएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा विभिन्न स्थानमा मेला पर्वहरूको आयोजना हुने गरेकोमा त्यस्ता मेला पर्वमा मापसे सेवन गरी झैझगडा हुने तथा अवाञ्छित गतिविधि ह्ुनसक्ने जोखिम पनि आँकलन गरिएको डीआईजी केसीले बताए ।

यसैगरी, लागूऔषधको ओसारपसार र बेचबिखन, तस्करी, कालोबजारी जस्ता अपराध नियन्त्रणमा पनि प्रहरी खटाइएको उनको भनाइ छ । यसभन्दा अघिका घटनाहरू विश्लेषण गरेर सुरक्षा व्यवस्थालाई त्यही अनुसार व्यवस्थापन गरिएको छ ।

प्रहरी जनशक्तिलाई कमान्ड फोर्स, रिजर्भ, स्ट्राइकिङ, पैदल गस्ती, साइकल गस्ती, नागरिक सहायता कक्ष, राजमार्ग गस्ती, चेकपोस्ट, बजार अनुगमनलगायतका काममा खटाइने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज १९ गते शनिबार